बाइडन: अफगानिस्तानको उद्धार कार्य ‘जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्छ’

काबुल विमानस्थल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उद्धारकार्य समयसीमाभित्रै सम्पन्न भइसक्ने राष्ट्रपति बाइडनको भनाइ छ

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा जारी उद्धार मिसन अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने विश्वास आफ्नो रहेको दोहोर्‍याएका छन्।

उनले उडानहरूको सङ्ख्यामा वृद्धि भएको भन्दै आवश्यक कागजपत्र भएका सबै मानिसहरूले बाहिरिन पाउने बताए।

तर उनले तालिबानको निरन्तर सहयोगमा मात्रै आगामी हप्ता उद्धार मिसन सम्पन्न हुने या नहुने निर्भर हुने उल्लेख गरेका छन्।

साथै समस्या भएमा चाल्ने कदमका बारेमा तयारी गर्न आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको उनले जानकारी दिए।

यसअघि बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिमबारे छलफल गरेका थिए।

उनले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्व प्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्याङ्कन गरिनुपर्ने बताए।

तर निरन्तर अफगान नागरिकहरूलाई मद्दत पुर्‍याइनुपर्ने उनको भनाइ छ।

उद्धार कार्य समयसीमाभित्रै सम्पन्न गर्नुपर्नेमा जोड

"जति चाँडो सम्पन्न हुन्छ त्यति राम्रो," राष्ट्रपति बाइडनले भने। कतिपय अमेरिकी फौज फर्किइसकेको र त्यसले उद्धार कार्यलाई प्रभावित नपारेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

नौ दिनअघि तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसहरूलाई उद्धार गरिएको छ।

तालिबान लडाकुहरूले उद्धार कार्यको समय सीमा थप्न नसकिने बताउँदै आएका छन्।

राष्ट्रपति बाइडनले 'हाम्रा मानिसहरूलाई बाहिर निस्कन सहयोग गर्न तालिबानहरूले कदम चालिरहेका छन्' भनेका थिए।

तर उनले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहको जोखिमका कारण हवाई उद्धार चाँडै सम्पन्न गरिनुपर्ने बताए।

यूके

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, उडानको सङ्ख्या बढ्दै गएको छ

अफगानिस्तानमा अमेरिकी बसाइँ लम्बिँदा उक्त समूहले आक्रमण गर्ने जोखिम उच्च हुने उनले बताए।

बाइडन क्यानडा, फ्रान्स, जर्मनी, इट्ली, जापान, यूके र अमेरिका अनि इयू सम्मिलित जी सेभेन समूहको शीर्ष नेताहरूको भर्चुअल बैठकमा बोल्दै थिए।

जी सेभेनका अरू साझेदारहरू के भनिरहेका छन्

यूके र अरू साझेदारहरूले थप उद्धार उडानहरू सुनिश्चित गर्न अगष्ट ३१ पछि पनि अमेरिकी फौज बस्नुपर्ने बताए।

बैठकको अध्यक्षता गरेका ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले 'अन्तिम क्षणसम्म' उनको देशले उद्धार कार्य जारी राख्ने बताए।

उनले तालिबानहरूलाई अफगान नागरिकलाई समयसीमापछि पनि बाहिरिन अनुमति दिन अनुरोध गरे।

युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लेयनले जी सेभेनका नेताहरूले अफगान नागरिकहरूलाई सहयोग गर्नु आफ्नो नैतिक दायित्व भएको भन्दै परिस्थितिले दिएसम्म सबै सम्भव हुने सहयोग गर्ने सहमति जनाएको बताइन्।

काबुल विमानस्थलको सुरक्षामा झन्डै ६ हजार अमेरिकी सैनिक र १ हजार भन्दा बढी ब्रिटिस सैनिक खटिएका छन्। उनीहरूले विदेशी र मापदण्ड पूरा गरेका अफगान नागरिकहरूको उद्धारमा सघाइरहेका छन्।

त्यसबाहेक नेटो आबद्ध फ्रान्स, जर्मनी र टर्कीका फौजहरू पनि सानो सङ्ख्यामा खटिएका छन्।