म्यान्मारः ‘म उसको चित्कार भुल्न सक्दिनँ’– गैरसैनिकहरू विरुद्ध अत्याचार गरेको म्यान्मारका सैनिकहरूको स्वीकारोक्ति

आगो निभाउँदै
    • Author, शार्लट एटवुड, को को आङ र रेबेका हेन्सकी
    • Role, बीबीसी विश्व सेवा

बीबीसीसँगको अन्तर्वार्तामा म्यान्मारका सैनिकहरूले नागरिकको हत्या गरेको, यातना दिएको र बलात्कार गरेको स्वीकार गरेका छन्।

पहिलो पटक उनीहरूले आफूलाई त्यस्तो आदेश आएको दाबी गर्दै व्यापक रूपमा गरिएको मानव अधिकार उल्लङ्घनका घटनाहरूको विवरण दिएका छन्।

चेतावनी: यो सामग्रीमा यौन हिंसा र यातनाका विवरणहरू छन्।

"उनीहरूले मलाई निर्दोष मानिसहरूलाई लुट्न, यातना दिन र मार्न आदेश दिए।"

माउङ ओले आफूलाई सेनामा गार्डका रूपमा भर्ना गरिएको ठानेको बताए। तर उनी सन् २०२२ को मेमा एउटा गुम्बामा लुकेका नागरिकहरूको ज्यान लिने बटालियनका सदस्य थिए।

"हामीलाई सबै पुरुषहरूलाई एक ठाउँमा भेला पार्न र गोली हानेर मार्न आदेश दिइयो," उनी भन्छन्। "दुखको कुरा त हामीले वृद्ध मानिसहरू र एक महिलालाई समेत मार्नु पर्‍यो।"

छ जना सैनिक र केही पीडितहरूको बयानले सेनाको सत्तामा रहिरहने आकाङ्क्षाको दुर्लभ दृश्य देखाउँछ। यो सामग्रीमा म्यान्मारका सबै जनाको नाम परिवर्तन गरिएको छ।

ती सैनिकहरू हालै सेनाबाट भागेर म्यान्मारमा प्रजातन्त्र स्थापना गराउन सङ्घर्ष गरिरहेका समूहहरूको सञ्जाल 'पीपल्स डीफेन्स फोर्स' पीडीएफको संरक्षणमा पुगेका छन्।

गत वर्ष कू गरेर सेनाले म्यान्मारको प्रजातान्त्रिक तरिकाले निर्वाचित आङ साङ सूची नेतृत्वको सरकारबाट सत्ता खोसेको थियो।

अहिले त्यहाँको सैन्य सत्ता सशस्त्र नागरिक आन्दोलन दबाउने प्रयास गरिरहेको छ।

2px presentational grey line

गत वर्ष डिसेम्बर २० मा म्यान्मारको या मियत गाउँमा तीनवटा हेलिकप्टरले सैनिकहरू ओह्राले।

बीबीसीसँगको छुट्टाछुट्टै कुराकानीमा कम्तीमा पाँच जना मानिसले त्यहाँ के भएको थियो भनेर बताएका छन्।

उनीहरूले सैनिकहरू तीन समूहमा गाउँमा छिरेर पुरुष, महिला र बालबालिकामाथि आन्धधुन्ध गोली प्रहार गरेका बताएका छन्।

"जे देखे पनि गोली हान्ने आदेश थियो," म्यान्मारको दुर्गम जङ्गलबाट कर्पोरल आङले भने।

उनले केही व्यक्तिहरू सुरक्षित ठानेर एउटा स्थानमा लुकेको तर सैनिकहरू नजिक आएपछि उनीहरू "भाग्न सुरु गरेको र हामीले गोली हान्नु परेको" बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘बरु मलाई गोली ठोक’: प्रदर्शनकारीहरूको ज्यान जोगाउने यस्तो प्रयास

आङले आफ्नो एकाइले पाँच जनालाई मारेर गाडेको बताए।

"हामीलाई गाउँमा भएका ठूला र राम्रो घरहरू जलाउन पनि आदेश दिइएको थियो," उनले भने।

सैनिकहरू गाउँमा घुमेर "आगो लगा! आगो लगा!" भन्दै घरहरूमा आगजनी गरेका थिए।

आङले चार घरमा आगो लगाएका थिए।

बीबीसीसँग कुराकानी गरेकाहरूले सैनिकहरूले कूल ६० घरमा आगो लगाएका र गाउँ लगभग खरानी बनाएको बताएका छन्।

या मियत गाउँ, सागाएङ क्षेत्र, म्यान्मार

आगलागी भएका स्थान हेर्न बटनलाई बायाँ सार्नुहोस्

Update browser

धेरैजसो गाउँलेहरू भागिसकेका थिए तर केही घरहरू जस्ताका तस्तै थिए। गाउँको मध्य भागमा रहेको एउटा घर भने अकल्पनीय त्रासको केन्द्र थियो।

थिहाका अनुसार त्यो घटनाभन्दा पाँच महिनाअघि मात्रै उनी सेनामा भर्ना भएका थिए। अन्य धेरै जस्तै उनी पनि समुदायबाट भर्ना गरिएका थिए र तालिमप्राप्त थिएनन्। त्यस्ता सैनिकहरूलाई स्थानीय बासिन्दाहरू भाडाका सैनिक भन्छन्।

त्यो समय उनलाई दुई लाख म्यान्मार च्याट अर्थात लगभग १०० अमेरिकी डलर तलब दिइन्थ्यो। त्यो घरको घटना उनलाई झलझली याद छ।

जलेको घर
तस्बिरको क्याप्शन, किशोरीका काकाले आफू मर्माहत भएको बताए

उनले आगो लगाउन लागेको घरभित्र एउटा किशोरी थुनिएको देखे।

"म उनी चिच्याएको बिर्सन सक्दिनँ। म अझै पनि उनको आवाज सुन्छु र सम्झन्छु," उनले बताए।

जब उनले क्याप्टेनलाई बताए, उनले जबाफ दिए: "मैले देखे जतिलाई मार भनेको छु।" त्यसैले उनले त्यो कोठामा आगो फाले।

आङ पनि त्यहाँ थिए र उनले जिउँदै जलिरहेकी किशोरीको चिच्याहट सुनेका थिए।

"त्यो आवाज सुन्नु निक्कै दुःखदायी थियो। हामीले घर जलिरहँदा १५ मिनेटसम्म ती किशोरीको चिच्याहट सुन्यौँ," उनले सम्झिए।

बीबीसीले ती किशोरीको परिवार पत्ता लगायो जसले जलेको घरअगाडि आफ्नो कुरा बताए।

उनको नातेदार ऊ मिन्टले ती किशोरीमा मानसिक स्वास्थ्य समस्या भएका कारण घरमै थुनेर परिवारका सदस्यहरू काममा गएको बताए।

"उनले भाग्ने प्रयास गरिन् तर उनीहरूले रोकेर जल्न दिए," उनले भने।

2px presentational grey line

सैनिक यातना सहने ती किशोरी एकजना मात्र भने थिइनन्।

थिहाले पैसाका लागि आफू सेनामा भर्ती भएको तर जे गर्न लगाइयो र जस्तो अत्याचार देखियो त्योबाट स्तब्ध भएको बताए।

उनले या मियतमा गिरफ्तार गरिएका किशोरीहरूको समूहको बारेमा बताए।

उच्च पदस्थ सैनिक अधिकारीले ती किशोरीहरू सैनिकहरूलाई दिएर "जे मन लाग्छ गर" भनेको उनी बताउँछन्।

उनले सैनिकहरूले किशोरीहरूलाई बलात्कार गरेको तर आफूले नगरेको बताए।

बीबीसीले तीमध्ये दुई किशोरीलाई सम्पर्क गरेको छ।

पा पा र खिन ट्वेले भाग्ने प्रयास गर्दा सैनिकहरूले भेटेको बताए। उनीहरू या मियतमा थिएनन् र त्यहाँ लुगा सिलाउन आएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, म्यान्मार सामूहिक चिहान: सेनाले यातना दिएर कैयौँ मानिसलाई मारेको खुलासा

उनीहरूले आफू पीडीएफको नभएको र त्यो गाउँको नभएको बताउँदा पनि उनीहरूलाई स्थानीय विद्यालयमा तीन दिन बन्दी बनाइयो। उनीहरूले प्रत्येक रात आफूहरूलाई मादक पदार्थ सेवन गरेका सैनिकले यौन दुर्व्यवहार गरेको बताए।

"उनीहरूले कपडाले मेरो मुख छोपे र मलाई लडाएर मेरो लुगा खोल्दिए अनि मलाई बलात्कार गरे," पा पाले भनिन्। "उनीहरूले बलात्कार गर्दा म चिच्याइरहेँ।"

उनले सैनिकहरूलाई रोकिन आग्रह गरिन् तर उनलाई टाउकोमा पिटियो र बन्दुकको नाल तेर्साएर तर्साइयो।

"हामीले कुनै विरोध नगरी सहनुपर्‍यो किनभने हामीलाई मारिने डर थियो," उनकी बहिनी खिन ट्वेले काँप्दै भनिन्।

ती किशोरीहरूले डरले बलात्कारीको अनुहार हेर्न सकेनन् तर तीमध्ये केही सैन्य पोसाकमा र केही सामान्य पोसाकमा रहेका उनीहरू बताउँछन्।

थिहा भन्छन्: "उनीहरूले किशोरीहरूलाई भेटे भने 'यो तिमीहरूले पीडीएफलाई समर्थन गरेको भएर' भन्दै बलात्कार गर्थे।"

या मियतको हिंसामा कम्तीमा १० जना मानिसको मृत्यु भयो र आठ जना किशोरीहरू तीन दिनसम्म बलात्कृत भएको विवरण आयो।

2px presentational grey line

भाडाका सैनिक माउङ ओ सहभागी बीभत्स हत्या भने सन् २०२२ को मे २ मा ओहाके फो गाउँमा भएको थियो।

उनले सुनाएको उनको एकाइका सदस्यहरूले मानिसहरू बटुलेर लगी गोली हानेको विवरण त्यो घटना लगत्तै बीबीसीले प्राप्त गरेको भिडिओ र प्रत्यक्षदर्शीहरूको बयानसँग मिल्छ।

भिडिओमा एक महिला र एक सेतै कपाल फुलेका पुरुषको सहित नौ शव लहरै सुताइएको देखिन्छ। ती सबैले सारोङ र टीसर्ट लगाएका छन्।

भिडिओमा ती मानिसहरूलाई पछाडि नजिकैबाट गोली हानेको सङ्केत देखिन्छ।

Bullet holes in a building
तस्बिरको क्याप्शन, घटनामा संलग्न सैनिकले आफूलाई पछुतो लागेको बताउँछन्।

बीबीसीले त्यस्तो अत्याचार देख्ने प्रत्यक्षदर्शीहरूसँग पनि कुरा गरेको छ। उनीहरूले त्यसमा भएकी महिलाको पहिचान गरे। उनको नाम मा मो मो थियो र उनीसँग आफ्नो बच्चा र सुन भएको झोला थियो। उनले सैनिकलाई आफ्नो झोला नलुट्न अनुनय गरेकी थिइन्।

"बच्चासँगै भए पनि उनीहरूले उनको झोला खोसे र उनको हत्या गरे। उनीहरूले पुरुषहरूलाई पनि लाइनमा राखे र एकाएक गर्दै गोली हाने," त्यहाँ भएकी तर बचेकी ला लाले भनिन्।

त्यो बच्चा बच्यो र अहिले नातेदारहरूले हेरचाह गरिरहेका छन्।

ला लाले सैनिकहरूले फोनमा आठ-नौ जना मारेको र मान्छे मार्नु 'स्वादिष्ट' भएको अनि 'सबैभन्दा सफल दिन भएको' बताएको सुनेको बताइन्।

उनले सैनिकहरू 'विजय। विजय।' भन्दै गाउँबाट बाहिरिएको बताइन्।

अर्की महिलाले आफ्नो पति मारिएको देखिन्। "उनीहरूले उनलाई तिघ्रामा गोली हाने अनि घोप्टो पर्न लगाएर पृष्ठभागमा गोली हाने अनि अन्तिममा टाउकोमा गोली हाने," उनले भनिन्।

उनले आफ्नो श्रीमान् पीडीएफको सदस्य नभएको दाबी गरिन्। "उनी एक कामदार थिए जसले परम्परागत रूपमा दैनिक ज्याला कमाउँथे। मेरो छोरा र छोरी छन् र मलाई थाहा छैन अब कसरी तिनीहरूलाई पाल्ने हो।"

माउङ ओले आफ्नो कार्यप्रति पछुतो लागेको बताए। "म सबै भन्छु," उनले भने। "म सबैलाई यो कुरा थाहा होस् भन्ने चाहन्छु जसले गर्दा उनीहरूलाई पनि यस्तै नहोस्।"

2px presentational grey line

बीबीसीसँग कुरा गरेका सबै छजना सैनिकले म्यान्मारको मध्य भागका गाउँहरूमा घर जलाएको स्वीकार गरे। यसले विरोधलाई निस्तेज पार्न योजनाबद्ध रूपमा यस्तो गरिएको सङ्केत गर्छ।

बीन गाउँ, सागाएङ क्षेत्र, म्यान्मार

आगलागी भएका स्थान हेर्न बटनलाई बायाँ सार्नुहोस्

Update browser

मानव अधिकार हननका घटनाहरूको विवरण सङ्कलन गर्ने अध्ययनकर्ताहरूको समूह म्यान्मार वीटनेसले गत १० महिनामा गाउँहरू जलाइएका २०० विवरणको पुष्टि गरेको छ।

उनीहरूले गाउँ जलाइएका घटनाहरू बढिरहेको र यो वर्ष ज्यानुअरी र फेब्रुअरीमा ४० घटना भएकोमा मार्च र एप्रिलमा कम्तीमा ६६ घटना भएको बताएका छन्।

म्यान्मार सेनाले जलाएका गाउँहरू

सन् २०२१ सेप्टेम्बर १ देखि सन् २०२२ जुन २२ सम्मको तथ्याङ्क

Update browser

म्यान्मार सेनाले यस्तो रणनीति अपनाएको यो पहिलो पटक भने होइन। सन् २०१७ मा रखाइन राज्यमा रोहिंज्या समुदायविरुद्ध पनि सेनाले यस्तै रणनीति अपनाएको थियो।

म्यान्मारको पहाडी इलाकास्थित जनजातीय क्षेत्रका नागरिकहरूले दशकौँदेखि यस्तो आक्रमण भोगेका थिए। ती जातीय समूहका केही लडाकुहरूले अहिले पीडीएफलाई सेनाविरुद्ध लड्न तालिम दिइरहेका छन्।

म्यान्मारमा दशकौँदेखि सेनाले स्वेच्छाचारी हिसाबले लुट्ने र मान्छे मार्ने दण्डहीनताको संस्कृति कायम रहेको एक अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले बताएको छ।

सेनाले गरेको अत्याचारको घटनामा विरलै मात्र पीडकलाई कानुनी दायरामा ल्याइन्छ।

2px presentational grey line

म्यान्मार सेनाले अहिले जागिर छोड्ने र पीडीएफसँगको संघर्षमा मारिएकाहरूको सङ्ख्या बढेका कारण भाडामा सैनिकहरू भर्ती गर्ने गरेको छ।

पूर्व सैनिक र प्रहरीले स्थापना गरेको पीपल्स इम्ब्रेसका अनुसार सन् २०२१ को सैन्य कूयता १०,००० मानिसले सेना र प्रहरीको जागिर छोडेका छन्।

आगो लागेको घर

"सेनालाई धेरै स्थानमा भइरहेको गृहयुद्ध व्यवस्थापन गर्न असहज भएको छ," सेन्टर फर स्ट्रेटेजीक एन्ड इन्टर्न्याश्नल स्टडीजका माइकल मार्टिन भन्छन्।

"उच्च र निम्न सैनिक पद सबैमा उसलाई मानवस्रोतको कमी भएको छ, धेरै मारिएका छन्, भर्ती गर्न र हतियार एवम् बन्दोबस्तीका सामग्री प्राप्त गर्न कठिन छ। यो कुरा उनीहरूले देशका विभिन्न स्थानमा भूभाग छोड्नु परेको घटनाले सङ्केत गर्छ।"

माथि वर्णित घटना भएका मागवे र सागाएङ क्षेत्रबाट ऐतिहासिक रूपमा सेनामा धेरै भर्ती हुन्थे तर अहिले युवा पुस्ता पीडीएफ समूहतिर आकर्षित भएका छन्।

आङ आफू किन सेना छोडेर भागेँ भनेर स्पष्ट छन्: "यदि मलाई सेनाले दीर्घकालीन रूपमा जित्छ भन्ने लागेको भए म नागरिक पक्षमा आउने थिइनँ।"

उनले पीडीएफले मार्ने डरले सैनिकहरू एक्लै कतै जान नसक्ने बताए।

"हामी जहाँ गए पनि सैन्य समूहमा जानु पर्छ। कसैले पनि सेनाले जितिरहेको भन्न सक्दैन," उनले भने।

2px presentational grey line

बीबीसीले माथिका घटनाबारे म्यान्मार सेनाका प्रवक्ता जेनरल थ मिन टुनीलाई सोधेको थियो। एक विज्ञप्तिमा उनले "सेनाले नागरिकलाई लक्ष्य बनाएको अस्वीकार गरे। उनले ती दुवै घटनाहरू सेनाको जायज आक्रमण भएको र आतङ्कवादीहरू मारिएको" बताए।

उनले सेनाले गाउँहरू जलाएको अस्वीकार गरे र पीडीएफले त्यस्तो गरिरहेको दाबी गरे।

यो गृहयुद्ध कहिले र कसरी सकिन्छ भन्न गाह्रो छ तर यसले दशौँ लाख म्यान्मार नागरिकलाई आघात पुर्‍याउने देखिन्छ।

र जति लामो समय शान्ति प्राप्तिका लागि लाग्छ त्यति नै समय बलात्कारपीडित खिन ट्वे जस्ता किशोरीहरू हिंसाको खतरामा रहन्छन्।

उनले जे भयो त्यसपछि आफूलाई बाँच्न मन नलागेको र आत्महत्या गर्ने बारे सोचेको बताइन्।

उनले आफ्नो विवाह पक्का गरिएको पुरुषलाई पनि के भयो भन्न सकेकी छैनन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रजातन्त्रका लागि लडिरहेका युवा लडाकु