अफगानिस्तान द्वन्द्व : तालिबानले स्वतन्त्रता खोस्ने भयमा बाँचिरहेछन् अफगान नागरिक

Illustration of a midwife and a woman holding a baby

तस्बिर स्रोत, BBC/ELAINE JUNG

नूरिया हया सुँडिनी हुन्। काम गर्ने दिन उनी पुरुष चिकित्सकहरूसँग नियमित बैठक र छलफलमा बस्थिन्।

ती बैठकका निर्णयले हया कार्यरत स्थानीय मानिसको उपचार र सार्वजनिक स्वास्थ्य केन्द्रलाई प्राथमिकतामा राख्थ्यो। उक्त स्वास्थ्य केन्द्र अफगानिस्तानको ग्रामीण जिल्ला इश्कामिशमा छ जुन ताखार प्रान्तमा ताजिकिस्तानसँगको उत्तर-पूर्वी सीमामा पर्छ।

हालसालै २९ वर्षीया हयाले थाहा पाइन् कि अब महिला र पुरुष कर्मचारीबीच बैठकमा प्रतिबन्ध लगाइएको छ।

तालिबानले देश नियन्त्रणपछि दिएको पहिलो आदेश भएको उनी बताउँछिन्। यो अवस्थामा उनी आफ्नो जीवनमा हुनसक्ने सम्भावित परिवर्तनहरूबारे आफैसँग प्रश्न सोध्न मात्र सक्छिन्।

इश्कामिश हिन्दकुश पर्वत शृङ्खलामा छ। एउटा प्रमुख सीमा क्षेत्र जहाँबाट गत मे महिनामा नाटोले करिव दश हजार सेना फिर्ता पठाउने भएपछि तालिबानहरू उत्साहित भएका थिए।

मे महिनाको मध्यसम्म दक्षिणी हेलमन्ड सरकारी फौजहरूसँगको लडाइँ चर्काएर कट्टरपन्थी इस्लामी समूहले उत्तरी बुर्का जिल्लालाई नियन्त्रणमा लियो।

लगभग त्यसै समयमा अमेरिकी सेनाले कान्दहार हवाई अड्डा छोडे। अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहारस्थित देशको सबैभन्दा ठूलोमध्ये एक हवाई अड्डाबाट अमेरिकी सेना बाहिरिएपछि त्यहाँका स्थानीय मानिसहरू तालिबानको प्रगतिबारे सचेत थिए।

"सबै जना डराएका थिए," ५४ वर्षीय जान अगाले भने। उनी पाकिस्तानसँगको सीमामा पर्ने अरगिस्तान जिल्लाका स्थानीय हुन्। यो जिल्ला कान्दहार सहरबाट दुई घण्टाको नागबेली बाटो छिचोलेपछि पुगिन्छ।

मानिसहरूले आफैलाई घरघरमा थुने। तर तालिबानले लगभग हरेक गाउँमा आफ्नो स्थान बनाइसकेको छ। स्थानीयहरू उनीहरूबाट भाग्न वा लुक्न सक्दैनन्।

सशस्त्र लडाकुहरू गल्लीगल्लीमा छरिएका छन्। उनीहरू बिहानबेलुका मानिसको खानेकुराका लागि ढोकामा पुग्छन्। नदिए नराम्रो नतिजा भोग्नु पर्ने डरका कारण मानिसहरू उनीहरूले मागेको कुरा दिन्छन्।

"जति गरिब भए पनि हरेक परिवारले उनीहरूका लागि तीन-चारवटा रोटी वा अरु खानेकुरा छुट्याउन थालेका छन्," फलफूल व्यापारी जानले भने। कहिलेकाहीँ लडाकुहरू उनीहरूकहाँ आएर बस्छन् पनि।

गत जुनसम्म तालिबानले उत्तरी भेगको तखार, फरियाब र बदाखशानसहित केही प्रान्त नियन्त्रणमा लिएको दाबी गर्‍यो।

उनीहरूले सेनालाई र लोकतान्त्रिक संस्थाहरूलाई रणनीतिक रूपमा पछि हट्न बाध्य पारे। यतिबेलासम्म २,५०० अमेरिकी सेनाले अफगानिस्तान छाडिसकेका थिए। काबुलमा भने केही बाँकी थिए।

Illustration of an Afghan fruit seller

तस्बिर स्रोत, BBC/ELAINE JUNG

अफगानहरूले अन्तर्राष्ट्रिय सेनाको फिर्तीलाई हतारको निर्णयको सङ्ज्ञा दिँदै आलोचना गरेका छन्।

केही मानिसले पछिल्लो दुई वर्षयता अमेरिकी र तालिबानबीच शान्तिवार्ताले तालिबानको कथित वैधता, भर्ती हुनको सङ्ख्या र महत्त्वाकाङ्क्षा बढाएको तर्क अघि सारेका छन्।

करिब २० वर्षअघि अमेरिकाले आक्रमण गरेपछि तालिबानको आधा दशक लामो शासनकाल अन्त्य भयो। तर कुनै पनि बेला त्यहाँको द्वन्द्व अन्त्य हुने छाँट भने देखिएको थिएन।

गत जुनमा तालिबानले आफूलाई पुनः स्थापित गर्‍यो। लडाकुहरूले खाना र आवासको लागि आवश्यक पर्नेभन्दा बढी ठाउँ कब्जा गरे।

दुई दशकयता लडेर प्राप्त भएको सीमित सामाजिक तथा आर्थिक अधिकारहरू पनि तत्काल फिर्ता लिइयो। ती अधिकारहरू हयाको जीवनबाट पनि बिस्तारै घट्दै गयो।

"अहिले धेरै प्रतिबन्धहरू छन्। जब म बाहिर जान्छु तब बुर्का लगाउनु पर्छ र एक पुरुषले साथ दिनु पर्छ किनकि यो तालिबानको आदेश हो," उनले भनिन्।

उनका लागि सुँडिनी भएको हैसियतले जिल्लाभर यात्रा तय गर्नु कठिन बनेको छ।

पुरुषहरूलाई पनि दाह्री काट्ने अनुमति छैन। तालिबानका अनुसार त्यसो गर्नु इस्लाम विरोधी काम हो। विदेशी शैलीमा कपाल काट्न पनि निषेध गरिएको छ।

तालिबानभित्रको एक समूह अमरी बिल मारोफ अर्थात् अर्डर द गुडले सामाजिक नियमहरू लागु गर्छ।

यो समूहले दिने सजायका कारण १९९० को दशकमा अफगानहरूमा आतङ्क मच्चाएको थियो।

अहिले पुनः त्यस समूहले दुई नियमहरू लागु गरेको छ। पहिलो चेतावनी र दोस्रो सार्वजनिक अपमान, कुटाइ र जेल चलान।

"अचानक हामीबाट स्वतन्त्रता खोसिएको छ," हया भन्छिन्, "यो सबै निकै कठिन छ तर हामीसँग केही विकल्प पनि छैनन्।"

"उनीहरू क्रूर छन्। उनीहरूले जे भन्छन् हामीले त्यही मान्नु पर्छ। उनीहरू धर्मलाई आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गरिरहेछन्। हामी स्वयं पनि मुस्लिम हौँ तर हाम्रो विश्वास फरक छ।"

युद्ध र अपराधका कारण बढेको सुरक्षासँगै केही परिवर्तन भएका छन्। स्थानीयले शान्ति र सुरक्षाको स्वागत गरे भलै उनीहरूलाई तिनको स्थायित्वमाथि शङ्का थियो।

तर जहाँ सुरक्षा बढ्यो त्यहाँबाट द्वन्द्व अन्य क्षेत्रहरूमा धकेलियो। साथै अन्य कुराहरू पनि पर धकेलिएका छन्।

सफा, पहाडी हावा बग्ने, स्वच्छ नदी, हरिया फाँट र हिमाल हेर्न तखरसम्म यात्रा गर्थे मानिस। अब अवस्था त्यस्तो छैन।

फर्खर जिल्लामा ट्याक्सी चलाउने आसिफ अहादीका अनुसार उनी पहिले दैनिक ९०० अफगानी कमाउँथे। तर जब तालिबानहरूको दबदबा सुरु भयो तब पर्यटन नै ठप्प भयो।

"ती पर्यटक मेरा ग्राहक थिए," ३५ वर्षीय आसिफले भने, "उनीहरूले तिर्ने पैसाले म परिवारलाई खुवाउँथेँ। अहिले त अति राम्रो कमाएको दिन जम्मा १५० अफगानी हुन्छ।"

"त्यति पैसाले त मेरो ट्याक्सीमा तेल हाल्न पनि पुग्दैन। तेलको रकम पनि दोबरभन्दा बढी भइसकेको छ।"

मानिसको सामाजिक जीवनमा पनि नराम्रो असर पारेको छ।

"पहिले मानिहरू हरेक शुक्रवार राति रमाइलो गर्थे। नाचगान गर्थे। यी सबैमाथि प्रतिबन्ध लागेको छ," आसिफ सुनाउँछन्, "हरेक व्यवसाय उस्तै गरी प्रभावित भएका छन्।"

जुलाई ४ मा अमेरिका र नेटोका सेनाले अफगानिस्तानको सबैभन्दा ठूलो हवाई अड्डा बाग्राम छाडेको दुई दिनपछि तालिबानले कान्दहार प्रान्तको पञ्ज्वाई जिल्लालाई नियन्त्रणमा लिएको थियो।

त्यस जिल्लाबाट नै तालिबान उदय भएको थियो र त्यहीँ उनीहरूको गढ थियो।

Illustration of an Afghan taxi driver

तस्बिर स्रोत, BBC/ELAINE JUNG

एक साता पनि नबित्दै तालिबानले आफूहरूले देशको सबैभन्दा ठूलो सीमा र इरानसँगको व्यापार मार्ग र प्रमुख बन्दरगाह इस्लाम क्वाला नियन्त्रणमा लिएको दाबी गर्‍यो।

जुलाईको तेस्रो साता त विद्रोहीले अफगानिस्तानको ९० प्रतिशत सीमाहरू र देशको ८५ प्रतिशत भाग कब्जा गरेको बताएका थिए।

त्यति बेला सरकारले उक्त तथ्याङ्कमाथि प्रश्न गरेको थियो जुन प्रमाणित गर्न सम्भव थिएन। 

आसिफका अनुसार तालिबान बलियो भएसँगै घरभित्र लुकेका केही मानिस बाहिर निस्कन थालेका छन्।

केही मानिसले पहिले कहिल्यै पनि तालिबानले द्रुत गतिमा गर्ने शासन र न्यायिक वितरण नदेखेको उनी बताउँछन्।

उनी भन्छन्,"उनीहरू अपराधिक गतिविधिमा निकै छिटो निर्णय गर्छन्। त्यहाँ कुनै प्रशासनिक तन्त्र हुँदैन। हरेक किसिमका समस्या एकै दिनमा समाधान हुन्छ र उनीहरूले सुनाउने निर्णयविरुद्ध कसैले चुनौती दिन सक्दैन।"

उनीहरू 'तालिबान अशर' र जकात सङ्कलन गर्छन्।

जकात सामान्यतया बाली उब्जनीबाट १० प्रतिशत वा आयको केही भाग गरिबलाई दिने दान हो। तर तालिबानहरूले त्यसमा आफ्नो प्रयोगका लागि कर लगाउँछन्।

आसिफ यसलाई थप अर्को आर्थिक दबाव मान्छन्।

"हरेक सामानको मूल्य आकासिएको छ। आन्तरिक र बाह्य व्यापारमा प्रतिबन्ध लगाइएको छ। सार्वजनिक गतिविधि ठप्प भएको छ। अर्थतन्त्र निचोरिएको छ," आसिफ भन्छन्।

केहीले भने तालिबानको प्रणालीलाई पहिला पनि देखेका छन्।

"उनीहरूको सोच, विचार ठ्याक्कै पहिलेको जस्तै छ। केही पनि बदलिएको छैन," जानले भने।

"तालिबानहरूले भनेका छन् उनीहरूले इस्लामिक एमिरेट पुनः स्थापित गर्न ठूलो त्याग गरेका छन्। त्यसैले त्यो विचारधारालाई अलग राख्न सकिँदैन।"

अफगानिस्तानको नक्सा

उनको क्षेत्रमा तालिबानले सबै विद्यालय बन्द गरेका छन्। कुनै पनि शिक्षा इस्लाम शारीया कानुन अनुसार हुनुपर्ने बताएका छन्। स्थानीय मानिसका लागि यो चिन्ताको सबैभन्दा ठूलो विषय हो।

सन् १९९६ देखि २००१ सम्मको अन्तिम तालिबान शासन कालमा महिलाका लागि शिक्षा र रोजगारी प्रतिबन्धित थियो।

महिलाहरू स्वास्थ्य सेवाबाट पनि वञ्चित थिए। उनीहरू सत्ताच्यूत भएपछि संसद्मा एक चौथाइ स्थानसहित महिला पुनः सार्वजनिक जीवनमा फर्किए।

प्राथमिक शिक्षामा बालिकाहरूको सङ्ख्या ५० प्रतिशतसम्म पुग्यो। माध्यमिक तहमा भने करिब २० प्रतिशत मात्र थियो।

महिलाहरूको औसत उमेर ५७ बाट ६६ वर्ष सम्म पुग्यो। यो तथ्याङ्क तुलनात्मक रूपमा कमजोर देखिन्छ तर महिलाको जीवनको पाटोमा सुधार भएको छ। अब डर उनीहरू फेरि पुरानै अवस्थामा फर्कन्छन् कि भन्ने छ।

हाल अफगानिस्तानको प्रगति भनेको जे तालिबानले गरिरहेको छ त्यति नै हो। अगस्टसम्ममा उनीहरूले थप सहरी क्षेत्रमा आक्रमण गरे।

उत्तरको कुन्दुज र ताखार प्रान्तको तालोकान सहित क्षेत्रीय राजधानीहरूको एक तिहाइ भाग नियन्त्रणमा लिए।

त्यसपछि पश्चिममा हेरात र दक्षिणी कान्दहार र लश्कर गाह कब्जा गरे। यी सहर रणनीतिक र प्रतीकात्मक हिसाबमा महत्त्व बोकेका सहर हुन् जहाँ १० लाख भन्दा धेरै मानिसहरूको बसोबास छ।

अमेरिकी वायु सेनाले आक्रमणमा अफगान सेनालाई सहयोग गरिरहेको थियो।

तर बाँकी रहेका विदेशी सेनाहरूले आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तान छाड्ने योजना बन्यो।

त्यस दिन अमेरिकामा अलकायदाले हमला गरेको २० औँ वर्ष पूरा हुँदै छ।

उनीहरूले ओसामा बिन लादेन र अलकायदाका अन्य व्यक्तिहरूलाई शरण दिएर तालिबानलाई सत्ताबाट हटाउन अफगानिस्तानमा अमेरिकी नेतृत्वको आक्रमणलाई प्रोत्साहित गरे।

जारी सङ्घर्षले मानव जीवनमा असर पारिरहेको छ।

अगस्टको पहिलो साता सम्मको एक महिनाको अवधिमा एक हजार नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

लाखौँ मानिसहरू विस्थापित भएका छन्। हाल तालिबान काबुलमा छ। अब उनीहरूले देशभर शासन गर्दै छन् र अफगानिस्तान परिवर्तन हुँदै छ भन्ने प्रस्ट छ।

"अब आफ्नो जीवन बाँच्नको लागि टाउको झुकाउनुपर्छ," जान भन्छन्।

"उनीहरूविरुद्ध बोल्ने साहस हुने छैन। उनीहरू 'हो' भन्छन् भने तपाईँले पनि 'हो' भन्नु पर्छ। यदि उनीहरू 'होइन' भन्छन् भने तपाईँले पनि 'होइन' भन्नु पर्छ।"

डर सबैमा व्याप्त छ।

हाय भन्छिन्, "मानिसहरू शान्त देखिन्छन् तर जब तपाईँ उनीहरूको नजिक जानुहुन्छ, कुरा गर्नुहुन्छ तब तपाईँले उनीहरूको चिन्ता बुझ्नु हुन्छ। हामी तालिबानलाई हामीबाट टाढा पुर्‍याइदेऊ भनी भगवान्सँग प्रार्थना गरिरहेका छौँ।"