आफ्नी आमाको नजरमा बिन लादेन

तस्बिर स्रोत, Getty Images
आफ्नो छोरा मारिएको सात वर्षपछि अल-कायदा समूहका नेता ओसामा बिन लादेनकी आमाले पहिलो पटक सार्वजनिक रूपमा उनको बारेमा बोलेकी छन्।
साउदी अरेबियाको जेद्दाहस्थित आफ्नो घरबाट बिन लादेनकी आमा आलिया गनेमले ब्रिटिश पत्रिका द गार्डियनलाई अन्तर्वार्ता दिएकी हुन्।
आफ्नो छोरा एक लजालु र 'असल बच्चा'का रूपमा हुर्किए पनि विश्वविद्यालयमा उनको विचारमा 'सम्पूर्ण रूपमा परिवर्तन ल्याइएको' गनेमले पत्रिकालाई बताएकी छन्।
बिन लादेनको परिवारले अमेरिकामा हमला गर्नुभन्दा दुई वर्षअघि अर्थात् सन् १९९९ मा अन्तिम पटक उनलाई देखेको बताएको छ।
प्रभावशाली
सन् २००१ को सेप्टेम्बर ११ मा ट्विन टावरमा हमला गरिएको बेला बिन लादेन अफ्गानिस्तानमा थिए।
सन् १९८० को दशकतिर सोभियत संघको फौजविरुद्ध लड्न अफ्गानिस्तान गएपछि उनलाई एक प्रमुख अन्तर्राष्ट्रिय सन्दिग्ध चरमपन्थीका रूपमा हेरियो।
छोरा एक जिहादी भएको थाहा पाएपछि कस्तो महसुस गर्नुभयो भन्ने जिज्ञासामा गनेमले भनिन्, "हामी निकै निराश भयौँ। त्यस्तो केही होओस् भन्ने मैले चाहेकी थिइनँ। किन उसले समय बर्बाद गर्नुपर्थ्यो?"

तस्बिर स्रोत, Getty Images
अध्ययनका बेला आफ्नो छोरा संलग्न हुन पुगेको मुस्लिम ब्रदरहूड समूह त्यतिबेला एउटा 'पन्थ' को रूपमा रहेको उनले बताइन्।
निर्माणसम्बन्धी व्यवसायमा व्यापक सम्पत्ति आर्जन गरेपछि परिवार साउदी अरेबियामा बिन लादेनको परिवार प्रभावशालीमध्येको एक परिवारको रूपमा दरिन पुग्यो।
बिन लादेनका बुवा मोहम्मद बिन अवाद बिन लादेनले ओसामाको जन्म भएको तीन वर्षपछि गनेमसँग सम्बन्ध विच्छेद गरेका थिए।
मोहम्मद बिन अवाद बिन लादेनका ५० जना सन्तान थिए।
जिम्मेवार
सेप्टेम्बर ११ को घटनापछि साउदी अरेबियाको सरकारले उनीहरूको परिवारमाथि अनुसन्धान गर्यो र उनीहरूको यात्रा एवम् हिँडडुल सीमित पारिदियो।
पत्रकार मार्टिन चुलोभले लेखेका छन्, साउदी सरकारले बिन लादेनकी आमासँग कुरा गर्ने अनुमति दिएको उनको विश्वास छ किनकि वरिष्ठ अधिकारीहरूको आशा छ त्यसले यो पुष्टि गर्न सघाउ पुग्नेछ कि बिन लादेन देशबाट बहिष्कृत थिए न कि केहीले भनेजस्तो देशका एजेन्ट।
बिन लादेनका दुईजना भाइ हसन र अहमद पनि द गार्डियनलाई अन्तर्वार्ता दिएका छन्।

तस्बिर स्रोत, Reuters
उनीहरूले सेप्टेम्बर ११ को हमलामा उनको संलग्नताबारे सुनेर स्तब्ध भएको बताएका छन्।
अहमदले भने, "सानादेखि ठूला सबैले लज्जाबोध गर्यौँ। यसको नराम्रो नतिजा हामीले भोग्नेछौँ भनेर हामी सबैलाई थाहा थियो। बाहिर भएका हाम्रो परिवारका सबै साउदी अरेबिया फर्कियौँ।"
उनले आफ्नी आमा सेप्टेम्बर ११ को घटनाको १७ वर्षपछि पनि बिन लादेन 'नभइ' उनका वरपरका मान्छेहरू त्यसका लागि जिम्मेवार भएको ठान्ने गरेको बताए।








