बाग्रामः अन्तिम अमेरिकी तथा नेटो सैनिकहरू महत्त्वपूर्ण अफगान अखडाबाट बाहिरिए

तस्बिर स्रोत, Reuters
अफगानिस्तानको बाग्राम हवाई अखडाबाट अमेरिका र नेटोका अन्तिम सैनिकहरू बाहिरिएका छन्।
उक्त सैन्य अखडा उग्रवादीहरू विरुद्धको झण्डै २० वर्ष लामो युद्धको केन्द्र रहेको थियो।त्यहाँबाट भएको यस्तो सैन्य फिर्तीको सङ्केत अब अफगानिस्तानबाट चाँडै नै सम्पूर्ण विदेशी सैन्य बाहिरिने समय नजिकै आएको भन्ने रहेको देखिन्छ।राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखसम्ममा सबै अमेरिकी सैन्य त्यहाँबाट बाहिरिसक्ने बताएका छन्।तर काबुलको उत्तरमा अवस्थित उक्त विशाल सैनिक अखडाबाट खाली गरिँदा अफगानिस्तानको मुख्य उग्रवादी समूह तालिबानले देशका विभिन्न भागमा कब्जा गर्दै गइरहेको छ। ११ सेप्टेम्बरको समयसीमा अमेरिकामा सन् २००१ मा भएको भएको हमलाको वार्षिकी हो जुन घटनामा झण्डै तीन हजार जनाको ज्यान गएको थियो।

तस्बिर स्रोत, Reuters
हमला
सो हमला एक अन्तर्राष्ट्रिय जिहादी समूह अल-कायदाले गराएको थियो र त्यसबेला उक्त समूहको आधार अफगानिस्तानमा थियो।
उनीहरूलाई देशमा सन् १९९० को दशकदेखि नै नियन्त्रण कायम गरेका तालिबानको समर्थन थियो।
ती दुवै समूहलाई परास्त गर्न सोही वर्षको केहीपछि अमेरिकी नेतृत्वको गठबन्धन सैन्यले अफगानिस्तानमा आक्रमण गरेको थियो।
अब अमेरिका आफू संलग्न सबैभन्दा लामो युद्धको अन्त्य गर्न चाहन्छ जुन क्रममा जनधनको ठूलो क्षति हुन पुगेको थियो। त्यहाँको सुरक्षाको जिम्मा अब अफगान सरकारलाई दिइनेछ।
केही अघिसम्म २,५०० देखि ३,५०० सम्म अमेरिकी सैनिकहरू अफगानिस्तानमा अझै रहेका भन्ने ठानिएको थियो। अब त्यहाँ १,००० भन्दा कम अमेरिकी सैनिकहरू रहनेछन्।
गत मे महिनासम्म अन्य गठबन्धनका ७,००० जति सैनिकहरू रहेका थिए। तर तीमध्ये धेरै घर फर्किसकेका ठानिएको छ।
जर्मनी र इटलीले बुधवार नै आफूहरूको अफगान सैन्य अभियान समाप्त भएको घोषणा गरेका थिए।यसैबीच विदेशी सैनिकहरूको फिर्तीबाट हौसिएको जस्तो देखिएको तालिबानले देशका दर्जनौँ जिल्लालाई आफ्नो कब्जामा लिएको छ।
सबै विदेशी सैनिकहरू फर्किसकेपछि त्यहाँ नयाँ गृहयुद्ध सुरु हुन सक्ने चिन्ता पनि व्यक्त भइरहेका छन्।बाग्राम किन महत्त्वपूर्ण छ? उक्त हवाई अखडा काबुलको ४० किलोमिटर उत्तरमा रहेको छ र नजिकैको गाउँको नाममा यसको नामाकरण गरिएको हो। त्यसको निर्माण मस्कोले सन् १९८० को दशकमा तत्कालीन सोभियत सङ्घले अफगानिस्तानलाई कब्जामा लिएका बेला गरेको थियो।
सन् २००१ को डिसेम्बरमा अमेरिकी नेतृत्वको गठबन्धन सैन्य त्यहाँ प्रवेश गरेका थिए। र त्यसपछि त्यो ठाउँलाई १०,००० सैनिकहरू बस्न सक्ने विशाल सैनिक अखडामा रूपान्तरण गरिएको थियो।त्यहाँ दुईवटा रनवे छन् र सबैभन्दा पछि बनाइएको रनवेको लम्बाई ३.६ किलोमिटर छ।

तस्बिर स्रोत, BBC Sport
त्यहाँ ठूला कार्गो विमान र बम्बर लडाकु विमानहरू सहजै अवतरण गर्न सक्छन्।
त्यहाँ ११० वटा विमान पार्क गर्न मिल्ने ठाउँ छ र त्यसको सुरक्षा ठूला विस्फोटहरू पनि छेक्न सक्ने पर्खालहरूले गरेका छन्।त्यहाँ ट्रमा उपचार गर्न मिल्ने व्यवस्थासहित ५० शय्याको अस्पताल पनि छ।
तीनवटा अपरेटिङ थिएटर र एउटा आधुनिक डेन्टल क्लिनिक पनि रहेको एशोसिएटेड प्रेसले जनाएको छ।








