अफगानिस्तान युद्ध: संयुक्त राष्ट्रसङ्घ भन्छ, 'सन् २०२१ मा अहिलेसम्म धेरै सङ्ख्यामा नागरिक हताहत'

अधिकांश घातक घटनाका लागि तालिबानलाई दोष लगाइएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अधिकांश घातक घटनाका लागि तालिबानलाई दोष लगाइएको छ

अफगानिस्तानमा यो वर्षको पहिलो छ महिनामा अहिलेसम्मकै ठूलो सङ्ख्यामा गैरसैनिकहरू मारिएको वा घाइते भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

एउटा नयाँ प्रतिवेदनमा सन् २०२१ मा अहिलेसम्म १,६०० जनाभन्दा धेरै गैरसैनिकको मृत्यु भएको उल्लेख छ।

उक्त सङ्ख्या गत वर्ष सोही अवधिको तुलनामा ४७ प्रतिशतले बढी हो।

सर्वसाधारण अफगान नागरिकका निम्ति यो सबैभन्दा घातक वर्ष बन्न सक्ने सम्भावना रहेको बताइएको छ।

त्रास

ती अधिकांश मृत्युका लागि तालिबानलाई दोष लगाइएको छ।

अन्य सरकारविरोधी समूहका कारण पनि मानिसहरुखो मृत्यु भएको बताइएको छ।

अफगानिस्तानको ठूलो भागमा नियन्त्रण राख्ने तालिबान लडाकुहरूसँग सरकारी सैनिकहरू लडिरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म यो पीडासँग बाँच्न सक्दिनँ, पनि मरेको भए हुन्थ्यो'

अन्तर्राष्ट्रिय सेनाको फिर्तीसँगै मे महिनादेखि तालिबानले देशभरि आक्रमण बढाउँदै देशको झन्डै आधा भूभाग आफ्नो नियन्त्रणमा लिएको थियो।

कैयौँ सहरहरू अहिले तालिबानको घेरामा छन्।

अफगानिस्तानका शिया हजारा समुदायमाथि पनि आक्रमण बढेको राष्ट्रसङ्घले जनाएको छ।

धेरैजसो अन्तर्राष्ट्रिय सेनाहरू झन्डै २० वर्ष अफगानिस्तानमा बसेर स्वदेश फर्किएका छन्।

अहिलेसम्मकै उच्च विवरण

राष्ट्रसङ्घले विवरण राख्न थालेको सन् २००९ यता सबैभन्दा ठूलो मानवीय क्षति मे र जुन महिनामा भएको पाइएको छ।

राष्ट्रसङ्घीय प्रतिवेदनका अनुसार हताहत हुनेमा सरकारविरोधी फौजका कारण ६४ प्रतिशत र सरकारपक्षीय फौजका कारण २५ प्रतिशत मानिस छन्।

दोहोरो भिडन्तमा ११ प्रतिशत मानिस परेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धः २० वर्षमा कति धनजनको क्षति भयो?

हताहत हुने कुल मानिसहरूमध्ये ३२ प्रतिसत बालबालिका छन्।

दुई पक्षबीच शान्तिवार्ता सुस्त गतिमा अगाडि बढिरहेको बताइएको छ।

एक विज्ञप्तिमार्फत् अफगानिस्तानका लागि राष्ट्रसङ्घीय विशेष दूत डेब्रोह ल्योन्सले भनेकी छन्, "यो प्रतिवेदनले एउटा स्पष्ट चेतावनी दिँदै बढ्दो हिंसा नरोके यो वर्ष अनपेक्षित सङ्ख्यामा अफगान नागरिकको मृत्यु र अङ्गभङ्ग हुनेछ।"

अमेरिकी प्रभाव

सन् २००१ मा अमेरिका नेतृत्वको हस्तक्षेपले तालिबानलाई सत्ताच्युत गरेको थियो।

यो वर्ष राष्ट्रपति जो बाइडनले सेप्टेम्बरसम्म अमेरिकी सेना फिर्ता लैजाने घोषणा गरेका छन्।

शनिवार शीर्ष अमेरिकी कमान्डर जेनरल केनेथ म्याकेन्जीले आफ्ना सैनिकले हवाई आक्रमण जारी राख्दै अफगान सेनालाई सघाउने बताएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'अफ्गानी महिलाहरू हिंसासँग हार खादैनन्': अनुहारमा गोली हानिएकी महिला

उनले तालिबान सफल नहुने टिप्पणी गरेका थिए।

यद्यपि जेनरल म्याकेन्जीले त्यस्ता आक्रमणहरू अगस्ट ३१ मा अमेरिकी सैन्य अभियान टुङ्गिएपछि जारी हुने वा नहुनेबारे केही भनेनन्।

तालिबानलाई नियन्त्रण गर्न भन्दै अफगानिस्तानमा एक महिना लामो रात्रिकालीन कर्फ्यू लगाइएको छ।