ओसामा बिन लादेनको मृत्युको आठ वर्षपछि अल कायदा कहाँ पुग्यो?

ओसामा बिन लादेनको मृत्युपछि पकिस्तानमा अमेरिकाको विरोधमा नारा जुलुस भएको थियो
तस्बिरको क्याप्शन, ओसामा बिन लादेनको मृत्युपछि पकिस्तानमा अमेरिकाको विरोधमा नारा जुलुस भएको थियो
    • Author, जुल्फिकर अली
    • Role, बीबीसी रियालिटी चेक

अल कायदाका संस्थापक ओसामा बिन लादेन अमेरिकी सेनाद्वारा पाकिस्तानमा मारिएको आठ वर्ष भइसकेको छ।

हजारौँ लडाकूहरू रहेको बिन लादेनले नेतृत्व गरेको सङ्गठन संसारकै सबैभन्दा खतरनाक जिहादी समूह मानिएको थियो।

अल कायदासँग राम्रो आर्थिक स्रोत रहेको पनि विश्वास गरिन्थ्यो।

तर बिन लादेनको मृत्यु र इस्लामिक स्टेट आइएस समूहको जन्मपछि अल कायदाको शक्ति र प्रभाव धेरै नै घटेको थियो।

अहिले अल कायदाको अवस्था के छ र यसबाट विश्वलाई के कस्तो खतरा छ त?

शान्त पुनरुत्थान

आइएस समूह हालका वर्षहरूमा समाचार शीर्षकहरूमा छाइरहँदा अल कायदाले ससाना प्रादेशिक समूहहरूसँग गठबन्धन गर्दै चुपचाप आफूलाई पुनरुत्थान गर्ने नीति अपनायो।

अमेरिकी नेशनल इन्टिलिजेन्सको ताजा प्रतिवेदनले अल कायदाका माथिल्लो तहका नेताहरूले सङ्गठनमा विश्वव्यापी निर्देशन संरचना बलियो बनाउँदै पश्चिमा र अमेरिकामाथि आक्रमण गर्न उत्प्रेरित गरिरहेको बताएको छ।

संयुक्त राष्ट्रसङ्घको यो वर्षको सुरुमा प्रकाशित विश्व आतङ्कवादसम्बन्धी प्रतिवेदनमा अल कायदा अझ धेरै महत्त्वाकांक्षी हुँदै गएको देखिएको र अन्तर्राष्ट्रिय प्रभूत्व बनाउने महत्वाकांक्षाका साथ थुप्रै स्थानमा यो सक्रिय रहेको उल्लेख छ।

यो वर्षको फेब्रुअरीमा यूकेको जासूसी संस्थाका प्रमुख एलेक्स योङ्गले पनि अल कायदाको पुनरुत्थान भइरहेको बताएका थिए।

सहयोगी सङ्गठनको सञ्जाल

अमेरिकी सेनाको आक्रामक ड्रोन अभियान, बिन लादेनको मृत्यु र आइएसको चुनौतीका कारण अल कायदा नयाँ रणनीति अपनाउन बाध्य भयो।

यसले अफ्रिका, मध्यपूर्व र दक्षिण एशियामा सफलताका साथ सहयोगी समूहहरू वा शाखाको सञ्जाल बनाएको छ।

अल सबाब

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सोमालियामा अल कायदासँग नजिक अल सबाबले आक्रमण गरिरहेको छ

अल कायदाको सञ्जालमा भएका संगठनहरू स्थानीय समूहहरू हुन् जसले अल कायदाको नेतृत्वमा रहेका बचनबद्धता प्रकट गरेका छन्।

आइएसको रणनीतिको विपरीत अल कायदाले स्थानीय समुदायलाई नएक्ल्याउने र स्थानीय समूहहरूसँग मिलेर समुदाय विकासका कामहरू गर्ने नीति लिएको छ।

सन् २०१३ मा अल कायदाले 'जिहादको लागि सामान्य निर्देशिका' जारी गरेर सङ्गठनभित्र महत्त्वपूर्ण सुधारहरू गरेको थियो।

सो दस्तावेजमा समुदायमा आधारित तरिकामाथि जोड दिँदै लडाकूहरूलाई जनसमुदायलाई भड्काउने कुनै पनि कार्य नगर्न निर्देशन दिइएको थियो।

"अल कायदाले भ्रष्ट्राचार र सीमान्तकरणजस्ता स्थानीय समस्यालाई आफ्नो एजेन्डामा मिलाउने कला सिकेको छ", पेम्ब्रोक कलेज अक्सफोर्डका डा. एलिजावेथ केन्डल भन्छिन्।

"त्यसरी यसले आफूलाई स्थानीय स्तरमा उद्धारकर्ताको रुपमा स्थापित गर्दै रहेको छ," उनले भनिन्।

अल कायदाले आफ्नो सञ्जालमा सङ्गठनहरु र शाखाहरूमार्फत आक्रमणहरू बढाएको छ।

सन् २०१८ मा यसले विश्वभर ३१६ आक्रमण गरेको द आर्म्ड कन्फ्लिक्ट लोकेशन एन्ड इभेन्ट डेटा प्रोजेक्ट एसीएलइडीले जनाएको छ।

अल कायदाका आक्रमणहरू. सन् २०१७ देखिको तथ्याङ्क. .

अल कायदा सञ्जाल

  • अल कायदा इन द इस्लामिक माग्रेभ (एक्यूआइएम) सन् २००६ मा अल्जेरियामा निर्माण भएको समूह हो। अल्जेरियाली सेनाले लखेटेपछि यो आजकल साहेल र पश्चिम अफ्रिकामा सक्रिय छ।
  • अल कायदा इन अरेबियन पेनिनसुला (एक्यूएपी) सन् २००९ मा यमन र साउदी अरेबियाका दुई जिहादी समूहको मिलन भएर बनेको समूह हो।
  • अल कायदा इन द इन्डियन सबकन्टिनेन्ट (एक्यूआइएस) अफगानिस्तान, पाकिस्तान, भारत, म्यानम्यार र बङ्ग्लादेशमा सक्रिय सन् २०१४ मा स्थापित समूह हो।
  • जमात नुसरत अल इस्लाम वाल मुस्लिमिन (जेएनआइएम) माली र पश्चिम अफ्रिकाका केही समूहहरू मिलेर बनेको समूह हो।
  • अल सबाब सोमालिया र पूर्वी अफ्रिकामा सक्रिय छ र सन् २०१२ देखि अल कायदाको सञ्जालमा आबद्ध छ।
  • हयात ताहरिर अल साम (एचटीएस) सिरियाका जिहादी समूहहरू मिलेर बनेको हो र यसको अल कायदासँग सम्बन्ध भएको संयुक्त राष्ट्रसङ्घको भनाइ छ। यसले उत्तरी सिरियाको इडलिब प्रदेशलाई नियन्त्रणमा राखेको छ।
  • अल कायदा इन इजिप्ट सिनाइ प्राय:द्विपमा सक्रिय छ।
अल कायदा सञ्जालमा लडाकूहरू. . Data showing number of fighters in al-Qaeda affiliates अगस्ट २०१८ को तथ्याङ्क.

भविष्यको नेतृत्व

सन् २०१५ मा अल कायदाका नेता आयमन अल जावाहिरीले एकजना युवालाई गुफाको सिंहको रुपमा परिचय गराएका थिए।

ती युवा हाम्जा बिन लादेन थिए जो ओसामा बिन लादेनका एक छोरा हुन् र जसलाई अल कायदाको भविष्यको नेताका रूपमा हेरिएको छ।

अमेरिकाले विश्व आतंकी मानेर हाम्जाको बारेमा सूचना दिनेलाई १० लाख डलरसम्मको पुरस्कार घोषणा गरेको छ।

State Department's Wanted poster

तस्बिर स्रोत, AFP

जिहादीहरूको नयाँ पुस्ता तयार गरेर सङ्गठनलाई पुनरुत्थान गर्ने कार्यमा यी ३० वर्षीय युवा सफल हुने अल कायदाको दाबी छ।

हालैका वर्षहरूमा उनले अडियो र भिडियो सन्देशहरू मार्फत अमेरिका र उसका सहयोगी पश्चिमा राष्ट्रहरूमा आक्रमण गरेर बुबाको मृत्युको बदला लिन आह्वान गरेका छन्।

च्याटम हाउसकी मध्यपूर्व र उत्तर अफ्रिका प्रमुख लिना खातिबका अनुसार आइएसको पतनले अल कायदालाई आफ्नो रणनीति र संचालनमा विवेकशील हुन सिकाएको छ।

उनी भन्छिन्: "अल कायदा अहिले रणनीतिक नेतामा आधारित भइरहेछ। यसले हाम्जा बिन लादेनलाई अल कायदाको नेताको रूपमा आफ्नो बुबाको स्थान लिनका लागि आवश्यक समर्थन जुटाउन मद्दत गरिरहेको छ।"

Presentational grey line
Reality Check branding