युक्रेन युद्ध: जेलेन्स्की भन्छन्, 'रुससँग लड्न मासिक पाँच अर्ब डलर आवश्यक'

तस्बिर स्रोत, EPA
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का नेताहरूलाई बताएका छन्।
स्पेनमा भइरहेको उक्त सैन्य गठबन्धनको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको बताएका हुन्।
जेलेन्स्कीले भ्लादिमिर पुटिनको हमला युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिए।
उनले उक्त युद्धलाई "भविष्यको विश्व व्यवस्थाका लागि लडिएको लडाइँ" भनेका छन्।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले "पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने" घोषणा गरेका थिए।
फेरबदल
नेटो प्रमुख येन्स स्टोल्टनबर्गले शीतयुद्धको अन्त्यपछि गठबन्धनमा सबैभन्दा ठूलो फेरबदल हुने बताए।
उनले रुसी राष्ट्रपति पुटिनलाई चेतावनी दिँदै युक्रेनमा उनको आक्रमणले उनले चाहेको भन्दा विपरीत नतिजा हासिल गरेको बताए।

तस्बिर स्रोत, Reuters
उनका भनाइमा त्यो भनेको नेटोको "कम भन्दा अधिक विस्तार" हो।
यसैबीच नेटोले स्वीडेन र फिनल्यान्डलाई चाँडो प्रक्रियाद्वारा सदस्यता दिने सम्झौतासम्बन्धी विवरण प्रकाशित गरेको छ।
योसँगै ती दुई देशहरूले दशकौँदेखि अपनाउँदै आएको सैन्य तटस्थताको नीति अन्त्य भएको छ।
टर्कीले त्यागेको अडान
यद्यपि उक्त गठबन्धनको सदस्य टर्कीले उक्त योजनाको विरोध गरेको थियो।
टर्कीले आतङ्ककारी मान्दै आएका कुर्दिश कार्यकर्ताहरूलाई ती दुई देशहरूले संरक्षण दिएको आरोप लगाएको थियो।
यद्यपि टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले सुरक्षा ग्यारेन्टीको बदलामा रातारात आफ्नो अडान त्यागेका छन्।

तस्बिर स्रोत, EPA
मस्कोले नेटोको विस्तारलाई "अस्थिरता निम्त्याउने कदम" भनेको छ।
समझदारीपछि टर्कीका न्याय मन्त्रीले स्वीडेन र फिनल्यान्डमा रहेका तेत्तिस "संदिग्ध आतङ्ककारी" भनिएका व्यक्तिलाई चाँडै सुपुर्दगी गर्न आह्वान गरेका छन्।
खबरहरूमा जनाइए अनुसार त्यस्ता व्यक्तिहरूमा कुर्दिश लडाकुहरूका साथै टर्कीमा सन् २०१६ मा भएको कू प्रयासका लागि राष्ट्रपति एर्दोआनले दोषी ठहर्याएकाहरू छन्।
मङ्गलबार हस्ताक्षर गरिएको समझदारीपत्रमा फिनल्यान्ड र स्विडेनले त्यस्ता अनुरोधलाई चाँडै सम्बोधन गर्ने सहमति जनाएका छन्।









