अफगानिस्तान: तालिबानसँग ‘ऐतिहासिक’ शान्ति वार्ता सुरु

तस्बिर स्रोत, Reuters
महिनौँको ढिलाइपश्चात् अफगान सरकार तथा तालिबान विद्रोही समूहबीचको पहिलो प्रत्यक्ष शान्ति वार्ता कतारको राजधानी दोहामा शनिवार सुरु भएको छ।
उद्घाटन सत्रमा उपस्थित हुन दोहातर्फ जाँदै गर्दा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ दुईपक्षबीचको वार्तालाई 'ऐतिहासिक' भनेका छन्।
फेब्रुअरीमा अमेरिका र तालिबानबीच सुरक्षा समझदारी भएलगत्तै यो वार्ता हुने ठानिएको थियो।
तर बन्दीहरूको आदानप्रदानबारे भएको विवादास्पद समझदारी लागु गर्ने विषयले वार्ता अगाडि बढ्न सकेन। साथै अफगानिस्तानमा हिंसा पनि जारी रह्यो। त्यहाँ चार दशकदेखिको युद्ध गतिरोधको अवस्थामा छ।
अफगान सरकारको टोली वार्तामा भाग लिन सेप्टेम्बर ११ मा दोहातर्फ लाग्यो। यो त्यही मिति हो जुन मितिमा १९ वर्ष पहिले अमेरिकामा आतङ्कवादी हमला भएपश्चात् अफगानिस्तानमा तालिबानको शासन अन्त्य हुन पुग्यो।
अफगान सरकारी टोलीका नेता अब्दुल्ला अब्दुल्लाले आफूहरूले 'न्याय र सम्मानपूर्ण शान्ति' खोजेको बताएका छन्।
अन्तिम ६ जना बन्दी रिहा भएपछि विहीबार तालिबान समूहले वार्तामा भाग लिने जनाएको थियो।
के हुन्छ शान्ति वार्ताबाट?
दशकौँदेखिको द्वन्द्व अन्त्य गर्ने उद्देश्य राखिएको शान्तिवार्ताको मध्यस्थता अमेरिकाले गरेको छ।
अमेरिकी विदेशमन्त्री पोम्पेओले यो अति नै महत्त्वपूर्ण क्षण भन्दै यसले अफगान नागरिकलाई निर्भरताको जञ्जीरबाट फुत्काउनसक्ने बताए।

तस्बिर स्रोत, Reuters
अफगान टोली नेता अब्दुल्ला अब्दुल्लाले ४२ वर्षदेखिको उथलपुथल साम्यपार्ने समय आएको बताए। उनले वाक् स्वतन्त्रता तथा महिला अधिकारको सम्मान गरिनुपर्ने पनि बताए।
तालिबान समूहका राजनीतिक प्रमुख मुल्ला बरादरले उनको समूहले अफगानिस्तानलाई इस्लामिक प्रणाली सहित स्वतन्त्र देशको रूपमा हेर्न चाहेको बताए।
दोहामा सुरु भएको भेटघाट अफगान सरकार तथा तालिबानका प्रतिनिधिबीचको पहिलो प्रत्यक्ष भेटघाट हो। हालसम्म विद्रोहीहरूले अफगान सरकारलाई शक्तिहीन अमेरिकी कठपुतली भन्दै वार्ता गर्न अस्वीकार गर्दै आएका थिए।
सन् १९७९ मा सोभियत अतिक्रमणपश्चात् सुरु भएको दशकौँ लामो हिंसालाई राजनीतिक मेलमिलापबाट अन्त्य गर्न दुई पक्षले खोजिरहेका छन्।
यो कुराकानी मार्चमै सुरु हुने भनिएता पनि बन्दी आदानप्रदान विवादका कारण स्थगित भएको थियो।
शान्तिवार्ताप्रति आशाको साथसाथै कतिपय माझ आशङ्का पनि छ। शान्तिको नाममा कतै भर्खरै हासिल गरिएको तर अझै कमजोर अवस्थामा रहेको महिला अधिकारको बलि चढाइने पो हो कि भन्ने कतिपयले ठानेका छन्। हालसम्म तालिबानले आफ्नो राजनीतिक 'भिजन' प्रस्ट पारेको छैन। उसले केवल इस्लामिक प्रणाली र समावेशीका कुरा गरेको छ।
बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय सम्वाददाता लिज डुसेट भन्छिन्, "यो एउटा लम्बेतान प्रक्रियाको सुरुवात हो जसको सफलता सुनिश्चित छैन। तर अन्त्यहीन युद्धको अवस्थाका माझ यो सुरुवात नै पनि केही चाहिँ पक्कै हो।"








