हम्जा बिन लादेन: अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको ‘मृत्यु’

तस्बिर स्रोत, CIA
अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएका छन्।
अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ।
फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो।
साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो।
प्रतिशोध आग्रह
झन्डै ३० वर्ष उमेर भएको ठानिएका हम्जा अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेका थिए।
उनको मृत्युको खबर सबैभन्दा पहिले एनबीसी र न्यूयोर्क टाइम्सले सार्वजनिक गरेका हुन्।

तस्बिर स्रोत, Getty Images
संवाददाताहरूले त्यसबारे बुधवार प्रश्न गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गर्न अस्वीकार गरेका थिए। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि त्यसै गरेका थिए।
हम्जा बिन लादेनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए।
ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए।
हम्जा बिन लादेनले सन् २०११ मा पाकिस्तानमा आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए।
उनलाई अल-कायदाभित्र आफ्ना पिताको उत्तराधिकारीको रूपमा उदाइरहेको कतिपयले ठान्ने गर्थे।
उनले अबर प्राय:द्वीपका जनतालाई विद्रोह गर्न आह्वान गरेका थिए।
नागरिकता रद्द
साउदी अरेबियाले उनको नागरिकता गत मार्च महिनामा खोसेको थियो।
उनी इरानमा घरभित्रै नजरबन्दमा राखिएको ठानिएको थियो। तर अन्य समाचारहरूमा उनी अफगानिस्तान, पाकिस्तान र सिरियामा पनि बसेको हुन सक्ने जनाइएको थियो।
सन् २०११ मा पाकिस्तानस्थित ओसामा बिन लादनेको निवासमा छापा मार्दा बरामद गरिएका दस्ताबेजहरूले हम्जालाई अल-कायदाको नेतृत्व सम्हाल्नेगरी उनलाई तयार पार्दै गरेको देखाएको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ।

तस्बिर स्रोत, US State Department
अमेरिकी फौजहरूले अल कायदाका अर्का वरिष्ठ नेताकी छोरीसँग उनको विवाह भएको भिडिओ फेला पारेको बताइएको थियो।
विवाह इरानका भएको ठानिएको थियो।
अल कायदा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको भीषण आक्रमण हमलामा जिम्मेदार समूह हो।
तर पछिल्लो दशकमा इस्लामिक स्टेटको बढ्दो प्रभावसँगै अल-कायदाको उपस्थिति कमजोर बनेको आकलन गर्ने गरिन्छ।








