युक्रेन युद्ध: दक्षिणी क्षेत्र रुसी सेनाबाट मुक्त गर्न '१० लाख सैनिक जुटाउने' युक्रेनको योजना

तस्बिर स्रोत, PA Media
युक्रेनले देशको दक्षिणी भेगलाई रुसी कब्जाबाट मुक्त गर्न नेटोले दिने हतियार बोक्ने "१० लाख सैनिक भएको फौज" निर्माण गर्ने योजना बनाएको युक्रेनी रक्षामन्त्रीले बताएका छन्।
ओलेक्सी रेज्निकोभले ब्ल्याक सी तट वरपरका क्षेत्रहरू फिर्ता लिनु देशको अर्थतन्त्रको लागि महत्त्वपूर्ण भएको बताएका छन्।
यद्यपि बीबीसीका किएभ संवाददाता जो इन्वुडले उक्त टिप्पणीलाई ठोस योजनाभन्दा पनि युक्रेनीहरूलाई रुसविरुद्ध एकताबद्ध हुन उत्प्रेरित गर्ने उक्तिका रूपमा अर्थ्याएका छन्।
पूर्वी डोन्बास क्षेत्रको भूभाग नियन्त्रणमा लिन रुस सफल भइरहेको बेला युक्रेनी रक्षामन्त्रीको यस्तो भनाइ आएको हो।
आइतवार राति चासिभ यारस्थित एउटा आवासीय क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।
डोनेट्स्क क्षेत्रको क्रामाटोर्स्क सहरनजिकै रहेको उक्त स्थानमा केही मानिस भग्नावशेषमुनि पुरिएको आशङ्कामा खोज तथा उद्धार कार्य गरिएको थियो।
द टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा रेज्निकोभले युक्रेनलाई सोभियतकालीन हतियारबाट स्तरोन्नत गरी नेटोको मापदण्डयुक्त वायुरक्षा प्रणाली र गोलीगट्ठा उपलब्ध गराउन "महत्त्वपूर्ण" भूमिका खेलेको भन्दै यूकेको प्रशंसा गरे।
उनले अस्त्र ढुवानीलाई तीव्रता दिनुपर्ने बताए।

तस्बिर स्रोत, Reuters
"हाम्रा सैनिकहरूको जीवन बचाउन हामीलाई धेरै [हतियार] चाँडोभन्दा चाँडो आवश्यक छ। प्रत्येक दिन हामी हाउट्सर [लामो दूरीमा प्रहार गर्ने एक किसिमको तोप] को बाटो हेर्छौँ, हामी १०० सैनिक गुमाउन सक्छौँ।"
"हामीसँग सशस्त्र फौजहरूमा झन्डै सात लाख जना छन्। अनि राष्ट्रिय गार्ड, प्रहरी, सीमा सुरक्षा बललाई जोड्ने यो भने हाम्रो सैन्यबलमा झन्डै १० लाख जना हुन्छन्।"
यद्यपि रोयल यूनाइटेड सर्भिस इन्स्टिट्यूटका वरिष्ठ अनुसन्धान फेलो डा. ज्याक वाट्लिङले उक्त तथ्याङ्कबारे प्रश्न गरेका छन्।
उनले भने, "यो १० लाख सैनिक भएको प्रत्याक्रमण गर्ने सैन्यबल हैन।"
"सामान्यतया सैन्य अभियान सुरु गर्दा अर्को पक्षलाई आश्चर्यचकित पार्ने योजना हुन्छ। त्यसैले यसरी घोषणा गर्नु आंशिक रूपमा रुसी पक्षलाई खतराबाट जोगिन थप संसाधन जम्मा पार्न बाध्य पार्नु हो।"
पूर्वी सहर खार्किभका आवासीय क्षेत्रमा रुसी आक्रमणमा परेर तीन जनाको ज्यान गएको र ३१ जना घाइते भएकै समयमा यस्तो टिप्पणी आएको क्षेत्रीय गभर्नरले बताए।

रक्षा संवाददाता जोनाथन बेलको विश्लेषण
राजनीतिज्ञहरूले सैन्य अभियानहरूमा प्रत्यक्ष हस्तक्षेप गर्दा सधैँ खतरा हुन्छ।
ओलेक्सी रेज्निकोभले रुसले कब्जामा लिएको केही भूभाग पुन: फिर्ता ल्याउन आक्रामक कदम "राजनीतिक रूपमा धेरै आवश्यक" भएको बताए।
त्यो आर्थिक रूपमा पनि महत्त्वपूर्ण छ।
रुसले अहिले पूर्वतर्फ सैन्य प्रयास केन्द्रित गरेकाले दक्षिणका भागहरू फिर्ता लिने प्रयास गर्न यो उचित समय भएको हुनसक्ने युक्रेनलाई लागेको हुनसक्छ।
तर सत्य के हो भने युक्रेनको धेरै सैन्य प्रयास र स्रोत नै डोन्बासको भयङ्कर लडाइँमा खपत भइरहेको छ।
हामीले धेरै सैन्य एकाइसँग कुरा गर्दा उनीहरूले आफ्ना आधाभन्दा बढी सैनिक गुमाइसकेको र सेनामा सुदृढीकरण आवश्यक देखिएको छ।
लामो दूरीसम्म प्रहार गर्न सक्ने उन्नत प्रणालीको थप आपूर्तिले युक्रेनको आत्मविश्वास बढाएको छ। तर अझै पनि युक्रेनले त्यो पर्याप्त नभएको बताएको छ।
प्रश्न के हो भनेः पूर्वमा रुस अघि बढ्ने क्रमलाई रोक्न खोजिरहेको युक्रेन के साँच्चै दक्षिणमा ठूलो आक्रमण गर्न तयार छ?
पश्चिमी राजनीतिज्ञहरूले पहिले नै वरिष्ठ युक्रेनी राजनीतिज्ञ र सैन्य कमान्डरहरूलाई अहिले ठूलो प्रत्याआक्रमण सुरु गर्ने समय होइन भनेर स्पष्ट गरिसकेको जानकारी मैले पाएको छु।
मनोबल बढाउनका लागि यो उचित हुन सक्छ तर यो सजिलैसँग रोकिन पन सक्छ।
अहिलेसम्म खार्किभ र खेअर्सन वरपर युक्रेनले गरेका प्रत्याक्रमणहरूले सीमित सफलता मात्र पाएका छन्। उनीहरूलाई आफ्नो सेना पुनर्निर्माण गर्न अझै समय आवश्यक छ।
युक्रेनमा रुसको प्रारम्भिक आक्रमणले धेरै मोर्चाहरूमा लड्नुपर्ने खतराहरूलाई उजागर गर्छ।
उसले धेरैजसो उद्देश्यहरू हासिल गर्न सकेन। उसले पूर्वमा आफ्नो शक्ति केन्द्रित गरेर केही सफलता मात्र पाएको छ।

यो पनि हेर्नुहोस्

















