युक्रेन युद्ध: आर्थिक प्रतिबन्धको चर्को आलोचना गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के भने

पुटिन

तस्बिर स्रोत, Reuters

युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले "बहुलट्ठी र विवेकहीन" को सङ्ज्ञा दिएका छन्।

सेन्ट पिटर्सबर्गमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले पश्चिमा देशको कदमको चर्को आलोचना गरे।

"रुसविरुद्धको आर्थिक अभियान सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन," उनले भने। बरु प्रतिबन्ध लगाउने देशकै लागि त्यस्तो निर्णय "अधिक हानिकारक" भएको दाबी उनले गरे।

पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्र सुरक्षित राख्ने प्रयासबीच सन्तुलन कायम गर्न खोजिरहेका छन्।

तर सेन्ट पिटर्सबर्ग इन्टरन्याश्नल इकोनमिक फोरमको वार्षिक कार्यक्रममा बोल्दै राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण ईयूले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गरे।

पुटिनले ईयूका २७ सदस्य राष्ट्रमा महँगी बढ्दै गएको र युरोपमा मानिसहरूको वास्तविक चासोलाई पन्छाइएको बताए। तर उनले त्यसबारे थप व्याख्या गरेनन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कुनै देशलाई तह लगाउन प्रतिबन्धहरू कति प्रभावकारी

रुसमा कस्तो सङ्कट

यद्यपि पुटिन निकटस्थ अधिकारीहरूले भने पश्चिमा राष्ट्रहरूले लगाएको प्रतिबन्धका कारण रुसी अर्थतन्त्रमाथि गम्भीर क्षति परिरहेको बताएका छन्।

त्यहाँको केन्द्रीय ब्याङ्कका गभर्नर एल्भिरा नाबिउलिनाले बिहीवार अन्तर्राष्ट्रिय प्रतिक्रियाका कारण "रुसको १५ प्रतिशत कुल गार्हस्थ्य उत्पादन" प्रभावित भएको बताएकी थिइन्।

तत्काल सुधार हुने सम्भावनाबारे उनी उदास देखिन्थिन्। "यो सबैलाई स्पष्ट छ कि अवस्था पहिले जस्तो हुनेछैन," उनले सेन्ट पिटर्सबर्गको सम्मेलनमा भनिन्।

"बाह्य अवस्था लामो समयदेखि फेरिएको छ," उनले भनिन्।

धुँवा

तस्बिर स्रोत, Reuters

शुक्रवार देशको सबैभन्दा ठूलो ऋणदाता स्बरब्याङ्कका प्रमुखले रुसको अर्थतन्त्र सन् २०२१ को स्तरमा फर्किन एक दशकभन्दा बढी लाग्न सक्ने चेतावनी दिए।

तर आशावादी भाकामा बोल्दै पुटिनले रुसका प्रमुख व्यवसायीहरूलाई आफ्नो काम जारी राख्न आग्रह गरे।

यद्यपि आफ्नो व्यापार देशबाहिर सञ्चालन गर्न केन्द्रित व्यवसायीहरूको सङ्ख्या बढ्दो रहेको विवरण सार्वजनिक भएको छ।

"यहीँ लगानी गर्नुहोस्। तपाईँलाई आफ्नै घरमा बढी सुरक्षा हुन्छ। जसले सुन्न चाहेनन्, उनीहरूले विदेशमा लाखौँ रकम गुमाएका छन्," पुटिनले भने।

रुस र युक्रेनबीच युद्ध हुँदा विश्वमा खाद्यान्न सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, रुस र युक्रेनबीच युद्ध हुँदा विश्वमा खाद्यान्न सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ

खाद्य सङ्कटबारे के भने

उनन्सत्तरी वर्षीय पुटिनले युक्रेनविरुद्ध जारी युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको सम्भावनाबारे पनि बोले।

उनले रुस अन्न र मलको निर्यातमा उल्लेखनीय वृद्धि गर्न सक्षम रहेको दाबी गरे। उनका अनुसार खाद्यान्न निर्यात मात्रै करिब ५ करोड टन पुग्न सक्नेछ।

रुससँगै युक्रेन पनि विश्वको सबैभन्दा धेरै अन्न उत्पादन गर्ने देश हो।

तर ब्ल्याक सीस्थित बन्दरगाहरूमा जारी नाकाबन्दीका कारण युक्रेनले अन्य देशमा आपूर्ति गर्न सकेको छैन।

शुक्रवार युक्रेनको पूर्वी सहर सेभेरोडोनेट्स्क भीषण लडाइँ जारी रह्यो।

सेभेरोडोनेट्स्क र निकटवर्ती लिसिचान्स्क नियन्त्रण गर्ने रुसी सेनाको प्रमुख लक्ष्य बनेको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसमा लामो समय शासन गर्न लागेका भ्लादिमिर पुटिन को हुन्?