अफगानिस्तान द्वन्द्वः ‘बिर्सिएका’ अफगान शरणार्थी जसले आफ्नो ज्यान लिइरहेका छन्

अलि जोयाको तस्बिर देखाउँदै मुज्तबा कलान्दरी
तस्बिरको क्याप्शन, अलि जोयाको तस्बिर देखाउँदै मुज्तबा कलन्दरी

आफ्ना आफन्तबाट टाढिएका अलि जोया साथी मुज्तबा कलन्दरीलाई आफ्नो परिवारको सदस्यलाई जस्तै व्यवहार गर्थे। ती दुवै अफगान पुनर्वासको प्रतीक्षा गर्दै वर्षौँदेखि इन्डोनेशियामा बसिरहेका थिए।

“उनी निक्कै क्षमतावान् व्यक्ति थिए,” अलिका बारेमा कलन्दरी भन्छन्। “उनी अफगानिस्तानमा रहेकी आफ्नी आमालाई सहयोग गर्न विदेशमा आफूलाई स्थापित गर्न चाहन्थे। उनी भन्थेः म बिहा गर्न चाहन्छु र सन्तानसहित नयाँ भविष्य बनाउन चाहन्छु।”

तर लामो पर्खाइपछि पनि पुनर्वासको टुङ्गो लाग्न सकेन। आठ वर्ष कुर्दा पनि केही नभएपछि युवावयमै उनले गत वर्ष आत्महत्या गरे।

मुज्तबा कलन्दरी स्तब्ध भए।

स्थानीय सहर टाङ्गिराङका अफगान शरणार्थीको प्रतिनिधिको भूमिका निभाउने मोहम्मद यासिन अलेमीका अनुसार पछिल्लो तीन वर्षमा आफ्नो ज्यान लिने १३ अफगान शरणार्थीमध्ये अलि पनि एक हुन्।

उनीहरूमध्ये प्रत्येकले राष्ट्रसङ्घीय शरणार्थी निकाय यूएनएचसीआरबाट आफूलाई कतै पुनर्वासको विकल्प उपलब्ध गराइएको भन्दै छदेखि १० वर्षसम्म कुरेका थिए।

मुज्तबा कलन्दरी र उनको परिवार
तस्बिरको क्याप्शन, मुज्तबा कलन्दरी र उनको परिवार पुनर्वासको पर्खाइमा वर्षौँदेखि इन्डोनेशियमा बसिरहेका छन्

‘अलपत्र’

विश्वभरि यूएनएचसीआरले दर्ता गरेका शरणार्थीमध्ये २७ लाख अफगान छन्। त्यो एउटै राष्ट्रियता भएका शरणार्थीमध्ये विश्वकै तेस्रो ठूलो सङ्ख्या हो।

सन् २००१ मा अफगानिस्तानमा भएको अमेरिकी अतिक्रमणसँगै देखा परेको असुरक्षा, राजनीतिक र आर्थिक अस्थिरताले यस्तो अवस्था निम्त्याएको हो।

यूएनएचसीआर इन्डोनेशियासँग सन् २०२० डिसेम्बरसम्म झन्डै ८,००० अफगान शरणार्थी र शरण खोजिरहेका व्यक्तिहरू दर्ता भएका छन्। तर शरणार्थीसम्बन्धी महासन्धिमा उक्त देशले हस्ताक्षर नगरेकाले स्थायी पुनर्वासलाई उसले बन्देज लगाइरहेको छ।

शरणार्थीहरूले काम गर्नु गैरकानुनी मानिन्छ र उनीहरूले स्वास्थ्यसेवा र शिक्षाका लागि रकम खर्च गर्न सक्ने अवस्था देखिँदैन। यूएनएचसीआरको सहजीकरणमा तेस्रो देशले स्वीकार गर्ने अपेक्षामा कैयौँले एक दशकभन्दा बढी समय कुरिसकेका छन्।

त्यसरी अलपत्र भएर बस्नुको पीडा ४२ वर्षका मुज्तबा कलन्दरीले राम्रोसँग बुझेका छन्। श्रीमती र छोरासहित सन् २०१५ मा अफगान युद्ध छल्न र उज्यालो भविष्य खोज्न उनी इन्डोनेशिया पुगेका थिए।

उनकी श्रीमती गुल्सुमले अर्का छोरा र छोरी इन्डोनेशियामा आएपछि जन्माइन्। उनले पुनर्वासको पर्खाइले आफ्ना श्रीमान् र आफूलाई मानसिक पीडा दिएको बताइन्।

“हामीले सन् २०१५ मा नै यूएनएचसीआरमा आफूलाई दर्ता गरायौँ। तर त्यसयता हामीलाई सम्पर्क गरिएको छैन। हामीलाई बिर्सिइएको छ,” ३४ वर्षकी उनी भन्छिन्। सम्पर्क नगरिएकाले उक्त परिवार आफूले शरणार्थी वा शरण खोजिरहेका व्यक्तिको रूपमा मान्यता पाए या नपाएकोमा पनि अलमलमा छ।

३४ वर्षीय अब्दुल
तस्बिरको क्याप्शन, ३४ वर्षीय अब्दुल सात वर्षअघि इन्डोनेशिया आएका थिए

शरणार्थीका स्थानीय प्रतिनिधि अलेमीका अनुसार उनले आत्महत्याको सङ्ख्या बढ्दै गएको देखेका छन्।

“मुख्य कारण यूएनएचसीआरको माध्यमबाट हुने पुनर्वासको लामो प्रक्रिया नै हो। सबैभन्दा छोटो पर्खाइ पनि कम्तीमा छ वर्षको हुन थालेको छ।”

उनले आर्थिक समस्या, भविष्यप्रतिको चिन्ता र तनावले मानिसहरूलाई आफ्नो ज्यान लिन बाध्य बनाइरहेको बताए।

विश्वव्यापी समस्या

यूएनएचसीआरका अनुसार अहिले आफूले शरण लिइरहेको देशबाट स्थायी रूपमा अर्को राष्ट्रमा पुनर्वास गराउनुपर्ने शरणार्थीको कुल सङ्ख्या १४ लाख छ।

व्यक्तिगत आवश्यकता, सुरक्षा वा अन्तर्राष्ट्रिय सन्धिको अभावले यस्तो अवस्था आएको बताइन्छ।

विश्वव्यापी रूपमा सन् २०१९ मा कोरोनाभाइरसको महामारी सुरु हुनुअघि दुई करोड ६० लाख शरणार्थी र ४० लाखभन्दा बढी शरण खोजिरहेका व्यक्तिहरू थिए।

मुज्तबा हुसैन आफ्ना नजिका साथी गुमाउने अर्का अफगान हुन्। बाइस वर्षका उनीसँगै कोठामा बस्ने साथी अब्दुल सात वर्षअघि इन्डोनेशिया आएका थिए।

जकार्तामा विरोध प्रदर्शन गर्दै शरणार्थीहरू

तस्बिर स्रोत, UGC

तस्बिरको क्याप्शन, जकार्तामा रित्तो शवपेटिका बोकेर विरोध प्रदर्शन गर्दै शरणार्थीहरू

आफूसँगै इन्डोनेशिया आउन नसकेका आफ्नी श्रीमती र दुई सन्तानसँग पुनर्मिलनको अपेक्षा उनले गरेका थिए। तर मुज्तबा भन्छन्ः डिसेम्बर महिनामा उनले आशा मारे र आत्महत्या गरे।

अब्दुलसँगै बस्ने गरेका कोठामा बसिरहेका उनले आफ्नो जीवनको एकतिहाइ समय खेर गएको बताए।

इन्डोनेशियास्थित यूएनएचसीआरका प्रतिनिधि एन मेमानले आत्महत्या पीडादायी हुने भन्दै सरकार, स्थानीय र अन्तर्राष्ट्रिय सहायतामा गर्न सकिने निश्चित कुराहरू रहेको बताइन्।

उनले यूएनएचसीआरले मानसिक स्वास्थ्यसम्बन्धी सेवा बढाउने, शरणार्थीहरूलाई परामर्श उपलब्ध गराउने र स्थानीय समायोजनमा सुधारको प्रयास गरिने बताइन्। तर त्यसले कसरी लक्ष्य पूरा गर्छ वा कति व्यक्तिलाई सहयोग गरिन्छ भन्ने उनले खुलाइनन्।

इन्डोनेशियामा रहेका धेरै अफगानहरू विशेष गरी अस्ट्रेलियामा पुनर्वास गराइयोस् भन्ने अपेक्षा राख्छन्। तर त्यसरी आउने व्यक्तिहरूलाई लिएर जनमत कडा हुँदै जाँदा पुनर्वास गराउने देशहरूले सानो सङ्ख्यामा मात्रै निवेदन स्वीकार गर्ने गरेका छन्।

त्यही भएर मानिसहरूले आफ्नो देशमा नै पर्खिनु परिरहेको इन्डोनेशियाको विदेश मन्त्रालयले जनाएको छ।

सन् २०१६ मा १,२७१ शरणार्थीको इन्डोनेशियाबाट पुनर्वास भएकोमा उक्त सङ्ख्या अर्को वर्ष आधाले घटेको थियो। सन् २०१८ मा जम्मा ५०९ जना शरणार्थीले मात्रै पुनर्वासको अवसर पाएका थिए।

जकार्तामा रित्तो शवपेटिका बोकेर विरोध प्रदर्शन गर्दै शरणार्थीहरू
तस्बिरको क्याप्शन, मुज्तबा हुसैन पुनर्वासको प्रतीक्षामा आफ्नो एकतिहाइ जीवन खेर गएको बताउँछन्

'निराशा र शोक'

अफगानिस्तानका ४२ वर्षीय टीभी पत्रकार मुसा साजावार यी तथ्याङ्कको वास्तविकता अनुभूत गर्न सक्छन्।

आँसु झार्दै उनले आफ्नी पत्नी गर्भवती भएको अवस्थामा आफूले दक्षिणपश्चिम अफगानिस्तानको गज्नी प्रान्त छाड्नुपरेको सुनाए।

“मेरो छोरा आठ वर्षको भयो तर मैले उसलाई प्रत्यक्ष देख्न पाएको छैन। छुन वा अँगालो हाल्न पाएको छैन,” उनले भने।

स्थानीय पृथक्तावादी समूहको जोखिमलाई ध्यान दिँदै उनको परिवारले उनलाई अफगानिस्तान छाड्न दबाव दिएको थियो।

आफ्नी श्रीमतीले सन्तानलाई टुहुरो हुर्काउन नचाहेको भन्दै उनीहरूका बाबु टाढा गएको आफूले स्वीकार गर्ने बताएको उनले सम्झिए।

मुसा छोरासँग फोनमा कुरा गर्दै
तस्बिरको क्याप्शन, मुसाले आफ्ना छोरालाई प्रत्यक्ष भेट्न पाएका छैनन्

उनले छाडेको एक वर्षपछि नेटोले अफगानिस्तानमा सैन्य अभियान समाप्त गरेको थियो भने उल्लेख्य सङ्ख्यामा अमेरिकी सैनिकहरू फिर्ता भएका थिए। त्यसपछि हिंसामा वृद्धि भएसँगै हजारौँ अफगानहरू भाग्न बाध्य भए।

अनि अहिले घरबाट ८,००० किलोमिटर पर रहेका मुसा भिडिओ कलबाट परिवारसँग कुरा गर्छन्। “यस्तो गर्दा एकदम अप्ठेरो लाग्छ। म बुवा हुँ भनेर पनि भन्न सक्दिनँ। तर समाधान के छ त? यो सबै आप्रवासन र हामीलाई शरणार्थी बनाउने देशको अवस्थाले भएको हो।”

परिवारलाई उज्ज्वल भविष्य दिन घरबाट हिँडेको भए पनि निराशा र शोकबाहेक खासै नपाएको उनले बताए।