सेप्टेम्बर ११ अघि सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने

अफगानिस्तान

अमेरिकी अधिकारीहरूले त्यहाँका सञ्चारमाध्यमलाई राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणा गर्न गइरहेको बताएका छन्।

गत वर्ष तालिबान र ट्रम्प प्रशासनबीच भएको सम्झौताअनुसार अमेरिकी सैनिकहरूले आगामी मे महिनासम्ममा अफगानिस्तान छाड्नुपर्ने थियो।

आगामी सेप्टेम्बर ११ तारिखमा अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको २० वर्ष पुग्दैछ।

तालिबानलाई चेतावनी

राष्ट्रपति बाइडनले पहिले मे १ तारिखको समयसीमामा सैनिकहरू फिर्ता गर्ने कार्य सक्न कठिन हुने बताएका थिए।

अमेरिकी र नेटो अधिकारीहरूले तालिबानले सम्झौताअनुसार हिंसा कम गर्न गरेको बाचा अहिलेसम्म पूरा नगरेको बताएका छन्।

सञ्चारमाध्यमसँग कुरा गर्दै एकजना वरिष्ठ अधिकारीले यदि सैन्य फिर्तीका क्रममा तालिबानले अमेरिकी सैनिकमाथि हमला गरेमा त्यसको कडा प्रतिउत्तर दिने चेतावनी दिए।

ती अधिकारीका अनुसार बाइडनले हतारमा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्नु खतरनाक पनि हुनसक्ने ठानेका छन्।

2px presentational grey line

बुधवार राष्ट्रपतिको घोषणा

अफगानिस्तानबाट सेना फिर्ता गर्नेबारे राष्ट्रपति बाइडनले बुधवार स्वयम्‌ घोषणा गर्नेछन्।

अमेरिकी नेतृत्वमा यसै महिनाको अन्त्यमा टर्कीमा हुन लागेको शान्ति सम्मेलनमा अफगान सरकार र तालिबान सहभागी हुने खबर आएको केही घण्टामै अमेरिकाले सैन्य फिर्तीको घोषणा गरेको हो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोयड अस्टिनले बुधवार बेल्जियमको राजधानी ब्रसल्समा उक्त निर्णयबारे नेटो सदस्य राष्ट्रहरूलाई जानकारी दिनेछन्।

अफगानिस्तानमा २० वर्षदेखि जारी युद्धमा दुई हजारभन्दा बढी अमेरिकी सैनिकहरू मारिइसकेका छन्।

अमेरिकाको यो सबैभन्दा लामो लडाइँमा कैयौँ खर्ब डलर रकम खर्च गरिसकेको छ।

2px presentational grey line

सम्झौता

गत वर्ष तालिबान र अमेरिकाबीच एउटा सम्झौता भएको थियो।

त्यस अनुसार तालिबानले हिंसा रोकेको चौध महिनाभित्र अमेरिकाले आफ्ना सबै सेनाहरू फिर्ता बोलाउनुपर्ने थियो।

तालिबान र अफगानिस्तानको सरकारबीच वार्ता चलिहरेको छ।

तर अहिलेसम्म कुनै सम्झौता हुन सकेको छैन।

तालिबानले सरकारसँग आफ्ना हज्जारौँ लडाकुको रिहाईको माग राखेको छ।

तालिबानले विदेशी सुरक्षा फौजमाथिको हमला रोके पनि अफगानी सुरक्षाकर्मीमाथि हमला जारी राखेको छ।

गत महिना तालिबानले मे १ तारिखपछि विदेशी सैनिकमाथि पनि हमला सुरु गर्ने चेतावनी दिएको थियो।

दीर्घकालीन सम्झौता नभइकन विदेशी सैनिक फिर्ता जाँदा अफगानिस्तानमा तालिबानले फेरि सत्ता कब्जा गर्नसक्ने आशङ्काहरू व्यक्त भइरहेका छन्।

हाल अफगानिस्तानमा नेटकोका करिब ९,६०० सैनिकहरू रहेका छन् त्यसमा २,५०० अमेरिकी सैनिक छन्।

2px presentational grey line