मनसुन नेपाल: बाढीभन्दा पहिरोले लियो धेरैको ज्यान

तस्बिर स्रोत, RSS
नेपालमा मनसुन सुरु भएको करिब एक महिनाभित्र शनिवार बिहानसम्म बाढी र पहिरोबाट ५२ जनाको मृत्यु भएको पुष्टि भइसकेको अधिकारीहरूले जनाएका छन्।
देशका कतिपय स्थानमा गएका पहिरोमा परेर बेपत्ता हुनेहरूको सङ्ख्या बढिरहेकाले यो सङ्ख्या वृद्धि हुनसक्ने अधिकारीहरूको भनाइ छ।
यो अवधिमा पहिरोमा परेर सबैभन्दा धेरै ५० जनाको ज्यान गएको छ भने बाढीमा परेर दुई जनाको ज्यान गएको छ।
मृतकहरूमा पुरुषको सङ्ख्या २९ रहेको छ भने महिलाको १८ रहेको छ। पाँच जना मृतक पुरुष वा महिला को थिए भन्ने नखुलेको बताइएको छ।
बाढी र पहिरोमा परेर हालसम्म ३२ जना बेपत्ता भएका छन् भने घाइतेको सङ्ख्या ५४ रहेको छ।
अन्य क्षति
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार नेपालमा गत जेठ ३१ गते मनसुन सुरु भएयता शनिवार बिहानसम्ममा बाढी र पहिरोका १ सय ५८ वटा घटनाको जानकारी हुन आएको छ।
ती घटनाबाट २ सय ३६ परिवार प्रभावित भएका छन्।
७३ घरमा पूर्ण र १९ घरमा आंशिक क्षति भएको विवरण पनि केन्द्रले दिएको छ।
त्यस्तै ३२ वटा गोठ भत्किएको र ३ सय ७ चौपाया मारिएको केन्द्रले जनाएको छ।

तस्बिर स्रोत, RSS
बाढी र पहिरोको शनिवार बिहानसम्म सङ्कलित विवरण अनुसार करिब एक करोड बराबरको आर्थिक क्षति देखिएको छ।
सतर्कता
केन्द्रका उप-सचिव मुरारी वस्तीले "देशभरिका नदीहरूमा अहिले पानीको सतह बढिरहेको र विभिन्न स्थानमा थप पहिरो गएको" जानकारी आएको बताए।
उनका अनुसार देशका प्रमुख राजमार्गहरूमा पनि बाढी र पहिरोका कारण अवरोधहरू भएका विवरण आएका छन्।
उनले भने, "हामीले पानीको सतह बढेको र पहिरोको जोखिम क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरू सहित स्थानीय सरकारका प्रमुखहरूलाई पनि सतर्क रहन भनेका छौँ। उहाँहरू पनि सतर्क अवस्थामा हुनुहुन्छ।"
शुक्रवार अबेर साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी र पहिरोबाट ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका थिए।

तस्बिर स्रोत, RSS
उनले पीडितहरूको उद्धार तथा राहतका लागि सरकारले कुनै कसर बाँकी नराखेको पनि बताए।
उनले भने, "सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरूको उद्धारमा आवश्यक सुरक्षाकर्मीहरू परिचालित गरिसकेको छ। सङ्घीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको छ र प्रभावितहरूलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको छ।"
यसैबीच शनिवार प्रधानमन्त्री ओलीले विपद् व्यवस्थापन परिषद्को बैठक राखेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
देशभरि बाढी र पहिरोको प्रकोप देखिएपछि ओलीले प्रमुख विपक्षी दलका नेतासमेत रहेको परिषद्को बैठक राखेका हुन्।
मौसमको अवस्था
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वर्षा अझै केही दिन जारी रहनेछ।
महाशाखाले आगामी तीनदिनसम्म देशका विभिन्न भागमा वर्षा हुने जनाएको हो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै "देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको" उल्लेख गरेको छ।
शनिवार बिहान महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, "नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।"








