रोहिन्ज्या सङ्कट: 'उनीहरू रातिराति शरणार्थीका शवहरू डुङ्गाबाट समुद्रमा फाल्थे'

रोहिन्ज्या
तस्बिरको क्याप्शन, खादिजा बेगमको स्केच
    • Author, स्वामीनाथन नटराजन र मोअज्जेम हुसैन
    • Role, बीबीसी विश्व सेवा

खादिजा बेगम स्मरण गर्दै भन्छिन्, "कसैलाई थाहा थिएन कति मानिसहरूको मृत्यु भयो। पचास जना पनि हुनसक्छन्, त्यसभन्दा बढी पनि।"

पचपन्न वर्षीया खादिजा बाङ्ग्लादेशको तटीय रक्षा बलले बचाएका ३९६ जनामध्ये पर्छिन्। उनी चढेको डुङ्गामा दुई महिनादेखि समुद्रमा अलपत्र परेको थियो।

उनका छोरा धर्मगुरु बनेर डुङ्गामा ज्यान गुमाएका मानिसको अन्तिम संस्कारको विधि फुकाइदिन्थे। त्यसैका आधारमा उनले मृतकको सङ्ख्या अनुमान गरेकी हुन्।

मानव तस्करहरूले उक्त डुङ्गालाई मलेशिया लैजान खोजेका थिए। तर कोही पनि गन्तव्यसम्म पुग्न पाएन।

खादिजा म्यान्मारमा हिंसा चर्किएपछि आफ्नो घर छाडेर भागेकी थिइन्।

उक्त हिंसालाई संयुक्त राष्ट्रसङ्घीय अनुसन्धानकर्ताहरूले 'जातीय नरसंहारको एउटा उदाहरण' भनेका छन्।

रोहिन्ज्या
तस्बिरको क्याप्शन, मलेशियातर्फ मानिसहरू ओसार्न प्रयोग गरिएको डुङ्गामा शरणार्थीहरू

राति शव फालिन्थ्यो

छिमेकी बाङ्ग्लादेशले उनलाई शरण दियो। म्यान्मारबाट भागेका रोहिन्ज्या मुस्लिमहरूलाई शरण दिएपछि त्यहाँ विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर बनेको छ।

बाङ्ग्लादेशको कक्स बजारमा झन्डै १० लाख रोहिन्ज्याहरू रहेका छन्।

खादिजाजस्ता त्यहाँका कतिपय मानिसहरूले मलेशियामा सुखी जीवनको सपना देखेका थिए। तर उनका हकमा त्यो एउटा डरलाग्दो सपना हुनपुग्यो।

खादिजा डुङ्गामा रहेका मानव तस्करहरूले कसरी मानिसहरूको मृत्युलाई लुकाउँथे भन्ने स्मरण गर्छिन्।

उनी भन्छिन्, "उनीहरू लाश फाल्दा निस्कने पानीको आवाज नसुनियोस् भन्नका लागि डुङ्गाका दुवै इन्जिनहरू चलाउँथे।"

उनी प्राय: रातमा शव बाहिर फालिने गरेको बताउँछिन्।

"कम्तीमा १४-१५ जना महिलाहरू मरे होलान्," उनी भन्छिन्।

रोहिन्ज्या
तस्बिरको क्याप्शन, शरणार्थीसहित दुई महिनासम्म डुङ्गा समुद्रमा तैरिरह्यो

डर

उनी अहिले पनि आफ्नै सामुन्ने बसेकी एक महिलाले मृत्यु वरण गरेको सम्झिँदा तर्सिन्छिन्।

ती महिलाको शरीरमा पानीको मात्रा कम भएको थियो। सुरुमा उनी विचलित भइन् र बिस्तारै अनौठो व्यवहार देखाउन थालिन्।

चालकहरूले ती महिलालाई डुङ्गाको माथिल्लो छतमा लगे। खादिजा उनको त्यहीँ मृत्यु भएको बताउँछिन्।

"म अहिले पनि उनको मृत्यु सम्झेर डराउँछु। उनी मेरै अगाडि मरिन्," खादिजा भन्छिन्।

ती महिलाका चार सन्तान पनि सँगै आएका थिए।

खदिजा भन्छिन्, "मेरो छोराले तीमध्ये सबैभन्दा जेठी १६ वर्षीया छोरीलाई उनकी आमाको मृत्युबारे जानकारी दिएको थियो।"

अनाथ बालबालिका

खादिजाका पनि चार सन्तान छन्।

उनी भन्छिन्, "ती महिलाका तीन बालबालिकालाई आमालाई के भयो थाहा थिएन। उनीहरू रोइरहेका थिए। त्यो मन दुखाउने घटना थियो। उनको शवलाई तत्कालै पानीमा फालियो।"

सन् २०१७ मा उनका पति र छोरा म्यान्मारको रखाइन प्रान्तमा एउटा सैन्य कारबाहीमा मारिएपछि खादिजा घरबार र देशविहीन भएकी थिइन्।

रोहिन्ज्या
तस्बिरको क्याप्शन, खादिजाको छोराले अन्तिम संस्कारको विधि गर्नुपर्‍यो

उनको गाउँमा आगो लगाइयो र उनलाई आफ्ना बालबच्चाका साथमा बाङ्ग्लादेशको कक्स बजारमा पुगेर शरणार्थी शिविरमा बस्न बाध्य पारियो।

आफ्नी जेठी छोरीको विवाह गरेपछि आफ्ना बाँकी छोरा र छोरीका साथ एउटा सुखी जीवन व्यतीत गर्ने उनको रहर थियो।

उनी भन्छिन्, "हाम्रो जीवन निकै कष्टपूर्ण थियो। मैले शरणार्थी शिविरमा पनि कुनै भविष्य देखेकी छैन।"

समुद्र तरेर गरेर मलेशिया पुग्ने रोहिन्ज्या मुस्लिमहरूको सुखी जीवनको खबरले उनलाई आकर्षित गर्थ्यो।

गहना विक्री

खादिजाले आफ्ना गहना बेचिन् र ७५० डलरजति रकम मानव तस्करहरूलाई दिइन्।

फेब्रुअरीको एक रात उनलाई फोन आयो, जसको उनी प्रतिक्षामा थिइन्। "फोन गर्ने मान्छेले मलाई तेक्नाफ बस स्ट्यान्ड आउन भन्यो," उनी भन्छिन्।

उनले यसबारे कसैलाई पनि बताइनन् र एउटा सानो झोलामा कपडा राखेर बचेका गहना पनि साथमै बोकेर हिँडिन्।

"मैले मेरा साथीहरू र छिमेकीलाई उपचारका लागि बाहिर जान लागेको बताएँ," उनीले बीबीसीलाई बताइन्।

उनले घरमा ताला लगाइन् र रातको अँध्यारोमा आफ्ना छोराछोरीलाई लिएर हिँडिन्।

बस बिसौनीमा एक व्यक्तिसँग उनको भेट भयो। उसैले उनीहरूलाई एउटा फार्म हाउससम्म लिएर गयो। त्यहाँ उनले आफूजस्तै सयौँ मानिसहरू देखिन्।

त्यहाँबाट उनीहरू एउटा सानो समुद्री डुङ्गामा बसेर बाङ्ग्लादेशको सेन्ट मार्टिन्स टापु र म्यान्मारको सिट्वे बीचबाट बङ्गालको खाडीतर्फ निस्किए।

रोहिन्ज्या

नयाँ सपना

उनी भन्छिन्, "महिनौँदेखि मैले योजना बनाएकी थिएँ। मैले एउटा नयाँ देशमा नयाँ सपना देखेकी थिएँ।"

दुई दिनपश्चात् उनीहरूलाई अर्को ठूलो डुङ्गामा सारियो। त्यहाँ मानिसहरू भरिभराउ थिए। त्यसमा गोडा राख्ने ठाउँ समेत नभएको खदिजा स्मरण गर्छिन्।

"महिला र बालबालिकाका साथमा रहेका परिवारहरू त्यहाँ थिए। मलाई त्यसमा ५०० भन्दा बढी मानिस भए जस्तो लाग्छ," उनी भन्छिन्।

त्यो डुङ्गा दक्षिण एशियामा प्रयोग गरिनेभन्दा केही ठूलो त थियो तर त्यत्रो सङ्ख्यामा मानिसहरू बोक्न सक्ने क्षमताको थिएन।

सबैभन्दा माथि चालकहरू बसे, बीचमा महिलाहरू र सबैभन्दा तल पुरुषहरूलाई पठाइयो।

शौचालयमा मृत्यु

अचम्मको कुरा के भने त्यो डुङ्गाका चालकहरू बर्मेली मूलका मानिस थिए।

खादिजा भन्छिन्, "सुरुमा त मलाई डर लागेको थियो। मलाई थाहा थिएन कि अब के हुने हो। तर जब एक पटक त्यहाँ बसेपछि म फेरि सपना देख्न थालेँ। मलाई लाग्यो हामी सुखी जीवन पाउनेछौँ, त्यसैले जेजस्तो दु:ख पाएका थियौँ त्यो खासै केही लागेको थिएन।"

डुङ्गामा पानी तथा सरसफाइ जस्ता अत्यावश्यक सुविधाको कमी थियो।

खादिजा आफैँले पनि दुई महिनामा केवल दुई पटक नुहाउन पाइन्, त्यो पनि समुद्रको पानी तानेर सबैका सामुन्ने।

काठले दुईपट्टि घेरेर शौचालय बनाइएको थियो। त्यसको बीचमा प्वाल थियो।

उनी भन्छिन्, "हामीले मलेशियातर्फ यात्रा सुरु गरेको केही दिनपछि एउटा केटो शौचालयको त्यही प्वालबाट समुद्रमा खस्यो र मर्‍यो।"

उक्त डुङ्गामा उनले देखेका मृत्युमध्ये यो पहिलो मृत्यु थियो त्यो।

तुहिएको सपना

सात दिनको यात्रापश्चात् आखिर उनीहरूले मलेशियाको तट देखे। त्यहाँ उनीहरूलाई उक्त सातो डुङ्गाले जमिनसम्म पुर्‍याउने ठानिएको थियो। तर कोही पनि पुग्न सकेनन्।

कोरोनाभाइरस महामारीका कारण मलेशियाली सुरक्षाकर्मीहरूले गस्ती बढाएका थिए।

त्यसले गर्दा उनीहरूलाई छलेर मलेशियाभित्र पुग्न कठिन थियो।

प्रमुख चालकले शरणार्थीहरूलाई मलेशियामा उनीहरू ओर्लिन नसक्ने कुरा जानकारी गराए।

यो महामारीले खादिजाको सपना चकनाचुर पारिदियो।

पानीको समस्या

उनीहरू पछि हिँड्नुपर्‍यो। डुङ्गामा खाना र पानीको अभाव हुन थाल्यो।

उनीहरू मलेशियातर्फ जाँदा उनीहरूलाई दिनमा दुई पटक भात खान दिइएको थियो। कहिलेकाहीँ दाल पनि दिइन्थ्यो। र, उनीहरूले एक जग पानी पनि पाउँथे।

तर समस्या सुरु भएपछि उनीहरूले त्यस्तो सुविधा पाएनन्। उनी भन्छिन्, "पहिले एक दिनमा एक पटक खाना पाइन थाल्यो, त्यसपछि दुई दिनमा एक पटक त्यो पनि निस्तो भात मात्र।"

पिउने पानीको अभावले कष्टकर अवस्था सिर्जना भयो। खादिजाका कतिपयले समुद्रकै पानी समेत पिएको बताउँछिन्।

"मानिसहरूले आफ्नो कपडा पानीमा डुबाएर त्यसलाई निचोर्दै केही थोपा पानीले आफ्नो प्यास मेटाउने प्रयास गर्थे," उनी भन्छिन्।

रोहिन्ज्या
तस्बिरको क्याप्शन, खादिजा बेगम

दोस्रो अवसर

कैयौँ दिनपश्चात् थाईल्यान्डको तटमा मानव तस्करहरूले एउटा सानो डुङ्गाको व्यवस्था गरे।

त्यसलाई अत्यावश्यक सामानहरू ल्याउन प्रयोग गरियो। उनीहरू मलेशिया प्रवेश गर्ने दोस्रो प्रयासमा लागे।

त्यसैबेला उनीहरूलाई बर्माको जलसेनाले रोक्यो।

"उनीहरूले क्याप्टेन र चालक दलका अन्य तीन जनालाई गिरफ्तार गरे। तर पछि उनीहरूलाई छाडियो। मलाई लाग्छ उनीहरूबीच केही सम्झौता भयो होला," उनी भन्छिन्।

मलेशिया जाने उनीहरूको दोस्रो प्रयास पनि असफल भएको थियो।

डुङ्गामा विद्रोह

डुङ्गामा रहेका सबैलाई अब आफूहरू कतै पनि जान नपाउने थाहा भइसकेको थियो।

उनी भन्छिन्, "हामी समुद्रको चारैतिर बग्दै हिडिरहेका थियौँ। हामीले आफैँसँग सोध्न थालेका थियौँ कि यसरी कति दिनसम्म हामी बाँचौला?"

शरणार्थीहरूको एउटा समूह चालक दलसमक्ष गयो।

उनीहरूले चालकहरूलाई कि त बाङ्ग्लादेश नत्र म्यान्मारमै आफूहरूलाई ओराल्न आग्रह गरे। तर चालकहरूले त्यसलाई अस्वीकार गरे।

उनीहरूले यो जोखिमपूर्ण हुने बताए। आफूहरू गिरफ्तार पर्ने र डुङ्गा पनि जफत हुनसक्ने बताए।

एकातिर डुङ्गा समुद्रमा तैरिरहेको थियो भने अर्कातर्फ चालक दलका सदस्यहरूलाई बलात्कार र यातनाको आरोप लागिरहेको थियो। त्यो कुरा डुङ्गाभरि फैलिएको थियो।

"अवस्था नियन्त्रणबाहिर गइरहेको थियो," खदिजा भन्छिन्, "मैले चालक दलका एक सदस्यलाई मारेर समुद्रमा फ्याँकिएको कुरा सुनेँ।"

त्यहाँ ४०० शरणार्थीका बीचमा १० जना मात्र बर्मेली थिए।

"उनीहरूका लागि झगडा गरेर जित्न मुस्किल थियो," उनी भन्छिन्।

फेरि बाङ्ग्लादेश

चालकहरूले साना बोट भाडामा लिएर तीमार्फत् उनीहरूलाई तटसम्म छाड्नका लागि थप रकम माग गरे। डुङ्गामा भएकाहरूले १२०० डलर रकम उठाए।

केही दिनपश्चात् एउटा सानो डुङ्गा उनीहरूतर्फ आयो। लगत्तै क्याप्टेनसहित चालक दलका अधिकांश सदस्यहरू त्यसमा हामफाले र भागे।

डुङ्गामा रहेका दुई चालकहरूको सहायतामा उनीहरूले डुङ्गालाई बाङ्ग्लादेशतर्फ घुमाउन सफल भए।

खबदिजा भन्छिन्, "दुई महिनापछि जमिन देख्दा म धेरै खुसी भएकी थिएँ।" उनीहरू फेरि फर्किएर बाङ्ग्लादेश पुगेका थिए।

दुई साताको क्वारन्टीन बसाइपछि खादिजा शरणार्थी शिविर फर्किन्। त्यहाँ उनको स्थानमा अरू कोही बसिसकेका रहेछन्।

उनलाई म्यान्मार फर्कन पाउँछु भन्ने आशा छैन। उनी अहिले एउटा सानो क्षेत्रमा उनका छोराछोरीसँगै बस्छिन्।

शान्त मुद्रामा खदिजा भन्छिन्, "मैले आफ्नो सपनाका लागि सबै थोक गुमाएँ। अब फेरि कहिल्यै पनि यस्तो गल्ती गर्दिनँ।"