अफगानिस्तान द्वन्द्व: देश छाडेका राष्ट्रपति अशरफ गनीले यूएईमा शरण लिएपछि भने, 'म भागेको हैन'

यूएईको विदेश मन्त्रालयले मानवीयताका आधारमा गनी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यूएईको विदेश मन्त्रालयले मानवीयताका आधारमा गनी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएको छ।

गत आइतवार तालिबान राजधानी काबुलतर्फ अघि बढेपछि गनीले देश छाडेका थिए।

यूएईको विदेश मन्त्रालयले ''मानवीयताका आधारमा'' गनी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ।

बुधवार अबेर जारी गरेको एउटा भिडिओमा गनीले आफू देशबाट नभागेको दाबी गर्दै देशलाई "ठूलो दुर्घटना" बाट बचाउन देश छाडेको बताए।

"रक्तपात र अराजकतालाई रोक्न सकियोस् भनेर अहिलेका लागि म एमिरेट्समा छु," उनले भने।

"हाल म अफगानिस्तान फर्कनेबारे छलफलमा रहेको छु।"

फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो "पूर्ण रूपमा आधारहीन झुट" भएको भन्दै अस्वीकार गरे।

आलोचना

देश छाडेपछि ७२ वर्षीय गनीले अफगानिस्तानका अन्य राजनीतिज्ञले उनको कडा आलोचना गरिरहेका थिए।

अफगानिस्तानको राष्ट्रिय मेलमिलामसम्बन्धी उच्च परिषद्‌का अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले "ईश्वरले उनलाई जबाफदेह बनाऊन् र देशले पनि उनलाई न्याग गर्ने नै छ।"

सोमवारको मन्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडनले पनि देश छाडेर भागेकोमा अफगान सरकारको आलोचना गरेका थिए।

बुधवार अबेर अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मनले सञ्चारकर्मीहरूसँग "गनी अफगानिस्तान अब कुनै व्यक्तित्त्वका रूपमा नरहेको" बताएकी थिइन्।

यद्यपि अमेरिकाले लगातार उनलाई "राष्ट्रपति गनी" भनेर सम्बोधन गरिरहेको छ।

अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानमा औपचारिक रूपमा सत्ता हस्तान्तरण नभएको भन्दै त्यसलाई जारी राखेको हो।

अशरफ गनी

तस्बिर स्रोत, EPA

भिडिओ सन्देशमा गनीले "आफूले जुत्ता पनि लगाउन नसक्ने अवस्थामा" आफूलाई राष्ट्रपति भवनबाट आफ्नो सुरक्षा टोलीले सुरक्षित रूपमा बाहिर निकालेको बताए।

"घटनाक्रम तीव्र रूपमा विकास भयो। म तालिबानसँग मिलेर एउटा समावेशी सरकार बनाउन चाहन्थेँ," उनले भने।

गनीले आफूले तालिबान र आफ्नो प्रशासनका अधिकारीबीच भएको वार्तालाई समर्थन गरेको जनाउँदै त्यस्तो भनेका हुन्।

अन्य देशबाट भागेका वा अपदस्थ भएका कुनै नेतालाई यूएईले सुरक्षित ठाउँ दिएको यो पहिलो घटना भने होइन।

सन् १९९० ताका पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टोले पनि यूएईमा शरण लिएकी थिइन्। पछि उनी फेरि शक्तिमा फर्किइन्।

तर बीबीसीका सुरक्षा संवाददाता फ्र्याक्क गार्डनरका भनाइमा यूएई आफ्नो भूमि राजनीतिक मैदानका रूपमा प्रयोग नहोस् भन्ने चाहन्छ।

यूएईमा ठूलो सङ्ख्यामा अफगान र पाकिस्तानी कामदारहरू काम गर्छन्।

को हुन् अशरफ गनी?

अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए।

उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन्।

उनी देशका चर्चित शिक्षाविद् हुन्।

उनले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताएका थिए।

अफगानिस्तानमा तालिबान सत्ता गएपछि र केही वर्षको युद्धपश्चात् गनी स्वदेश फर्केका थिए।

राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो। तर चाँडै उनलाई चाँडै रिसाउने व्यक्तिका रूपमा पनि चिन्न थालियो।

उनी अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन्।

उनलाई तालिबानले सधैँ अमेरिकाको "कठपुतली" का रूपमा चित्रित गर्ने गरेको छ।

यस वर्षको सुरुमा बीबीसीसँग कुरा गर्दै गनीले तालिबानले सैन्य जित हासिल नगर्ने बताएका थिए।

उनले त्यस बेला भनेका थिए, "यो भियतनाम होइन। यो सरकार ढल्न गइरहेको छैन।"

सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो। तर पछि उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार आयो।

त्यहाँबाट उनी यूएई पुगेका हुन्।

अफगानिस्तान

तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश
Presentational grey line

के हो तालिबान?

अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।

साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।

तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।

टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

तालिबान
भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तानमा चर्कंदो हिंसा

काबुलमा तालिबान शासन

दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।

सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।

तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।

तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।

दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।

बिन लादेनसँगको सम्बन्ध

सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो।

न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल-कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो।

सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो।

तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्‍यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धमा ज्यान गुमाउने को हुन्?