अफगानिस्तान युद्ध: उद्धार गर्न अमेरिकी भागदौडमाझ तालिबानद्वारा विजयी भएको दाबी

तालिबान

तस्बिर स्रोत, AFP

अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्।

त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्।

तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने: "अफगानिस्तानमा युद्ध सकिएको छ।"

"हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता," उनले भने।

उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्‍याउने आफूहरूले ठानेको बताए।

राष्ट्रपति गनी कहाँ छन्?

राष्ट्रपति अशरफ गनी उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएका छन्।

आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए।

तिनले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी गरेका छन्।

काबुलमा अराजकता छाएको छ र त्यहाँका निवासी एवम् विदेशी नागरिकहरू काबुलबाट बाहिर निस्कन खोजिरहेका छन्।

अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिबान फर्केको अवस्थाले कैयौँ अफगानहरू त्रसित बनेका छन्।

विमानस्थल अस्तव्यस्त

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार त्यहाँ कर्मचारीहरूले आफ्नो कार्यस्थल छाडेका र मानिसहरू जहाजतर्फ दौडिरहेका थिए।

अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको उसका ६ हजार फौजलाई अब विमानस्थल परिसरको सुरक्षामा खटाइने बताइएको छ।

अमेरिकी विदेश तथा रक्षा मन्त्रालयहरूले उनीहरूले विमानस्थलको रक्षाका निम्ति विभिन्न कदमहरू चालिरहेको ताकि अमेरिकी तथा गठबन्धन सदस्यहरूलाई गैरसैनिक एवै सैनिक विमानमार्फत् उद्धार गर्न सकियोस् भनेका छन्।

अमेरिकासहित पश्चिमा देशहरूले हतारहतार आफ्ना नागरिक तथा अन्यको काबुलबाट उद्धार गरिरहेको बताइएको छ।

तालिबानको नियन्त्रणमा नआएको सबैभन्दा ठूलो सहर काबुल रहेको थियो।

तालिबानले महिनौँदेखि अफगानिस्तानका विभिन्न क्षेत्रमा नियन्त्रण सुरु गरेको थियो।

पछिल्ला दिनहरूमा त्यो गति निकै तीव्र देखिएको छ।

लगभग सबै विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि उक्त विद्रोही समूहले आफ्नो नियन्त्रण कायम गर्न सफल भएको हो।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन्।

उनले अर्को देशको आन्तरिक द्वन्द्वमा कहिल्यै अन्त्य नहुने अमेरिकी उपस्थितिलाई आफूले उचित ठहर्‍याउन नसक्ने बताएका छन्।

तालिबानले आइतवार आफ्ना लडाकूहरूलाई काबुलमा प्रवेश गर्न आदेश दिएको थियो। सुरुमा उसले आफ्ना लडाकूलाई काबुल वरिपरि मात्र तैनाथ गरेको थियो।

सुरक्षा फौजले राजधानीका भागहरू छाडेपछि त्यहाँ उत्पन्न अराजकता र लुटलाई रोक्न गइरहेको तालिबानले बताएको थियो।

अल जजिरा टेलिभिजनले प्रसारण गरेका भिडिओ फुटेजहरूमा तालिबान लडाकूहरू राष्ट्रपति भवनभित्र हतियारसहित देखिएका छन्।

Presentational grey line

तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
अफगानिस्तान
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, राष्ट्रपति भवनमा तालिबान लडाकुहरू प्रवेश
Presentational grey line

के हो तालिबान?

अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।

साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।

तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।

टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तानमा चर्कंदो हिंसा

काबुलमा तालिबान शासन

दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।

सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।

तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।

तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।

दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।

बिन लादेनसँगको सम्बन्ध

सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो।

न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल-कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो।

सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो।

तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्‍यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धमा ज्यान गुमाउने को हुन्?