अफगानिस्तान युद्धः राष्ट्रपति अशरफ गनीले 'देश छोडे'

गनी

तस्बिर स्रोत, Getty Images

अफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा राष्ट्रपति अशरफ गनीले देश छोडेको जनाइएको छ।

तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो।

सरकारको तर्फबाट तालिबानसँग वार्ताका लागि जिम्मेवार निकायका प्रमुख डा. अब्दुल्लाह अब्दुल्लाहले गनीले देश छाडेको पुष्टि गरेका छन्।

उनलाई ''पूर्व राष्ट्रपति''को संज्ञा दिँदै अबदुल्लाले गनीले ''यस्तो अवस्थामा देश छोडेको'' बताए।

"ईश्‍वरले उनलाई जबाफदेही बनाउनेछन् र राष्ट्रले पनि मूल्याङ्कन गर्नेछ," अबदुल्लाले फेसबुक मार्फत भिडियोमा भने।

अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ।

तालिबानले राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएको विवरणहरू सार्वजनिक भएका छन्।

दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा थिए।

गनी कहाँ जाँदैछन् भन्ने स्पष्ट छैन।

तर केही रिपोर्टहरूमा उनी छिमेकी देश ताजिकिस्तानतर्फ लागेको बताइएको छ।

यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो।

यसअघि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो।

Map
Presentational white space

आइतवार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो।

राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा लेखिएको छः "काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ।"

Presentational white space

केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन्।

तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो।

काबुलस्थित विमानस्थलमा गोली चलेको आवाज सुनिएको अमेरिकी दूतावासले जारी गरेको सुरक्षा सम्बन्धी पछिल्लो सन्देशमा उल्लेख गरिएको छ।

''काबुलको सुरक्षा अवस्था परिवर्तन भइरहेको अवस्थामा'' त्यहाँबाट बाहिरिनका लागि सहायताको आवश्यकता पर्ने अमेरिकीहरूलाई अनलाइन मार्फत विवरणहरू दर्ता गर्न भनिएको छ।

तालिबानको तीव्र आरोह

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा
जलालाबादमा तालिबान

तस्बिर स्रोत, Reuters

अफगान युद्धको पृष्ठभूमि के हो?

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गर्‍यो।

तर तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार गर्‍यो।

त्यसपछि अमेरिकासँग अन्तर्राष्ट्रिय गठबन्धन जोडिन पुग्यो र तालिबान तत्कालै सत्ताबाट हट्यो।

Presentational white space
काबुलमा अफगान प्रहरी

तस्बिर स्रोत, AFP

यद्यपि उक्त समूह विद्रोही फौजमा परिणत भयो र घातक हमलाहरू निरन्तर जारी राख्दै अफगान सरकारलाई अस्थिर बनायो।

अन्तर्राष्ट्रिय गठबन्धनले सन् २०१४ मा आफ्नो सैन्य अभियानअन्त्य गर्‍यो र अफगान फौजलाई तालिम दिनमा मात्रै आफूलाई सीमित राख्यो।

त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्न खोजेको थियो। आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू फेरि कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरे।

तर अमेरिका भने एक्लैले हवाई हमलालगायत युद्ध कारबाही चलाएर निरन्तर सक्रिय रह्यो। तालिबानले पनि आफ्नो गतिविधि कायमै राख्यो।

Presentational white space

के हो तालिबान?

अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।

साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।

तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।

टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तानमा चर्कंदो हिंसा

काबुलमा तालिबान शासन

दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।

सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।

तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।

तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।

दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धः २० वर्षमा कति धनजनको क्षति भयो?

बिन लादेनसँगको सम्बन्ध

सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो।

न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल-कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो।

सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो।

तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्‍यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धमा ज्यान गुमाउने को हुन्?