अफगानिस्तान युद्ध: ब्रिटिश विशेष फौजले कैयौँ निहत्था अफगान बन्दीलाई मारेको खुलासा

एसएएसले राति छापा मार्ने गर्थ्यो
तस्बिरको क्याप्शन, एसएएसले राति छापा मार्ने गर्थ्यो
    • Author, हाना ओ'ग्रेडी र जोअल गन्टर
    • Role, बीबीसी प्यानोरमा

बीबीसीले गरेको एउटा अनुसन्धानमा ब्रिटिश विशेष सैन्य फौज एसएएसले अफगानिस्तानमा पक्राउ परेका तथा निशस्त्र मानिसहरूको निरन्तर हत्या गरेको प्रमाण फेला परेको छ।

हालै प्राप्त भएका सैन्य प्रतिवेदनहरूले एउटा यूनिटले छ महिनाको अवधिमा ५४ जनाको गैरन्यायिक हत्या गरेको देखाउँछ।

बीबीसीको अनुसन्धानले विशेष फौजका पूर्वप्रमुखले हत्याको अनुसन्धानका लागि प्रमाणहरू पठाउन असफल भएका थिए भन्ने देखाउँछ।

रक्षा मन्त्रालयले चाहिँ ब्रिटिश सेनाले अफगानिस्तानमा "साहस र व्यावसायिक ढङ्गले" सेवा गरेको बताएको छ।

चीफ अफ द डिफेन्स स्टाफ टोनी र्‍याडकिनले एसएएसलाई लागेको आरोपबारे नयाँ छानबिन नहुने बताएका छन्। प्रहरीले गरेका दुईवटा छानबिनमा त्यस्तो घटना नभएको देखिएको तर्क उनले गरेका छन्।

ती आरोपबारे छानबिन हुनुपर्ने माग भएपछि केही दिनअघि प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटिश सैनिकहरू "कानुनभन्दा माथि नभएको" बताए। तर यस विषयमा मन्त्रीहरूले टिप्पणी नगर्नुको अर्थ आरोप वास्तविकताका रूपमा स्थापित भइसकेको भन्ने नभएको उनको भनाइ थियो।

सेनाप्रमुखलाई जानकारी

यूके विशेष फौजका पूर्वप्रमुख मार्क कल्टन-स्मिथलाई गैरन्यायिक हत्याबारे जानकारी दिइएको तर उनले रोयल मिलिटरी पोलिसलाई उक्त अनुसन्धानका लागि त्यस्तो जानकारी उपलब्ध नगराएको बीबीसीको बुझाइ छ।

एसएएसमाथि त्यस्ता हत्याबारे एउटा अनुसन्धान सुरु गरेपछि पनि उनले ती प्रमाणहरू नबुझाएको देखिएको छ।

उनी गत महिना पद छाड्नुअघि ब्रिटिश सेनाको प्रमुख बनेका थिए। उनले उक्त घटनाबारे कुराकानी गर्न अस्वीकार गरे।

अफगानिस्तान

बीबीसीको विश्लेषण

बीबीसीको प्यानोरमा कार्यक्रमले एसएएसको कारबाहीका सयौँ कुराहरूको विश्लेषण गरेको छ।

त्यसमा एसएएसको युद्धपोतसहितको एउटा टुकडीले हेल्मन्डमा २०१० र २०११ मा चलाएका एक दर्जनभन्दा बढी "पक्रिने वा हत्या गर्ने" अभियानका प्रतिवेदनहरू पनि संलग्न छन्।

उक्त युद्धपोतसहितको सैन्य टुकडीसँग काम गरेका व्यक्तिहरूले बीबीसीलाई उनीहरूले विशेषगरी रातिको समयमा छापा मार्ने क्रममा निहत्था व्यक्तिहरूलाई एसएएस कर्मचारीहरूले हत्या गरेको देखेको बताएका छन्।

उनीहरूका भनाइमा उक्त सैन्य समूहले निहत्था मानिसहरू मारिएको कुरालाई उचित ठहर्‍याउन एके-४७ जस्ता हतियारहरू "राखिदिएका" थिए।

अफगानिस्तान

स्पेशल फोर्सेजसँग काम गरेका धेरै व्यक्तिहरूले उक्त युद्धपोतसहितको सैन्य टुकडीका कर्मचारीहरू 'कसले धेरै मानिसहरू मार्ने भन्ने कुरामा प्रतिस्पर्धा गर्थे' भनेका छन्।

बीबीसीले गरेको जाँचमा युद्धपोतसहितको एउटा सैन्य टुकडीले पहिलेको भन्दा धेरै मानिसलाई मारेर सङ्ख्या बढाउन प्रतिस्पर्धा गर्ने गरेको पाइएको छ।

आन्तरिक इमेल

आन्तरिक रूपमा पठाइएको इमेलले विशेष फौजका उच्च अधिकारीहरू त्यहाँ गैरन्यायिक हत्याहरू भएको हुनसक्ने चिन्ताबारे जानकार रहेको तर उनीहरू उक्त शङ्कालाई सैन्य प्रहरीसमक्ष पुर्‍याउन असफल भएको देखाएका छन्।

तर त्यस्ता शङ्कालाई सैन्य प्रहरीसमक्ष पुर्‍याउनुपर्ने कानुनी बाध्यता रहेको देखिन्छ।

अफगानिस्तान

रक्षा मन्त्रालयले कुनै पनि विशेष आरोपहरूबारे प्रतिक्रिया नदिने बतायो।

यद्यपि उसले कुनै पनि आरोपबारे प्रतिक्रिया दिन अस्वीकार गर्नुलाई उक्त आरोप "तथ्यपरक रूपमा सही भएको" भन्ने स्वीकारिएको भन्न नमिल्ने बताएको छ।

रक्षा मन्त्रालयका एक प्रवक्ताले ब्रिटिश सेनाले "साहस र व्यावसायिक ढङ्गले" अफगानिस्तानमा काम गरेको तथा उनीहरूलाई "उच्च मापदण्डमा राखिएको" बताएका छन्।

हत्याको शैली

सन् २०१९ मा बीबीसी र सन्डे टाइम्सले एसएएसको एउटा छापाबारे अनुसन्धान गरेका थिए।

अनुसन्धानपछि उक्त विषय यूकेको अदालतमा पुग्यो र अदालतले उक्त मुद्दालाई सरकारले कसरी व्यवस्थापन गर्‍यो भन्ने कागजपत्रहरू बाहिर ल्याउन रक्षामन्त्रीलाई आदेश दियो।

पछिल्लो अनुसन्धानका लागि बीबीसीले उक्त कारबाहीसम्बन्धी नयाँ प्रतिवेदनहरूको विश्लेषण गरेको छ।

सेना प्रमुख

तस्बिर स्रोत, Getty Images

त्यसमा एसएएसले रातिको समयमा मार्ने छापाबारे विस्तृतमा विवरणहरू दिइएका छन्।

हामीले ती प्रतिवेदनहरूमा अफगान पुरुषहरूलाई मारिएको विषयमा एकैखाले विवरणहरू फेला पार्‍यौँ।

ती विवरणहरूमा अफगान पुरुषहरूलाई हिरासतमा लिइएपछि उनीहरूले पर्दापछाडिबाट वा अन्य फर्निचरहरूबाट एके-४७ राइफल वा ह्यान्ड ग्रिनेड ताकेका कारण गोली हानेर मारेको उल्लेख छ।

  • सन् २०१० नोभेम्बर २९ मा टुकडीले एक व्यक्तिलाई पक्रेर एउटा भवनपछाडि लिएर गए र उनलाई "टोलीमाथि ग्रिनेड प्रहार गर्न खोजेपछि" गोली हानेर मारियो।
  • सन् २०११ ज्यानुअरी १५ मा टुकडीले एक व्यक्तिलाई मार्‍यो। उनलाई हिरासतमा राखिएको थियो र भवनभित्र फिर्ता लगिएको थियो। त्यहाँ उनी "गद्दाको पछाडि पुगे र एउटा ह्यान्ड ग्रिनेड निकालेर फाल्न खोजे।"
  • त्यसै वर्ष ७ फेब्रुअरीमा गस्तीलाई राइफलबाट आक्रमण गर्न खोजेको भन्दै अर्का व्यक्तिलाई मारियो।
  • फेब्रुअरी ९ देखि १३ सम्म भएका त्यस्तै हत्यामा पनि उस्तै कारण देखाइएको छ।
  • फेब्रुअरी १६ मा "पर्दापछाडिबाट एक जनाले ग्रिनेड उठाएको" र अर्का व्यक्तिले "टेबलमा राखिएको एके-४७ राइफल" उठाएको भन्दै दुई जनाको हत्या गरियो।

उक्त टुकडीको छ महिनाको यात्रामा कुल मृत्यु हुनेको सङ्ख्या तीन अङ्कमा थियो।

बीबीसीले अनुसन्धान गरेका सबै छापाहरूमा एसएएसका कर्मचारीलाई कुनै पनि चोटपटक लागेको कुरा उल्लेख गरिएको छैन।

गस्ती

यूकेको स्पेशल फोर्सेजको मुख्यालयमा कार्यरत एक वरिष्ठ अधिकारीले बीबीसीलाई उक्त टुकडीको प्रतिवेदनमा "वास्तविक चिन्ता" रहेको बताए।

"राति मारिने छापामा धेरै मानिसहरूको ज्यान गएको थियो र स्पष्टीकरणको कुनै अर्थ छैन," उनले भने। "कसैलाई एक पटक हिरासतमा राखेपछि उसको मृत्यु हुनु हुँदैन। यो बारम्बार हुनुले मुख्यालयमा खतराको घण्टी बजेको थियो। त्यस बेला केही गलत भएको थियो भनेर स्पष्ट थियो।"

जानकारी

त्यस बेलाका आन्तरिक इमेलहरूले अधिकारीहरूले ती प्रतिवेदनहरूमाथि अविश्वास गरेर त्यस्तै किसिमका प्रतिक्रिया दिएको देखाउँछन्।

उनीहरूले उक्त टोलीको "पछिल्लो नरसंहार"लाई "धेरै अविश्वसनीय" भनेर वर्णन गरेको देखिन्छ।

कारबाहीमा संलग्न एक अधिकृतले सहकर्मीलाई इमेल गरेर "पछिल्ला दुई सातामा १०औँ पटक हुनुपर्छ" उक्त सैन्य टोलीले बन्दीलाई भवनमा फिर्ता पठाएको थियो "र, ऊ फेरि एकेसँग देखा पर्‍यो" भनेर लेखेका छन्।

चिन्ता बढ्दै जाँदा देशको विशेष बलका उच्च श्रेणीका अधिकारीहरूले एउटा गोप्य पत्रमा कारबाही गैरकानुनी हत्याको "जानाजानको नीति" हुन सक्ने चेतावनी दिएका थिए।

वरिष्ठ नेतृत्व यति चिन्तित भयो कि उक्त टोलीको रणनीतिको औपचारिक समीक्षाको दुर्लभ आदेश दिइयो।

अफगानिस्तान

त्यसपछि विशेष फौजका एक अधिकारीलाई अफगानिस्तानमा उक्त सैन्य टोलीको अन्तर्वार्ता लिन खटाइयो तर उनले एसएएसकै कुरालाई सदर गरिदिए।

बीबीसीका बुझाइमा ती अधिकृतले छापा मारिएको स्थानको भ्रमण गरेनन् वा सेनाबाहिरका साक्षीहरूको अन्तर्वार्ता लिएनन्।

अदालतमा पेस गरिएका कागजपत्रले सन्दिग्ध हत्याका लागि जिम्मेवार एसएएस एकाइका कमान्डिङ अधिकृतले अन्तिम प्रतिवेदनमा हस्ताक्षर गरेको देखाउँछन्।

तर कुनै पनि प्रमाणहरूलाई सैन्य प्रहरीसमक्ष पठाइएन।

बीबीसीले पत्ता लगाएअनुसार उल्टै ती दस्तावेजहरूलाई प्रतिबन्धित वर्गीकृत सूचीमा राखियो र ती दस्तावेजमा केही वरिष्ठ अधिकारीहरूको मात्र पहुँच थियो।

उक्त समूहलाई सन् २०१२ मा अफगानिस्तानमा पुन: परिचालन हुने अनुमति दिइयो।

अफगानिस्तान

रोयल मिलिटरी पोलिसले सन् २०१३ मा एउटा छापामा भएको हत्या अनुसन्धान सुरु गर्दा पनि उक्त विशेष बलका महानिर्देशक मार्क कल्टन-स्मिथले त्यसलाई गैरकानुनी हत्याहरू वा रणनीतिक समीक्षाको अस्तित्वको बारेमा पहिलेका चिन्ताहरू प्रकट गरेनन्।

सन् २०११ मा अफगानिस्तानमा रोयल मरीनका कमान्डर रहेका कर्नल ओलिभर लीले बीबीसीसँग हाम्रो अनुसन्धानबाट उठाइएका दुर्व्यवहारका आरोप "अविश्वसनीय रूपमा स्तब्ध पार्ने" र सार्वजनिक रूपमा छानबिनयोग्य रहेको बताएका छन्।

बीबीसीले नोभेम्बर २०१० देखि अफगानिस्तानमा खटिएको उक्त टोलीको गतिविधिबारे विशेषगरी अनुसन्धान गरेको हो।

त्यस बेला उक्त टोली मुख्य रूपमा हेल्मन्ड प्रान्तमा खटिएको थियो।

उनीहरूसँग काम गरेका कैयौँ स्रोतहरूले बीबीसीसँग एसएएसले लिने गुप्तचरी सूचनामा समेत समस्या रहेको बताएका छन्।

अफगानिस्तान

सन् २०१० र ११ मा एसएएस टोली खटिएको र उनीहरूले छापा मारेका कैयौँ घरहरूमा बीबीसी पुगेको थियो।

त्यहाँ अफगानहरूले पाहुनाका लागि बनाएको घरमा गोली लागेका प्वालहरू हामीले देख्यौँ।

त्यस्ता प्वालहरू भुँइनजिकै थिए।

यूकेको स्पेशल फोर्सेजले प्रयोग गर्ने हतियारबारे जानकारी भएका विज्ञ लेह नेभिलका भनाइमा "ती गोली लागेका प्वालहरू हेर्दा ती एकदमै तल रहेका र ती हतियार चलाउन जान्ने मानिसहरू हतियारसहित बसेका बेलामा परे जस्तो" नदेखिने बताएका छन्।

अफगानिस्तान

त्यस्ता खालका गोली लागेका प्वालहरू अन्यत्र पनि देखिएका छन्।

त्यस्ता स्थानका तस्बिरहरू हेरेका एक बलिस्टिकविज्ञले ती प्वालहरू हेर्दा भिडन्तमा मारिएकोभन्दा पनि निहत्थालाई मारिएको बेलाका जस्ता देखिएको बताए।

सेनालाई उच्च मापदण्डमा राखिएको ब्रिटिश रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका एक प्रवक्ताले भने, "कुनै नयाँ प्रमाण पेस गरिएको छैन तर सर्भिस पोलिसले नयाँ प्रमाणहरू प्रकाशमा आएमा कुनै पनि आरोपलाई विचार गर्नेछ।"

ब्रिटिश सरकारले के भन्यो?

बीबीसी प्यानोरमाको उक्त अनुसन्धानपछि छानबिनको आह्वान भइरहेका बेला प्रधानमन्त्री बोरिस जोनसनले "कुनै पनि सैनिक कर्मचारीहरू ब्रिटिश कानुनमाथि नरहेको" बताएका छन्।

उनले विशेष सैन्य बलबारे मन्त्रीहरूले नबोल्नु भनेको उसमाथि लागेका आरोपहरूलाई स्वीकार्नु नभएको स्पष्ट गरेका छन्।

उता विपक्षी दलहरूले उक्त आरोपबारे छानबिन गर्न आह्वान गरेका छन्।

त्यस्तै मिनिस्टर अफ आर्म्ड फोर्सेज जेम्स हिपीले "हाम्रो सङ्गठनको कोही पनि जतिसुकै विशेष भए पनि कानुनभन्दा माथि नरहेको" सांसदहरूलाई बताएका छन्।

त्यस्तै ब्रिटिश सशस्त्र बलका एक पूर्वप्रमुख जेनरल लर्ड रिचर्ड्सले यदि आफू अझै पनि जिम्मेवारीमा भएको भए "गहिरो अनुसन्धानको आदेश दिन्थेँ" भनेका छन्। उनले अहिलेका प्रमुखले पनि त्यस्तै गर्ने आशा व्यक्त गरेका छन्।