मनसुन: देशैभरि बाढी र पहिरो, उद्धार र राहतमा स्थानीय सरकारलाई 'सकस'

तस्बिर स्रोत, RSS
लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरो आउँदा जनधनको क्षति भएका विवरणहरू आएका छन्।
राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका उप-सचिव मुरारी वस्तीका अनुसार बिहीवार र शुक्रवारसम्म गरी देशका विभिन्न स्थानमा १३ जनाको मृत्यु भइसको पुष्टि भएको छ। दर्जनौँ बेपत्ता भएका छन्।
विभिन्न स्थानबाट थप बाढी र पहिरोको खबर आउने तथा क्षतिको विवरण सङ्कलन कार्य जारी छ। त्यसैले मृतक, घाइते र बेपत्ताको सङ्ख्या निरन्तर बढिरहेको उनले बताए।
उद्धार र राहतका लागि भने स्थानीय सरकारका प्रतिनिधिले स्रोत र साधनको अभावले समस्या भोगेको गुनासो गरेका छन्।
उनका अनुसार बिहीवार राति कास्कीमा सात र लमजुङमा तीन जनाको पहिरोमा परी मृत्यु भएको छ।
त्यस्तै शुक्रवार सबेरै पहिरोमा परेर म्याग्दीमा एक जनाको ज्यान गएको छ। त्यहाँ ३० जना बेपत्ता भएका छन्।
वस्तीले भने, "म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा पहिरोले ३७ घर भत्किएको विवरण आएको छ।"
"त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि तीन तिरबाट पहिरो गएकाले घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न कठिन भइरहेको छ।"

तस्बिर स्रोत, RSS
यसैगरी रुकुम पश्चिममा पनि पहिरोले पुर्दा दुई जनाको ज्यान गएको छ।
बिहीवार गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको र छ जना घाइतेको उद्धार गरी काठमाण्डू ल्याइएको जनाएको थियो।
पानीको सतह बढ्दो
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार देशैभरका ठूला नदीहरूमा अहिले पानीको तह बढिरहेको छ।
शाखाले अझै केही दिन नदी तटीय क्षेत्रमा खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

तस्बिर स्रोत, RSS
राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विगत दुई दिनमा एक दर्जनभन्दा बढी स्थानमा ठूलाखाले बाढी र पहिरो गइसकेका छन्।
विभिन्न क्षेत्रबाट बाढी र पहिरोको विवरण आउने क्रम जारी रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
वर्षा जारी रहने
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार देशैभरि हल्कादेखि मध्यम र केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले शनिवार र आइतवार पनि वर्षा जारी रहने जानकारी दिएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
शुक्रवार बिहान आगामी २४ घण्टाका लागि महाशाखाले जारी गरेको चेतावनीमा "देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको" जनाइएको छ।
त्यसमा भनिएको छ, "नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
उद्धार तथा विपद् व्यवस्थापन
गृह मन्त्रालयले बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा उद्धार तथा सहायतका लागि जिल्लास्थित निकायहरूलाई खटाइएको जानकारी दिएको छ।
बिहीवार विज्ञप्तीमार्फत् मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भनेका छन्, "अविरल वर्षा भइरहेका कारण खोज, उद्धार, राहत लगायतका कार्यहरूमा कठिनाइ भएता पनि जिल्लास्थित निकायहरू परिचालित भइरहेका छन्।"
"निरन्तर वर्षा भइरहेको हुँदा जोखिममा रहेका नागरिकहरूले उच्च सतर्कता अपनाउनु हुन सम्बद्ध सबैलाई अनुरोध गरिन्छ।"

तस्बिर स्रोत, RSS
अहिले बाढी र पहिरोसहित विपद् व्यवस्थापनका लागि बढी जिम्मेवारी पाएका स्थानीय सरकारका अधिकारीहरूले भने स्रोत र साधनको अभावले गर्दा समस्या उत्पन्न भइरहेको बताएका छन्।
बीबीसीसँग कुराकानी गर्दै गाँउपालिका महासङ्घका केन्द्रीय महासचिव वंशलाल तामाङले स्रोतको अभावमा उद्धार तथा राहतका लागि समस्या उत्पन्न भएको बताए।
उनले स्थानीय सरकारलाई "जिम्मेवारी धेरै तोक्ने तर स्रोत नदिने अवस्था रहेकाले बाढीपहिरोबाट पीडिताका लागि पर्याप्त सहयोग गर्न समस्या पर्नसक्ने" जानकारी दिए।
पहिरोका कारण केही मानिसहरू बेपत्ता भएको म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले पनि भौगोलिक कठिनाइ, प्रतिकूल मौसम र आवश्यक जनशक्तिको अभावका कारण उद्धारमा ढिलाइ भइरहेको बताए।
उनले केन्द्र सरकारको सक्रियतामा मात्र छिटो उद्धार गर्न सकिने तर गाउँपालिकाले पनि सक्दो कोसिस गरिरहेको जानकारी दिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले चाहिँ सबै निकायसँग समन्वयमा उद्धार तथा राहतको कार्य भइरहेको बिहीवार साँझ बीबीसीलाई बताएका थिए।
उनले पहिले उद्धार र राहतमा ढिलाइ भएको गुनासो आउने गरेको भए पनि अहिले त्यस्तो अवस्था नभएको बताए।
क्षतिको अनुमान
पोखरेलका अनुसार यो मनसुनमा नेपालभरि १२ लाख ५० हजार घरपरिबार बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ।
त्यस्तै पहिरोका कारण साढे दुई लाख घर परिवार प्रभावित हुने ठानेर त्यसै अनुसार तयारी गरिएको उनले जानकारी दिए।

तस्बिर स्रोत, RSS
मनसुनका कारण उत्पन्न हुने विभिन्न विपद्का कारण पानीजन्य रोगबाट पनि १५ लाख घरपरिवार प्रभावित हुने प्राधिकरणको अनुमान छ।
उनले मनसुनबाट सिर्जित विभिन्ने खाले विपद्बाट प्रभावित हुनसक्ने कुल परिवारको सङ्ख्या ३० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए।
संवेदनशील क्षेत्र
विपद्का बेला अग्रपङ्तिमा रहेर खट्ने सुरक्षा निकायका अधिकारीहरूले पनि बाढी तथा पहिरो आएपछि सुरक्षाकर्मीहरू परिचालन भइसकेको जानकारी दिएका छन्।
उनीहरूका अनुसार जोखिमको मूल्याङ्कन गरेर विभिन्न क्षेत्रहरूलाई वर्गीकरण गरिएको र त्यसै अनुसार सुरक्षाकर्मी परिचालन गरिनेछन्।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार डुबान र बाढी तथा पहिरोको जोखिमका आधारमा विभिन्न क्षेत्रहरूलाई बढी प्रभावित हुने र संवेदनशील क्षेत्रका रूपमा छुट्याइएको छ।
उनका अनुसार डुबानबाट बढी प्रभावित हुनसक्ने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, बाँके, बर्दिया कैलाली र कञ्चनपुर रहेका छन्।

तस्बिर स्रोत, RSS
त्यस्तै डुबानबाट संवेदनशील अवस्था आउन सक्नेमा दाङ, कपिलवस्तु र रुपन्देहीलाई राखिएको छ।
बाढी र पहिरोबाट बढी प्रभावित हुन सक्नेमा संखुवासभा, धनकुटा, दोलखा, धादिङ, कास्की पाल्पा, रुकुम र दार्चुलालगायतका जिल्ला रहेका छन्।
बाढी र पहिरोका कारण संवेदनशील क्षेत्र बन्न सक्नेमा चाहिँ पाचथर, इलाम, काभ्रे, दाङ सुर्खेत, जुम्ला र डोटीलगायतका जिल्ला छन्।
उनले जोखिम हेरेर विभिन्न क्षेत्रहरूमा आवश्यक सामग्री र जनशक्ति परिचालन भइसकेको जानकारी दिए।
सेनाले विपद् व्यवस्थापनका लागि चार चरणमा फौजको परिचालन गर्ने जानकारी पनि उनले दिए।








