अफगानिस्तान: किन तालिबानविरुद्ध 'प्रोपगान्डा'मा महिलामाथि क्रूर हिंसा प्रयोग गरिन्छ

तस्बिर स्रोत, GETTY IMAGES
एकजना महिला प्रहरी अधिकृतमाथि भएको जघन्य आक्रमणले विश्वमा महिलाको निम्ति सबैभन्दा खतरनाक देश अफगानिस्तान हो भन्ने कुरा उदाङ्गो पारिदिएको छ। सरकारले त्यस्ता घटनाको दोष तालिबानमाथि लगाए पनि यथार्थ के हो?
अफगानिस्तानमा महिला प्रहरी अधिकृत खातिराले देशको रक्षा गर्ने आफ्नो चाहनाको निकै ठूलो मूल्य चुकाउनु पर्यो।
गजनी सहरस्थित घरमा उनी काम सकेर फर्किँदै थिइन् जब दुईजना मानिस मोटरसाइकलमा र एकजना पैदल आए।
"पैदल हिंडिरहेकाले गोली हान् भनेर चिच्याए," बीबीसीसँग उनले भनिन्, "म उनीहरूलाई चिन्दिन, उनीहरूले मेरो घरनजिकै ममाथि आक्रमण गरे।"
उनी घोप्टो परेर जमिनमा ढलिन् र अस्पतालमा ब्युँतिइन्। उनको आँखामा गम्भीर चोट थियो।
उनले सुनाइन्, "मलाई निकै दुखिरहेको थियो, हेर्न सक्दिन थिएँ, डाक्टरहरूले आँखामा चोट लागेकाले मैले आँखा खोल्न नसकेको बताए।"
उनलाई एक महिनापछि फेरि परीक्षणमा आउन भनियो। जाँदा पत्तो पाइन कि अब उनले कहिल्यै आँखा देख्न सक्ने छैनन्।
'प्रोपगान्डा युद्ध'
यो घटना चार महिना पहिले भएको थियो तर सरकारको ध्यान बल्ल पुगेको छ।
गृहमन्त्री मसुद अन्दरबिले खातिरालाई अक्टोबर ६ तारिखमा भेटेर घर र उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले अपराधको दोष तालिबानमाथि लगाउँदै ट्वीट गरे, "तालिबानले बलको भरमा यो देशलाई टुक्र्याउन सक्दैनन्।"
तालिबानले भने आरोप अस्वीकार गरेको छ।
बीबीसी अफगान सेवाकी सम्पादक मीना बक्तशका अनुसार परम्परा र आधुनिकताको बीचको सङ्घर्षमा चेपिएको देशमा द्वन्द्व राजनीतिसँग मात्र जोडिदैन।
उनी भन्छिन्, "अफगान सरकारले आरोप तालिबानमाथि लगाउँछ र तालिबानले अस्वीकार गर्छ। यस्तो बेला गरिबी, समाजको पछौटेपन, परम्परा र महिलाको अधिकारको कसैले वास्ता गर्दैन।"
उनका भनाइमा खातिराको जस्तो पीडाका कथा सरकार र तालिबानबीच पोपगान्डा युद्धको निम्ति प्रयोग हुने गरेका छन्।
खातिरामाथि आक्रमण हुँदा त्यसको चर्चा भएन। बीबीसीले उनको अन्तर्वार्ता गरेपछि र गृहमन्त्रीलाई प्रतिक्रियाको निम्ति आग्रह गरिएपछि चर्चा चुलियो।
"हरेक दिन दर्जनौँ युवतीहरू हिंसाको शिकार हुन्छन्। नाक र कान काटिन्छ। पिटिन्छ र यातना दिइन्छ," बक्तश भन्छिन्।
"सिगरेटको ठूटो हात र खुट्टामा डामिएको छाप बोकेका किशोरीहरूका थुप्रै कथा छन, तर त्यी विषय समाचार शीर्षक बन्दैनन्।"
महिलाको निम्ति खतरनाक ठाउँ
अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामले अफगानिस्तान महिलाको निम्ति निकै खतरनाक देशहरूमध्ये एक भएको बताएको छ।
गजनी, कुन्दुज र काबुल प्रान्तहरूमा हालै महिला अधिकृतहरूलाई निशाना बनाइएको छ।
बक्तशको भनाइमा सञ्चारमाध्यममा नआउँदासम्म त्यस्ता घटनाबारे खासै ध्यान दिइन्न।
उनी भन्छिन्, "सरकारले तालिबानमाथि आरोप लगाउँछ, तर त्यसो गरिरहँदा उसले पीडितको सुरक्षा गर्न नसकेको कुरा स्वीकार गर्दैन।"
खातिराका बुवालाई पक्राउ गरिएको छ र अपराध गर्न लगाएको आरोप लगाइएको छ। छोरीका अनुसार उनले काम नगरून् भन्ने बुवाको चाहना थियो त्यसैले उनीहरू अलग्गिएका थिए।
गृहमन्त्रीले उनका बुवा तालिबानका सदस्य रहेको आरोप लगाएका छन्। तर गजनीको प्रहरीले उनी एक सामान्य नागरिक भएको बताएको छ।
काबुलस्थित अस्पतालमा उपचार गराएपछि खातिरा गजनी फर्किएकी छन्।
चोटपछि पनि उनले आफू काममा फर्किन चाहेको बताएकी छन्। तर अधिकारीहरूले सङ्कोच मानिरहेका छन्।
"उनीहरूले तिमी दृष्टिबिहीन, काम गर्न सक्दैनौ, अवकास लिनुपर्छ भने, मैले अवकास लिन्न भन्ने जवाफ दिएँ।"
उनी उपचार पाएपछि निको भएर प्रहरी अधिकृतकै रूपमा फर्किन दृढ छिन्।
"मैले आफूलाई प्रमाणित गर्न र देशको सेवा गर्न काममा फर्किनु मेरो सबैभन्दा ठूलो महत्वाकाङ्क्षा हो।"









