मुल्लाह ओमार: टाउकोको मूल्य तोकिएका तालिबान नेता 'अमेरिकी सैन्य आधारनजिकै बस्थे’

मुल्लाह ओमर
तस्बिरको क्याप्शन, बीबीसीले सन् १९९६ मा गोप्य रूपमा मुल्लाह ओमारको तस्बिर खिचेको थियो

केही वर्षअघि प्रकाशित एउटा पुस्तकले फरार तालिबान नेता मुल्लाह मोहम्मद ओमार अफगानिस्तानस्थित अमेरिकी सैन्य आधार क्षेत्रबाट पैदल दूरीमै बस्ने गरेको दाबी गरेको छ।

लेखिका बेट डमको 'सिक्रेट लाइफ अफ मुल्लाह ओमार' भन्ने पुस्तकमा अमेरिकाले विश्वास गरेको जस्तो पाकिस्तानमा कहिल्यै नलुकेको उल्लेख छ।

बरु उनी आफ्नो गृहप्रदेश जबुलस्थित एउटा प्रमुख 'अमेरिकी फर्वार्ड अपरेटिङ' बेसबाट तीन माइल मात्र टाढा लुकेर बस्थे।

टाउकोको मूल्य

डच पत्रकार डमले आफ्नो पुस्तकका लागि तालिबान सदस्यहरूसँग अन्तर्वार्ता र अनुसन्धान गर्न पाँच वर्ष बिताएकी थिइन्।

अफगानिस्तानमा सन् २००१ मा तालिबान सत्ताको अन्त्य भएपछि ओमार लुकेपछि उनको अङ्गरक्षक बनेका जब्बर ओमारीसँग उनी कुरा गर्न सफल भइन्।

बिरामी परेर सन् २०१३ मा यी तालिबान नेताको मृत्यु नहुँदासम्म ओमारीले नेता मुल्लाह मोहम्मद ओमारलाई लुकाएका थिए।

मुल्लाह ओमार

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, दैनिक काममा संलग्न नभए पनि ओमार तालिबानको नेतृत्वमा थिए

सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणपछि अमेरिकाद्वारा एक करोड डलर टाउकोको मूल्य तोकिएका ओमार अमेरिकी सैन्य आधारनजिकै रहेका घरका कोठाहरूमा लुकेका थिए।

पुस्तकका अनुसार अमेरिकी सेनाले एक पटक उनको निवास खानतलासी गरे पनि उनी लुकेको ठाउँ पत्ता लगाउन विफल भएको थियो।

'सुरुङमा पनि लुके'

त्यसपछि उनी झन्डै एक हजार सुरक्षाकर्मी रहेको अमेरिकी सैन्य आधारबाट तीन माइल टाढाको अर्को भवनमा सरेका थिए।

लडाकुहरूले दाबी गरे पनि ओमारले लुकेको ठाउँहरूबाट तालिबान समूहको सञ्चालन गर्न सकेनन्।

डमको पुस्तक गत महिना डच भाषामा प्रकाशित भएको थियो।

पुस्तकमा उल्लेख भएअनुसार ओमार खोजतलासबाट जोगिन कहिलेकाहीँ सिँचाइको निम्ति बनाइएका सुरुङमा लुक्ने गरेका थिए।

उनको मृत्यु सन् २०१३ को एप्रिल २३ तारिखमा भएको थियो।

के हो तालिबान?

अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

अधिकांश पश्तुन समुदायका व्यक्तिहरू संलग्न रहेको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।

तालिबान

तस्बिर स्रोत, AFP/Getty Images

साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

पश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।

तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।

टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भएको तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो।

त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

अमेरिकी सेना

तस्बिर स्रोत, Getty Images

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।

सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभाग तालिबानको नियन्त्रणमा आइसकेको थियो।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो।

डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।

बिन लादेनसँगको सम्बन्ध

सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो।

न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल-कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो।

सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो।

तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्‍यो।

तालिबान