अफगानिस्तान द्वन्द्वः युद्धमा अमेरिका र साझेदार राष्ट्रको कति पैसा खर्च भयो

कान्दहारमा विदेशी सेना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी सेना सन् २००१ मा अफगानिस्तानमा प्रवेश गरेको थियो
    • Author, रीयालिटी चेक
    • Role, बीबीसी न्यूज

अफगानिस्तानबाट विदेशी सेना स्वदेश फर्किएसँगै तालिबान पुनः काबुलको सत्तामा पुगेको छ।

हामीले अफगानिस्तानमा २० वर्षको सैनिक कारबाहीमा अमेरिका र नेटोका उसका साझेदार राष्ट्रहरूले त्यहाँ गरेका खर्च केलाएका छौँ।

कुन देशका सैनिक परिचालित भए?

सन् २००१ को सेप्टेम्बर ११ मा न्यूयोर्कमा भएको आक्रमणमा नाम मुछिएका ओसामा बिन लादेन र अल-कायदाका अरू नेताहरूलाई संरक्षण दिएको आरोप लगाउँदै तालिबानलाई सत्ताबाट हटाउने उद्देश्यले अमेरिकाले सोही वर्ष अक्टोबरमा अफगानिस्तानमा आक्रमण गरेको थियो।

तालिबान विद्रोहविरुद्धको लडाइँ र पुनर्निर्माणमा वाशिङ्टनले अर्बौँ डलर खर्च गरिरहँदा सन् २०११ मा त्यहाँ परिचालित अमेरिकी सैनिकको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक एक लाख १० हजार पुगेको थियो।

गत साल भने अमेरिकी फौजको सङ्ख्या जम्मा चार हजार मात्रै थियो।

अफगानिस्तानमा अमेरिकी सैनिक. सन् २००२ देखि २०२० सम्म. Chart showing US troop levels in Afghanistan from 2002 to 2019 २०२० को तथ्याङ्क डिसेम्बरसम्मको.
Presentational white space

आधिकारिक तथ्याङ्कमा विशेष कारबाही गर्ने फौजहरू र अरू अस्थायी एकाइहरू सधैँ गणनामा नपरेका हुनसक्छन्।

उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो गठबन्धनका अन्य सदस्य राष्ट्रका सैनिकहरू पनि अफगानिस्तानमा परिचालित भए।

तर त्यहाँ पुगेका अमेरिकी सैनिकको आकारनै सबैभन्दा ठूलो थियो।

नेटोले सन् २०१४ को डिसेम्बरमा आफ्नो सैन्य अभियान टुङ्ग्यायो। तर उसले अफगान सुरक्षाकर्मीको तालिम र प्रतिआतङ्कवाद कारबाहीको समर्थनका लागि १३ हजार जनाको सुरक्षाबल कायम राखेको थियो।

त्यसबाहेक अफगानिस्तानमा उल्लेख्य सङ्ख्यामा अमेरिकाका निजी सुरक्षाकर्मीहरू पनि रहे।

तीमध्ये सन् २०२० को अन्तिम चार महिनासम्मको तथ्याङ्कमा ७,८०० जनाभन्दा बढी अमेरिकी नागरिक रहेको पाइएको अमेरिकी कङ्ग्रेसको अनुसन्धानले देखाएको छ।

कति पैसा खर्च भयो?

अफगानिस्तानको सैन्य कारबाहीमा अधिकांश खर्च अमेरिकाले गरेको छ।

अफगान सैनिक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नेटोले अफगान सेनालाई तालिम दिन सघाएको छ

सन् २०१० देखि २०१२ को बीचमा अफगानिस्तानमा एक लाख जनाभन्दा बढी अमेरिकी सैनिक परिचालित भएको अवस्थामा युद्धको खर्च बढेर एक वर्षमा लगभग एक खर्ब डलर पुगेको अमेरिकी सरकारी तथ्याङ्कले देखाउँछ।

अमेरिकी सेनाले सैन्य कारबाहीको सट्टा तालिमलाई बढी जोड दिन थालेपछि युद्धको खर्च उल्लेख्य रूपमा घटेको थियो।

सन् २०१८ मा वार्षिक खर्च ४५ अर्ब डलर रहेको त्यतिबेला अमेरिकी रक्षा मन्त्रालय पेन्टगनका एक उच्च अधिकारीले अमेरिकी संसद्लाई बताएका थिए।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार अक्टोबर २००१ देखि सेप्टेम्बर २०१९ सम्मको अफगानिस्तानमा गरिएको सैन्य खर्च सात खर्ब ७८ करोड डलर पुगेको छ।

त्यसबाहेक अमेरिकी विदेश मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (यूएसएड) र अरू सरकारी निकायले पुनर्निर्माणका काममा ४४ अर्ब डलर खर्च गरेका छन्।

निर्वाचनमा मतदानकेन्द्र बनाउन सघाउँदै एक अमेरिकी सैनिक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकाले अफगानिस्तानमा पुनर्निर्माणको योजनामा पनि सघाएको छ

त्यसले सन् २००१ देखि २०१९ सम्मको आधिकारिक तथ्याङ्कमा आधारित कुल खर्च आठ खर्ब २२ करोड डलर पुर्‍याउँछ।

तर त्यसमा अमेरिकाले अफगानिस्तानसँग सम्बन्धित कारबाहीका लागि आफ्नो आधारशिविरका रूपमा प्रयोग गर्ने पाकिस्तानमा गरिएको खर्च उल्लेख गरिएको छैन।

अफगानिस्तान र पाकिस्तान दुवैमा युद्धका क्रममा भएको खर्चबारे सन् २०१९ मा ब्राउन यूनिभर्सिटीले गरेको अध्ययनले अमेरिकाले नौ खर्ब ७८ करोड डलर खर्च गरेको देखाउँछ जसमा आर्थिक वर्ष सन् २०२० मा उल्लेख गरिएको अनुमानित खर्चको लागत पनि समाविष्ट थियो।

सरकारी निकायबीच लेखा परीक्षणको प्रणाली फरकफरक भएकाले सम्पूर्ण खर्च विवरण ल्याउन कठिन रहेको उक्त अध्ययनले उल्लेख गरेको छ र त्यसमा समयानुसार खर्च बदलिएकाले अनुमानित खर्चमा पनि परिवर्तन गरेको जनाइएको छ।

अमेरिकापछि सबैभन्दा धेरै सैनिक पठाएका यूके र जर्मनीले क्रमशः ३० अर्ब डलर र १९ अर्ब डलर खर्च गरेका छन्।

लगभग सम्पूर्ण सैनिक फिर्ता गरे पनि अमेरिका र नेटोले सन् २०२४ सम्म अफगानिस्तानको सुरक्षाबललाई बर्सेनि चार अर्ब डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।

यो वर्ष अहिलेसम्म नेटोले सात करोड २० लाख डलर बराबरको उपकरण र सामग्रीहरू अफगानिस्तानलाई दिएको छ।

पैसा कहाँ खर्च भयो?

अफगानिस्तानमा खर्च भएको अधिकांश रकम प्रतिविद्रोह कारबाही र सैनिकका लागि आवश्यक रासन, लत्ता कपडा, स्वास्थ्य सामग्री, भत्ता र सुविधामा खर्च भएको छ।

अफगानिस्तानमा मृत्यु भएका एक सैनिकको शवपेटिका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अफगान सुरक्षाकर्मीहरू ठूलो सङ्ख्यामा हताहत भएका छन्

आधिकारिक तथ्याङ्कले सन् २००२ यता अमेरिकाले पुनर्निर्माणसम्बन्धी काममा एक खर्ब ४३ अर्ब २७ करोड डलर खर्च गरेको देखाउँछ।

त्यसको आधाभन्दा बढी अफगान सेना र प्रहरीसहित सुरक्षाकर्मीका भवन बनाउन खर्च भएको थियो।

झन्डै ३६ अर्ब डलर सुशासन र विकासमा छुट्याइएको थियो भने सानो परिमाणमा लागुपदार्थ नियन्त्रण र मानवीय सहायतामा रकम खर्च गरिएका थिए।

यसमध्ये केही रकम उपयोग नभएको, भ्रष्टाचार र दुरुपयोग गरिएका बताइएको थियो।

सन् २०२० मा अमेरिकी संसद्‌मा प्रस्तुत गरिएको प्रतिवेदनमा अफगानिस्तानको पुनर्निर्माणको अनुगमन गर्न जिम्मेवार एउटा निकायले सन् २००९ को मेदेखि सन् २०१९ को डिसेम्बर ३१ सम्म करिब १९ अर्ब डलरजति 'हराएको' उल्लेख गरेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धः २० वर्षमा कति धनजनको क्षति भयो?

कति मानिसको ज्यान गयो?

तालिबान समूहविरुद्धको युद्ध सन् २००१ मा सुरु भएयता गठबन्धनको तर्फबाट ३,५०० जनाले ज्यान गुमाएका छन्।

तीमध्ये २,३०० भन्दा बढी अमेरिकी सैनिक छन्।

यूकेका ४५० भन्दा बढी सैनिकले पनि ज्यान गुमाएका छन्।

थप २०,६६० अमेरिकी सैनिक घाइते भएका छन्।

तर अफगान सुरक्षा फौज र गैरसैनिक हताहत भएको तुलनामा उक्त सङ्ख्या थोरै हो।

Presentational white space

राष्ट्रपति गनीले सन् २०१९ मा अफगान सुरक्षा निकायका ४५,००० सदस्य आफू राष्ट्रपति निर्वाचित भएको पाँच वर्षयता मारिएको बताएका थिए।

सन् २०१९ मा ब्राउन यूनिभर्सिटीले गरेको अध्ययनले युद्ध सुरु भएयता अफगानिस्तानको राष्ट्रिय सेना र प्रहरी गरी ज्यान गुमाउनेको अनुमानित सङ्ख्या ६४,१०० रहेको जनाएको छ।

समाधिस्थल

तस्बिर स्रोत, Getty Images

अनि संयुक्त राष्ट्रसङ्घको अफगानिस्तानस्थित सहयोग मिशनका अनुसार सन् २००९ यता उसले व्यवस्थित रूपमा गैरसैनिकसम्बन्धी तथ्याङ्क राख्न थालेयता झन्डै एक लाख ११ हजार सर्वसाधारण नागरिकहरू हताहत भएका छन्।