२०७२ सालको भूकम्प, चर्को मौसमी अवस्था र नेपालमा पहिरोको जोखिमबीचको सम्बन्ध

पहिरो गएको भिरालो जमिन।

तस्बिर स्रोत, RSS

नेपालमा जाने ठूला पहिरोहरूको अध्ययन गर्दा चरम मौसमी गतिविधि र २०७२ सालको भूकम्पको प्रभावलाई पनि बढी ध्यान दिनु पर्ने अनुसन्धानकर्ताहरूले जनाएका छन्।

युकेको तीन प्रतिष्ठित विश्वविद्यालयहरू युनिभर्सिटि अफ इस्ट एङ्गलिया, युनिभर्सिटि अफ प्लिमथ, युनिभर्सिटि अफ एक्सटरका पाँच जना अनुसन्धानकर्ताहरूले जर्नल अफ जिओफिजिकल रिसर्चः अर्थ सर्फेसमा त्यस्तो अध्ययन प्रतिवेदन प्रकाशित गरेका हुन्।

गत जुलाई महिनामा सो जर्नलमा प्रकाशित उक्त अध्ययनका बारेमा हालै मात्र एक विज्ञान तथा प्रविधि सम्बन्धी समाचारमूलक वेबसाइट फिस डट ओआरजीमा समाचार पनि प्रकाशित भएको छ।

२०७२ अथवा सन् २०१५ को भूकम्पमा नेपालमा झण्डै ९ हजार जनाको ज्यान जानुका साथै लगभग ३५ लाख मानिसहरू घरबारविहिन हुन पुगेका थिए।

तर उक्त नयाँ अध्ययनले देखाएअनुसार सो भूकम्पका कारण हजारौँ पहिरोहरू पनि गएका छन् जस्ले समुदाय र महत्वपूर्ण पूर्वाधारहरूमा पनि ठूलो क्षति पुर्याएका छन्।

अध्ययनले पहिरो र चरम मौसमी गतिविधि तथा भूकम्पहरूबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेको छ।

अध्ययनका क्रममा झण्डै ३० वर्षको अवधीमा भएका मनसुनजन्य १३ हजार वटा पहिरोको अभिलेख भएको डेटाबेसको प्रयोग गरिएको बताइएको छ।

अध्ययन अवधीमा भएका चरम गतिविधिहरूमा सन् १९९३ र २००२ को आँधीबेहरी सन् २०१५ को भूकम्प र सन् २०१७ को विनाशकारी बाढीका घटनाहरू र त्यसबेला भएका पहिरोका घटनाहरूमा उल्लेख्य परिवर्तन देखिएको अनुसन्धानकर्ताहरूले जनाएका छन्।

कहाँ गरिएको थियो अध्ययन?

पूर्वी नेपालको ४५,००० वर्ग किलोमिटर हिमाली भेग अध्ययन क्षेत्र बनाइएको थियो ।

"गतिशील र उच्च भूभागका साथै मनसुनजन्य प्रकृयाले नेपालमा पहिरोको प्रभावलाई व्यापक बनाउँछ। पहिरोमा परेर प्रत्येक वर्ष औसत ७८ जनाले ज्यान गुमाउँछन्। उक्त सङ्ख्या विश्वभर पहिरोमा परी हुने मृत्युको १० प्रतिशत भएको अनुमान छ। यसलाई नेपालमा पहिरोको जोखिम न्यूनीकरण र व्यवस्थापनको पक्षबाट हेर्न सकिन्छ," अध्ययन क्षेत्र छनौट बारे लेखिएको छ।

त्यस्तै नेपालले विगत तीन दशकयता थुप्रै चरम प्राकृतिक प्रकोपका घटनाहरू भोगेको छ। जसका कारण हरेक घटनापछि कसरी भूस्खलनको अवस्था भिन्न हुन्छ भन्ने अनुसन्धान गर्न सकिने बताइएको छ।

फेरि नेपालमा हरेक वर्ष लगभग जुन महिनादेखि सेप्टेम्बरसम्म धेरै वर्षा हुन्छ। यसका कारण बहु-मौसमी भूस्खलनको सूचीहरू विकास गर्न सकिने जनाइएको छ।

अध्ययनकर्ताहरूमध्येकी एक तथा प्लिमथ विश्वविद्यालयकी एक्टिभ एन्ड नियोटेक्टोनिक्स विभागमा कार्यरत सह प्राध्यापक डाक्टर सेरा बोल्टनले भनेकी छन्:

"दुर्भाग्यवश पहिरोले विश्वव्यापी रूपमै मानिसहरूलाई जोखिममा पारी राखेको छ, विशेष गरी भूकम्प वा आँधीसँग सम्मिलित भएर। हाम्रो नयाँ अनुसन्धानले यो दर्साउँछ कि नेपालमा यसरी बहु- जोखिम मिश्रित कारणबाट हुने पहिरोको असर सामान्य मनसुनबाट हुने पहिरोको असरभन्दा भिन्न छ।"

पुराना सिद्धान्तलाई चुनौती

भूस्खलन सम्बन्धी यसअघिका सिद्धान्तहरूले पहिरो जानुका कारण समय-निर्भर नहुने बताउँथ्यो। त्यसैले कुनै ठूलो मौसमी घटनापछि पहिरोको पूर्वानुमान गर्न नसकिने बताइन्थ्यो। अध्ययनकर्ताहरूले आफ्नो नतिजाले ती सिद्धान्तहरूलाई चुनौती दिएको जनाएका छन्।

उनीहरूले भूस्खलनका कारण समय-निर्भर हुने आङ्कलन गरी विश्लेषण गरिनु पर्ने निष्कर्ष निकालेका हुन्।

नेपालको नक्सा र भूस्खलनबारे अध्ययन गरिएको क्षेत्र।

तस्बिर स्रोत, Journal of Geophysical Research: Earth Surface

के भन्छन् नेपाली भूगर्भविद्?

अन्य अध्ययनहरूमा पनि भूकम्प र पहिरोबिच अन्तरसम्बन्ध पुष्टि भएको नेपाली भूगर्भविद्हरूले बीबीसीलाई बताएका छन्। भूकम्पपछि आउने तरङ्ग केन्द्रबिन्दु हुँदै जमिनका अन्य भागमा सर्ने र भू अवस्था कमजोर भएको ठाउँमा पहिरो जाने उनीहरूले बताएका छन्।

"कमजोर बनोट भएका जमिनमा एक मिटर प्रति सेकेन्डमा आएको भूकम्पको तरङ्गले १७ गुणा बढी प्रभाव पार्छ। त्यसले भिरालो ठाउँमा पहिरोलाई प्रेरित गर्छ," भूगर्भविद् सुबोध ढकालले भने।

चट्टान र पुरुवा माटो भएका ठाउँहरू पनि भिरालो जमिन सरह प्रभावित हुने उनको दाबी छ।

"जमिन हल्लिँदा माटो नखाँदिएको भाग खुकुलो हुँदै जान्छ र भूस्खलन हुन्छ। त्यस्तै चट्टानका जोर्नी अर्थात् चिरा भूकम्पका कारण ठूलो र फराकिलो हुन पुग्छन्। पछि वर्षाको पानी ती चिरामा पस्छन् र निश्चित समय पछि त्यहाँ पनि पहिरो जान्छ," उनले भने।

असन्तुलित भएको माटोका कारण पहिरोसँगै बाढीको जोखिम पनि बढ्ने अर्का भूगर्भविद् वसन्तराज अधिकारीको तर्क छ।

"केही महिना अघि सिन्धुपाल्चोकमा गएको बाढी, पहिरो पछिल्लो भूकम्पले प्रेरित गर्ने अन्य प्रकोपको उदाहरण हो," अधिकारीले भने।

नेपालमा भूकम्प र पहिरोको अन्तर सम्बन्ध व्यक्ति वा संस्थाले अध्ययन गरे पनि, हालसम्म राज्य स्तरबाट केन्द्रीकृत अध्ययन नभएको भूगर्भविद्हरूको ठहर छ।

विभागका सिनियर डिभिजनल भूगर्भविद् शिवकुमार बास्कोटाले पनि उक्त विषयमा ठोस अध्ययन नभएको जानकारी दिए।

"भूकम्पपछि केही विदेशी निकायले पुनर्निर्माण प्राधिकरणका लागि उक्त विषयमा अध्ययन अनुसन्धान गरे पनि नेपालको सरकारी स्तरबाट काम भएको छैन," उनले भने,"भूकम्प, पहिरोलगायतले निम्त्याउने विपद् न्यूनीकरण र व्यवस्थापनमा चरणबद्ध काम भइरहेको छ।"

"केन्द्रीकृत अध्ययन नहुँदा अध्ययन, अनुसन्धानमा कस्ता प्रविधि र उपकरण प्रयोग भए भन्ने विषयमा प्रश्न उठ्न सक्छ। त्यस्तै ती अध्ययनबाट आएका नतिजा कति भरपर्दो हुन्छन् भन्ने मन्थन अर्को महत्त्वपूर्ण पाटो हो," ढकालले भने।

विपद् व्यवस्थापनदेखि जोखिम न्यूनीकरणसम्ममा यस्ता अध्ययनहरूको महत्त्वपूर्ण भूमिका हुने भएकाले सरकारले केन्द्रीय तहबाट अनुसन्धान अघि बढाउनु पर्ने अधिकारीको धारणा छ।

"सङ्घीय प्रणाली लागू भएयता धेरै अधिकारहरू स्थानीय तहले पाएका छन्। त्यहाँ भूगर्भ सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि दक्ष जनशक्ति छैन। त्यो जनशक्ति विकास र भएका अनुसन्धानका निष्कर्ष कार्यान्वयनमा पनि जोड दिनु पर्छ," उनले भने।