अफगानिस्तानः अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख र तालिबान नेताबीच 'काबुलमा गोप्य भेट'

विलियम बर्न्स र मुल्लाह बरादर

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सीआईए र तालिबान कसैले पनि विलियम बर्न्स र मुल्लाह बरादरबीच सोमवार भएको भनिएको बैठकबारे केही भनेका छैनन्

अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग सोमवार गोप्य भेट गरेको स्रोतहरूले अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन्।

तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीच भएको भनिएको भेटबारे पुष्टि गरेका छैनन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ भित्र अमेरिकी सेनाले अफगानिस्तान छोडिसक्न समयसीमा तोकेका छन्। यूकेसहित अन्य साझेदार राष्ट्रले उक्त समयसीमा लम्ब्याउन चाहेका छन्।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतङ्कवादी आक्रमण भएपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो। त्यतिबेलादेखि नै अमेरिकी सेनाको अफगानिस्तानमा उपस्थिति छ।

स्रोतहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स, वाशिङ्टन पोस्ट, असोशीएटिड प्रेस तथा एनपीएसहितका सञ्चारमाध्यममलाई स्रोतहरूले सीआईए र तालिबानको बैठकबारे समाचार सम्प्रेषण गरेका छन्।

तर उनीहरूले त्यसबारे थोरै मात्र जानकारी दिएका छन्।

यदि यो कुरा पुष्टि भयो भने अगस्ट १५ मा तालिबानका लडाकुहरूले काबुल कब्जा गरेपछि अमेरिका र तालिबानबीच भएको यो नै सबैभन्दा माथिल्लो तहको भेटघाट हुनेछ।

मस्कोमा मुल्लाह बरादर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मुल्लाह बरादर (बीच) तालिबानका सहसंस्थापक हुन्

तालिबान काबुल पुगेपछि अफगान राष्ट्रपति विदेश पलायन भएका थिए भने अन्तर्राष्ट्रिय समर्थनप्राप्त सरकार धराशायी भएको थियो।

काबुल छोडेर हजारौँ विदेशी तथा अफगान नगारिकहरू विदेश जान खोजिरहेको बेला अहिले झन्डै ५,८०० अमेरिकी सैनिकले काबुल विमानस्थलमा सुरक्षा प्रदान गरिरहेका छन्।

वाशिङ्टन पोस्टका अनुसार सीआईए र तालिबानबीचको भेटघाटमा अमेरिकी सेनालाई हवाई उद्धार गर्न दिइएको समयसीमाबारे पनि छलफल भएको हुनसक्छ।

मङ्गलवार तालिबानले थप अफगान नागरिकलाई देश छोड्न नदिइने तथा अमेरिका फिर्ता जाने समयसीमा पनि नबढाइने बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, धेरै अफगान 'आफ्नो भविष्यप्रति चिन्तित'

को हुन् मुल्लाह बरादर?

मुल्लाह बरादर सन् १९९४ मा तालिबान गठन गर्ने चारमध्येका एक व्यक्ति हुन्।

उनलाई सन् २०१० मा अमेरिका र पाकिस्तानले सञ्चालन गरेको एउटा संयुक्त कारबाहीमा पक्राउ गरिएको थियो। उनी आठ वर्ष जेल बसे।

सन् २०१२ सम्म उनीबारे धेरै जानकारी उपलब्ध थिएन।

त्यतिखेर अफगानिस्तान सरकारले शान्तिवार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो। सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्‍यो।

सन् २०१९ देखि तालिबानको दोहास्थित राजनीतिक कार्यालयका प्रमुख छन्।

गत वर्ष फेब्रुअरीमा उनले अमेरिकी र नेटो सेनाको फिर्तीबारे दोहामा गरिएको एउटा सहमतिमा हस्ताक्षर गरे।

उनले सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए।

कुनै अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष सम्पर्क गर्ने उनी पहिलो तालिबान नेता हुन्।

तालिबान

उनी तालिबानका पूर्वप्रमुख नेता मुल्लाह ओमारका विश्वासपात्र थिए। पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए।

सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो। उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे।

इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो। उनी दुर्रानी समुदायका भएका ठानिन्छ।

Presentational grey line

तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश
Presentational grey line

के हो तालिबान?

अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।

साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।

तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।

टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

काबुलमा तालिबान शासन

दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।

सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।

तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।

तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।

दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।

बिन लादेनसँगको सम्बन्ध

सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो।

न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल-कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो।

सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो।

तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्‍यो।