अफगानिस्तान युद्ध: अमेरिकाको दुई दशक लामो युद्ध बुझाउने १० प्रश्नका उत्तर

सन् २००१ मा भएको आतङ्कवादी हमलायता अफगानिस्तानको युद्धमा अमेरिकाले लडाइ गरिरहेको छ

तस्बिर स्रोत, BBC/Getty Images

२० वर्ष लामो द्वन्द्वपछि अमेरिकाले अफगानिस्तानबाट आफ्ना फौज फिर्ता गरेको छ।

अमेरिका र उसका सहयोगीका लागि तालिबान र अल-कायदाविरुद्धको लडाइँमा बागराम हवाईआधार केन्द्रबिन्दु रहँदै आएको थियो।

अमेरिकी नेतृत्वको गठबन्धन फौजहरू सन् २००१ को डिसेम्बरमा अफगानिस्तान गएका थिए र त्यहाँ १०,००० सेना बस्न सक्ने क्षमताको शिविर खडा गरेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ सम्म सबै अमेरिकी फौज फर्किने वाचा गरेपछि अमेरिकी सैनिक त्यहाँबाट फिर्ता हुन थालेका छन्।

यसैबीच तालिबानले अफगानिस्तानका थुप्रै क्षेत्रमा अघि बढ्दै दर्जनौँ जिल्लालाई आफ्नो नियन्त्रणमा लिने काम जारी राखेको छ।

यो युद्ध जनधनको क्षतिको हिसाबले अत्यन्तै महँगो साबित भएको छ।

तर यो युद्ध के थियो? किन गरिएको थियो? के अमेरिकाले अपेक्षा गरेको नतिजा हासिल गर्यो?

१. किन अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्‍यो?

सन् २००१ को सेप्टेम्बर ११ मा भएका हमलाहरूमा झन्डै ३,००० अमेरिकी मारिए।

त्यति बेला विमान अपहरण गरेर न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा र भर्जिनियाको पेन्टागनमा ठोक्काइएको थियो। चौथो विमान भने पेन्सिलभेनियाको खेतमा दुर्घटना भएको थियो।

ती घटनाका लागि इस्लामवादी आतङ्कवादी समूह अल-कायदाका प्रमुख ओसामा बिन लादेन जिम्मेवार रहेको पहिचान गरिएको थियो।

कट्टर इस्लामवादी तालिबान जसले अफगानिस्तानमा शासन गरिरहेको थियो उसले बिन लादेनलाई जोगायो र हस्तान्तरण गर्न अस्वीकार गर्‍यो।

सो घटना भएको एक महिनापछि अमेरिकाले दुवै समूहलाई हराउन अफगानिस्तानविरुद्ध हवाई हमला सुरु गर्‍यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धमा ज्यान गुमाउने को हुन्?

२. त्यसपछि के भयो?

अमेरिका, उसका अन्तर्राष्ट्रिय र अफगान साझेदारहरूले गरेका हमलाको दुई महिनापछि तालिबानको शासन ढल्यो र उसका लडाकुहरू अफगानिस्तानबाट ओझेल भएर पाकिस्तानतर्फ गए।

तर उनीहरू त्यहाँ हराएनन्, उनीहरूको प्रभाव फेरि बढ्यो र पुन: फिर्ता आए।

लागु औषधको व्यापार, खानी र करहरूबाट उनीहरूले वार्षिक रूपमा करोडौँ डलर कमाउन थाले।

सन् २००४ मा अमेरिकी समर्थन रहेको नयाँ सरकार बन्यो तर त्यसपछि तालिबानका घातक हमलाहरू वर्षैभरि जारी रहे।

अफगान सेनासँग काम गरिरहेका अन्तर्राष्ट्रिय फौजले पुनः सक्रिय बनेको समूहले दिएका चेतावनीविरुद्ध लड्न सङ्घर्ष गर्नुपर्‍यो।

द्वन्द्वका कारण अफगानिस्तानलाई सेना र सर्वसाधारण दुवै तर्फ धेरै क्षति पुग्यो।

अमेरिका अब भने आफ्नो लामो युद्ध अन्त्य गर्न चाहन्छ

तस्बिर स्रोत, Getty Images

३. त्यसो भए अफगानिस्तानको समस्या सन् २००१ मा सुरु भएको हो?

छोटो जवाफ: होइन।

अमेरिकाले आफ्नो सेना पठाउनुभन्दा अगाडि नै अफगानिस्तानमा दशकौँदेखि निरन्तर रूपमा युद्ध हुँदै आएको थियो।

सन् १९७० को दशकको अन्त्यतिर कम्युनिस्ट सरकारलाई समर्थन गर्न सोभियत सेना अफगानिस्तानमा प्रवेश गरेको थियो।

उसले मुजाहिदिन विद्रोही समूहविरुद्ध लडेको थियो। उक्त आन्दोलनलाई अमेरिका, पाकिस्तान, चीन, साउदी अरेबियालगायत देशले समर्थन गरेका थिए।

सोभियत सेना सन् १९८९ मा फर्कियो तर गृहयुद्ध भने जारी रह्यो। त्यसकै बीचमा तालिबानको उदय भयो।

४. तालिबानले त्यति धेरै प्रभाव कसरी जमायो?

सन् १९९० को दशकको सुरुतिर उत्तरी पाकिस्तान र दक्षिण-पश्चिम अफगानिस्तानको सीमा क्षेत्रमा तालिबानको उदय प्रभावशाली बन्दै गयो।

उनीहरूले भ्रष्टाचारविरुद्ध लड्ने र अफगानिस्तानको गृहयुद्धको असरसँग जुधिरहेका धेरैलाई सुरक्षामा सुधार गर्ने वाचा गरे।

उनीहरूले छिट्टै आफ्नो प्रभाव फैलाए र इस्लामवादी सजायहरू जस्ता हत्या वा चोरी वा व्यभिचारीमा दोषी पाइएकालाई सार्वजनिक मृत्युदण्डको व्यवस्थालाई समर्थन गरे र व्यवहारमा ल्याए।

त्यस्तो व्यवस्था अन्तर्गत पुरुषहरूले दाह्री पाल्नुपर्थ्यो भने महिलाहरूले अनुहारदेखि शरीर सबै छोप्ने बुर्का लगाउनुपर्थ्यो।

तालिबानले टेलिभिजन, सिनेमा, सङ्गीतमाथि पनि प्रतिबन्ध लगाए र १० वर्ष उमेरमाथिका छोरीहरूलाई विद्यालय जानबाट रोके।

तालिबानले पुन शक्ति हातमा लियो भने महिलाहरू शिक्षाबाट बञ्चित हुने आशङ्का व्यक्त गरिएको छ

५. त्यसो भए तालिबान कहिल्यै अन्यत्र गएकै थिएन?

गएको दुई दशकमा तालिबान पछाडि हटेका थिए र कहिल्यै पूर्ण ध्वस्त भएका थिएनन्।

अफगानिस्तानमा सन् २००१ यताकै सबैभन्दा रक्तपातपूर्ण भएको वर्ष सन् २०१४ को अन्त्यमा अन्तर्राष्ट्रिय फौजहरूले आफ्नो सैन्य अभियान अन्त्य गर्‍यो।

अफगानिस्तानमा अनिश्चित कालसम्म बस्नु पर्नेतर्फ सावधानी अपनाउँदै उक्त अभियान अन्त्य गरेर तालिबानसँग लड्न अफगान सेनालाई छोडिएको थियो।

तर त्यसले तालिबानलाई मौका दियो।

उनीहरूले सरकार र सर्वसाधारणलाई निशाना बनाएर अगाडि बढ्ने र भूभाग कब्जा गर्न थाले।

सन् २०१८ मा अफगानिस्तानको ७० प्रतिशत भूभागमा तालिबान खुल्ला रूपमा सक्रिय रहेको बीबीसीले पत्ता लगाएको थियो।

अफगानिस्तानमा अमेरिकी सेना. सन् २००२ देखि २०२० सम्म अफगानिस्तानमा रहेका अमेरिकी सैनिक सङ्ख्या. अफगानिस्तानमा अमेरिकी सेना सन् २०२० को डिसेम्बरमा उपलब्ध तथ्याङ्क .

६. युद्धको मूल्य?

युद्धका क्रममा महिला र पुरुष गरेर अमेरिकाका २,३०० सैनिक मारिए भने २०,००० भन्दा बढी घाइते भए। ब्रिटेनका ४५० भन्दा बढी र अन्य देशका सयौँ मारिएका छन्।

तर हताहत हुनेमा अफगानिस्तानका मानिसहरू सबैभन्दा धेरै भए। केही अध्ययनले ६०,००० भन्दा बढी सुरक्षा फौजका सदस्यहरू मारिएको दाबी गरेका छन्।

सन् २००९ बाट संयुक्त राष्ट्रसङ्घले विवरण राख्न थालेयता झन्डै १,११,००० सर्वसाधारणको मारिएका छन्।

एउटा अध्ययन अनुसार युद्धका कारण अमेरिकाको झन्डै एक खर्ब डलर खर्च भएको छ।

अफगानिस्तानमा भएको दुई दशक लामो द्वन्द्वले थुप्रै पीडादायी मुल्य चुकाएको छ

तस्बिर स्रोत, Reuters

७. तालिबानसँग सम्झौता के हो?

सन् २०२० को फेब्रुअरीमा अमेरिका र तालिबानले अफगानिस्तानमा "शान्ति ल्याउनका लागि सम्झौतामा" हस्ताक्षर गरे।

उक्त सम्झौता अन्तर्गत अमेरिका र उसका साझेदारहरूले आफ्ना फौज फिर्ता गर्न सहमति जनाए।

तर त्यो सहमतिका लागि उनीहरूले तालिबानले अल-कायदा वा अन्य कुनै अतिवादी समूहलाई उनीहरूको नियन्त्रण रहेको क्षेत्रमा गतिविधि गर्न नदिने सम्झौता गराएका थिए।

गत वर्ष वार्ता हुँदै गर्दा तालिबान र अफगान सरकार दुवैले एक-अर्काका बन्दी रिहा गरेका थिए।

करिब ५,००० तालिबान लडाकुहरू उक्त सम्झौतापछि रिहा भए।

अमेरिकाले तालिबानविरुद्ध लगाएका प्रतिबन्धहरू हटाउने र उक्त समूहविरुद्ध लगाइएका छुट्टाछुट्टै प्रतिबन्ध हटाउन संयुक्त राष्ट्रसङ्घसँग काम गर्ने वाचा गर्‍यो।

अमेरिकाले अफगान सरकारको उपस्थितिबिना नै तालिबानसँग प्रत्यक्ष रूपमा वार्ता गर्‍यो।

"यतिका वर्षपछि अब हाम्रा मानिसहरूलाई घर फर्काउने समय आएको छ," तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका थिए।

८. के सबै अमेरिकी सैनिक फर्कँदै छन्?

अमेरिका र नेटोका बाँकी रहेका फौजहरू बागराम हवाई आधारबाट बाहिरिएका छन् र त्यहाँको सुरक्षाको जिम्मा अफगान सरकारलाई छोडेका छन्।

समाचारसंस्था एपीका अनुसार करिब ६५० अमेरिकी सेना अफगानिस्तानमै रहने ठानिएको छ।

मुख्य गरी त्यहाँ रहेका कूटनीतिज्ञ र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि उनीहरू रहने ठानिएको हो।

भूपरिवेष्टित देशमा यातायातका लागि काबुल विमानस्थल असाध्यै महत्त्वपूर्ण रहेको छ।

९. अहिलेको अवस्था के छ?

सम्झौता भएयता तालिबानले सहरमा र सेनाका जाँच केन्द्रमा गर्ने जटिल खालका हमलादेखि निशानायुक्त हत्याको लहर ल्याउँदा त्यसले अफगान नागरिकहरू आतङ्कित भएका छन्।

विदेशी शक्ति फिर्ताको पूर्वसन्ध्यामा तालिबानले ठूलो भूभाग आफ्नो कब्जामा लिँदै गएको छ र त्यसले काबुलस्थित सरकार ढल्ने हो कि भन्ने आशङ्का बढेको छ।

अल-कायदाले अफगानिस्तानमा आफ्ना कारबाहीहरू जारी राखेको छ भने इस्लामिक स्टेट समूहका लडाकुहरूले पनि आक्रमण गरिरहेका छन्।

काबुलको भविष्यबारे चिन्ताहरू बढिरहेका छन् तर अफगान राष्ट्रपति असरफ गनीले देशको सुरक्षा फौज पूर्णरूपमा सक्षम रहेको भन्दै आश्वस्त पारेका छन्।

ट्रक बम हमलापछि काबुल अस्पतालबाहिर शौक मनाइरहेका महिला

तस्बिर स्रोत, Reuters

१०. अफगानिस्तानमा दुई दशक: के त्यो आवश्यक थियो?

"यसको जवाफ तपाईँले के को मापन गर्नुहुन्छ भन्नेमा भर पर्छ," बीबीसीका सुरक्षा संवाददाता फ्राङ्क गार्डनर भन्छन्।

वरिष्ठ सुरक्षा स्रोतले युद्ध सुरु भएयता अफगानिस्तानले योजना गरेको कुनै पनि अन्तर्राष्ट्रिय आतङ्कवादी हमलाहरू सफल नभएको बीबीसीलाई बताएका छन्।

"त्यसैले अन्तर्राष्ट्रिय प्रतिआतङ्कवादी उपायहरू हेर्दा पश्चिमा सेना र सुरक्षा फौजको उपस्थिति उनीहरूको उद्देश्यमा सफल भएका छन्," गार्डनरले भने।

तर २० वर्ष पुग्दा तालिबानले भने एउटा लामो यात्रा तय गरेको छ र डरलाग्दो लडाकु शक्ति बनेको छ।

गठबन्धन भित्रिएयता गत जुनमा सबैभन्दा खराब हिंसाका घटना भएको छ जसमा सयौँले ज्यान गुमाएका छन्।

र निकै कठिन रूपमा प्राप्त भएका उपलब्धिहरू पनि खतरामा परेका छन्। विद्यालय र सरकारी भवनलगायत थुप्रै भत्किएका वा पूर्ण रूपमा ध्वस्त भएका छन्।

"अल-कायदा, इस्लामिक स्टेट आईएस र अन्य लडाकु समूहहरू हराएका छैनन्, उनीहरू पुनः जागृत भएका छन् र बाँकी रहेका पश्चिमा फौजको पनि प्रस्थान नजिकिएका बेला प्रोत्साहित भएका छन्," गार्डनरले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ओलिम्पिक्स: ‘महिला भएका कारण तालिबानले मलाई साइकल चलाउन दिँदैन’