अफगानिस्तान आक्रमण: बन्दुकधारीद्वारा अस्पतालमा आक्रमण गर्दा १४ जनाको मृत्यु

तस्बिर स्रोत, AFP
अफगानिस्तानको राजधानी काबुलमा एउटा अस्पतालमा भएको आक्रमणमा दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको छ।
उक्त आक्रमणमा थप १५ जना घाइते भएको जनाइएको छ।
अधिकारीहरूले सुरूमा शृङ्खलाबद्ध बम विस्फोटनबाट सुरू भएको हमलामा पछि बन्दुक आक्रमण गरिएको उल्लेख गरेका छन्।
हमलाको समयमा अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले बीबीसीलाई त्यसबेला चिकित्सक र नर्ससहित १ सय ४० जना जति अस्पतालमा रहेको जानकारी दिए।
विदेशी कार्यरत
हमलामा परेको अस्पतालको प्रसूति गृह अन्तर्राष्ट्रिय परोपकारी संस्था मेदसाँ सं फ्रँतिए (एमएसएफ)ले सञ्चालन गर्दै आएको छ।
त्यहाँ कतिपय विदेशी पनि कार्यरत रहेका थिए।
एमएसएफका कर्मचारीहरूले प्रयोग गर्ने अतिथि गृहलाई पनि हमलाकारीले निशाना बनाएको हुनसक्ने बताइएको छ।

तस्बिर स्रोत, EPA
अफगान विशेष फौजले तीन विदेशीसहित १०० जना महिला र बालबालिकालाई उद्धार गरेको एक जना अधिकारीले बीबीसीलाई बताएका छन्।
संयुक्त राज्य अमेरिकासँग दुई महिना भन्दाअघि सैनिक फिर्तीबारे सम्झौता गरेको तालिबानले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको छ।
बन्दुकधारीको अर्को समूहले काबुलमा मङ्गलवार गरेको अर्को आक्रमणमा थप १५ जना घाइते भएका छन्।








