अफगानिस्तान भूकम्पः किन यो देशमा बारम्बार विनाशकारी भुँइचालो गइरहन्छ?

तस्बिर स्रोत, Getty Images
पूर्वी अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा १,००० जनाको मृत्यु भएको छ भने थप ३,००० जना घाइते भएका छन्।
पर्वतीय प्रान्त पाक्तिकामा गएको उक्त भूकम्पका कारण सयौँ घरहरू क्षतिग्रस्त भएका छन्।
त्यो अफगानिस्तानमा पछिल्लो दुई दशक यता गएको सबैभन्दा विनाशकारी भूकम्प हो।
अफगानिस्तानमा किन धेरै भूकम्प गइरहन्छ?
भूमिमुनि पृथ्वीभित्र रहेका टेक्टोनिक प्लेटमा अकस्मात् हलचल हुँदा भूकम्प जान्छ। प्लेटहरू ठोक्किएपछि बनेका दरारलाई फल्टलाइन भनिन्छ।

अफगानिस्तान भूकम्पको एकदमै उच्च जोखिममा छ किनभने यो भारतीय र युरेशियाली प्लेटहरू भेट हुने कैयौँ दरारमाथि अवस्थित छ।
विगत दुई हप्तामा मात्रै त्यहाँ कम्तीमा १० वटा मध्यम क्षमताका भूकम्पहरू गएका छन्।
तिनलाई म्याग्निट्यूडमा ४ वा सोभन्दा बढी मापन गरिएको थियो।
अफगानिस्तानमा गत वर्ष १.५ देखि ४ म्याग्निट्यूडसम्मका २१९ वटा साना भूकम्पहरू थिए।
अहिलेको भूकम्प किन घातक?
यो भूकम्प भारतीय र युरेशियाली प्लेटले एकअर्कालाई ठक्कर दिँदा उत्पन्न भएको तनावका कारण उत्पन्न भएको थियो।
अमेरिकी भौगर्भिक अध्ययन संस्था यूएसजीएसले उक्त भूकम्पलाई ५.९ म्याग्निट्यूड मापन गरेको थियो।
अमेरिकी सङ्घीय आपत्कालीन व्यवस्थापन केन्द्र फिमाका अनुसार त्यो शक्ति भनेको चार लाख ७५ हजार टन विस्फोटक पदार्थ टीएनटी वा हिरोशिमामा खसालिएको अणुबमले निकालेको शक्तिको तुलनामा ३७ गुना बढी हो।

भूकम्पको कम्पन ५०० किलोमिटर टाढा पाकिस्तान र भारतसम्म महसुस गरिएको थियो।
यो भूकम्पले यति धेरै क्षति निम्त्याउनुको एउटा कारण पृथ्वीको सतहभन्दा ५१ किलोमिटरमुनि प्लेटहरू ठोक्किनु भएको ब्रिटिश जिओलोजिकल सर्भेका भूकम्पविद् ब्रायन बाप्टी बताउँछन्।
"अफगानिस्तानको यो क्षेत्रमा हिमालयको फेदी पनि पर्छ। यहाँ टेक्टोनिक प्लेटहरू सीधै एकअर्कासँग ठोक्किँदैनन् बरु आंशिक रूपमा तलमाथि घुसेर जान्छन्। परिणामस्वरूप यो क्षेत्रमा भूकम्प जाने ठाउँ खासै गहिरो हुँदैन र कम्पन सतहको एकदमै नजिक हुन्छ।"
"उक्त भूकम्प मध्यम क्षमताको मात्रै थियो, तर प्रभावको हिसाबले त्यो एकदमै क्षति गराउने खालको भयो।"

तस्बिर स्रोत, Getty Images
अरू कस्ता भूकम्पले अफगानिस्तानमा प्रभाव पारेको छ?
संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला संयोजन निकायका अनुसार विगत एक दशकमा अफगानिस्तानमा भूकम्पका कारण ७,००० जनाभन्दा बढीले ज्यान गुमाएका छन्। औसतमा प्रत्येक वर्ष ५६० जनाको मृत्यु भएको छ।
गत ज्यानुअरीमा देशको पश्चिममा गएको भूकम्पमा २० जनाको मृत्यु भएको थियो र सयौँ घरहरू ध्वस्त भएका थिए।
सन् २०१५ को हिन्दकुश भूकम्प ७.५ म्याग्निट्यूडको थियो र त्यसमा ३९९ जनाको ज्यान गएको थियो। सो भूकम्पको प्रभाव चीनको शिन्जियाङ् प्रान्तसम्म महसुस गरिएको थियो।
सन् २००२ को मार्चमा हिन्दकुश पर्वतमा गएका दुईवटा भूकम्पमा १,१०० भन्दा बढीको मृत्यु भएको थियो।
मे महिनामा उत्तरी अफगानिस्तानका दुईवटा प्रान्तमा गएको भूकम्पले कम्तीमा ४,००० जनाको ज्यान लिएको थियो। त्यस बेला करिब १०० वटा गाउँ र १६,००० घर ध्वस्त वा क्षतिग्रस्त भएका थिए भने ४५,००० घरविहीन भएका थिए।
फेब्रुअरी १९९८ मा सोही क्षेत्रमा गएको भूकम्पले ४,००० जनाको ज्यान लिएको थियो भने थप १५,००० जना घरबारविहीन बनाएको थियो।
अफगानिस्तानमा भूकम्पले किन बढी क्षति गराउँछ?
जापान र दक्षिण अमेरिकाका अरू देशहरूमा अफगानिस्तानमा भन्दा बढी भूकम्पहरू जाने बाप्टी बताउँछन्।
"तर अफगानिस्तान विशेष रूपमा उच्च जोखिममा छ किनभने त्यहाँ घरहरू भूकम्पप्रतिरोधी छैनन्।"
उनले भने, "त्यहाँ काठ र माटोको इँटले वा कमजोर कङ्क्रिटले घर बनाइन्छ।"
भूकम्पका कारण पहाडहरूमा जाने पहिरोले पनि ठूलो क्षतिहरू गराउँछ।
त्यसले पहाडमा अवस्थित गाउँहरूमा रहेका घरहरू बगाउनुका साथै नदीहरू अवरुद्ध पारेर भीषण बाढी पनि आउन सक्छ।

तस्बिर स्रोत, Getty Images
कतिपय अवस्थामा भूकम्प गएको खबर अधिकारीहरूसमक्ष पुग्न कैयौँ दिन पनि लाग्न सक्छ।
पहिरोले सडक बन्द गराउन पनि सक्छ जसले उद्धारकर्ता र उद्धार सामग्री दुर्गम पहाडी भेगसम्म पुर्याउन समय लाग्छ।
वर्षा वा हिउँ, तुवाँलो र एकदमै चिसोजस्ता चरम मौसमी अवस्थाले उद्धारका प्रयासलाई बारम्बार प्रभावित तुल्याइरहन्छ।
संयुक्त राष्ट्रसङ्घले एकदमै खराब समयमा अघिल्लो हप्ताको भूकम्प गएको जनाएको छ।
"अफगानिस्तान एकदमै चरम मानवीय सङ्कटबाट गुज्रिरहेको छ र करिब ३५ लाख मानिस देशभित्रै विस्थापित भएका छन्," उसले विज्ञप्तिमा भनेको छ। "दशौँ लाख मानिसहरू बढ्दो गरिबी र भोकमरीको मारबाट बाँच्नका लागि नै सङ्घर्ष गरिरहेका छन्।"
यो पनि हेर्नुहोस्











