अफगानिस्तान: पाकिस्तानसँगको सीमा नाकामा तालिबानको झण्डा

सामाजिक सञ्जालमा साझा गरिएका मध्येको एउटा भिडिओ।

तस्बिर स्रोत, Twitter

तस्बिरको क्याप्शन, सामाजिक सञ्जालमा साझा गरिएका मध्येको एउटा भिडिओ। तर बीबीसीले स्वतन्त्र रूपमा उक्त घटनाको पुष्टि गर्न सकेको छैन

तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा फहराएर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेको बताइएको छ।

सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको देखिन्छ।

अफगान अधिकारीहरूले उक्त चौकी तालिबानद्वारा कब्जा गरिएको कुरालाई अस्वीकार गरेका छन्।

तर सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा तालिबान विद्रोहीहरूले पाकिस्तानी सीमा सुरक्षा बलसँग कुराकानी गरिरहेको देखिन्छ।

तालिबानले उक्त सीमा नाकालाई खासै बल प्रयोग नगरी नियन्त्रणमा लिएको बीबीसीलाई बताइएको छ।

हालैका साताहरूमा तालिबान विद्रोहीहरूले देशैभरि आफ्नो नियन्त्रणलाई फैलाएका छन्।

उनीहरूले शृङ्खलाबद्ध रूपमा सीमा चौकीहरूलाई अफगान फौजबाट आफ्नो नियन्त्रणमा लिइरहेका छन्।

त्यसमा इरान, ताजिकिस्तान र तुर्केमेनिस्तानको सीमा नाकामा रहेका चौकीहरू रहेका छन्।

तालिबान

राष्ट्रपति जो बाइडनले तय गरेको मिति सेप्टेम्बर ११ भन्दा अघि नै अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेपछि तालिबानले उक्त कदम चालेको हो।

तालिबान के हो?

तालिबान एउटा अतिवादी इस्लामिक सशस्त्र समूह हो।

२० वर्षअघि अमेरिकी अतिक्रमणका कारण उक्त समूह सत्ताबाट बाहिरिन बाध्य भएको थियो।

तालिबानले अहिले कैयौँ मुख्य सडकहरूलाई पनि आफ्नो नियन्त्रणमा लिइसकेको छ।

उनीहरूले प्रमुख सहरहरूमा आपूर्ति बन्द गराउन खोजिरहेका छन्।

एकातर्फ अफगानिस्तानको कान्दाहार प्रदेशस्थित स्पिन बोल्डक र अर्कोतर्फ पाकिस्तानको चमन सहर रहेको नाका ती दुई देशबीचको दोस्रो सबैभन्दा व्यस्त नाका हो।

यसले कान्दाहारलाई पाकिस्तानी बन्दरगाहहरूसँग जोड्छ भने हरेक दिन उक्त नाका हुँदै करिब ९०० ट्रकहरू वारपार गर्ने गर्छन्।

बीबीसी संवाददाता लीस डुसेटका अनुसार यदि उक्त नाकालाई तालिबानले लगातार नियन्त्रणमा राखेमा उसका लागि त्यो साङ्केतिक र रणनीतिक रूपमा मुख्य उपलब्धि हुनेछ।

उक्त नाकाबाट हुने व्यापारिक आयात/निर्यातबाट उनीहरूलाई उल्लेख्य भन्सार महसुल प्राप्त हुनुका साथै तालिबान नेता र लडाकुहरू वर्षौँदेखि आधार बनाएर बसेको भनिएको पाकिस्तानमा सहज पहुँच हुने उनी बताउँछिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'अफ्गानी महिलाहरू हिंसासँग हार खादैनन्': अनुहारमा गोली हानिएकी महिला

बीबीसीले स्वतन्त्र रूपमा उक्त विवरणको पुष्टि गर्न सकेको छैन तर पाकिस्तानी अधिकारीहरूले उक्त चौकी तालिबानले नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।

क्वेटास्थित हाम्रा संवाददाताले जनाए अनुसार पत्रकार र स्थानीयवासीलाई पाकिस्तान तर्फबाट उक्त सीमा नाकातिर नजान भनिएको छ।

त्यस्तै त्यहाँ एउटा आकस्मिक सुरक्षा बैठक पनि भइरहेको छ।

एउटा वक्तव्यमा तालिबानका जबिहुल्लाह मुजाहिदले स्थानीयवासी र व्यापारीहरूलाई उनीहरूको "सुरक्षाको ग्यारेन्टी" गरिएको जनाएका छन्।

तर अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ता तारिक एरियानले एएफपी समाचार संस्थालाई "सीमा क्षेत्रमा केही गतिविधि भएको थियो… सुरक्षा फौजले आक्रमणलाई निस्तेज पारिदिए" भनेका छन्।

तालिबानको उदय

सोभियत-अफगान युद्धलगत्तै भएको गृहयुद्धपछि सन् १९९६ मा कट्टरपन्थी इस्लामवादी तालिबान आन्दोलनले अफगानिस्तानको शक्ति हत्याउन सफल भएको थियो।

पछि उनीहरूलाई अमेरिकी नेतृत्वको फौजले आक्रमण गरी विस्थापित गरिदियो।

शक्तिमा पुगेपछि उनीहरूले महिलाको सार्वजनिक जीवनमा बन्देज लगाउनुका साथै सार्वजनिक स्थानमा हत्या र अङ्गभङ्ग गर्ने जस्ता शरिया कानुनको क्रूर संस्करण लागु गरेका थिए।

पुरुषले दाह्री पाल्न र महिलालाई पूरै शरीर ढाक्ने गरी बुर्का लगाउन बाध्य पारिनुका साथै टेलिभिजन, सङ्गीत र सिनेमामाथि पनि प्रतिबन्ध लगाइएको थियो।

सत्तामा रहँदा वा नरहँदा पनि अल कायदाका नेताहरूलाई आश्रय दिने गरेका उनीहरू सत्ताबाट हटाइएपछि हिंसात्मक विद्रोह गरिरहेका छन्।

अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता लाने पूर्व राष्ट्रपति डोनल्ड ट्र्म्पको योजना र त्यहाँ शान्ति कायम गर्ने प्रयासस्वरुप भएको वार्ताका क्रममा तालिबानले अमेरिकी र नेटो फौजलाई फिर्ता गर्नुपर्ने सर्त राखेको थियो।

त्यस अन्तर्गत विदेशी सेनाहरूले अफगानिस्तान छाड्न थालेदेखि नै आफगान सेनाले तालिबानको विस्तारलाई रोक्न सङ्घर्ष गरिरहेको छ।

पहिले अस्वीकार गरेको भए पनि अहिले तालिबानले अफगान सरकारसँग वार्ता गर्ने भएको छ तर उसले अफगान सेनामाथि हमला गर्न छाडेको छैन।