अफगानिस्तान युद्ध: रोजगारदाताको आग्रहपछि नेपाली नागरिकहरू फर्कने तयारीमा

अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन जोन
तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता गरिरहेका बेला उक्त द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपाली नागरिकलाई पनि रोजगारदाताले फर्कने तयारी थाल्न भनेका छन्।

अफगानिस्तानबाट केही दिनयता भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका नेपाली नागरिकहरूले धेरैजसो रोजगारदाताहरूले अगस्ट महिनाभित्रै स्वदेश फर्कन भनिसकेको र कतिपयले फर्कने टिकट समेत काटिसकेको जानकारी दिएको एक अधिकारीले बताए।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख (डीसीएम) रामप्रसाद सुवेदीले करिब ७० प्रतिशत नेपाली कामदारलाई रोजगारदाताले नै फिर्ता जान भनिसकेको आफूहरूको जानकारी रहेको बताए।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको अवस्था रोजगारदाता एजेन्सी र व्यक्तिगत सम्पर्कसूत्रको माध्यमबाट अध्ययन गरिरहेको बताएको छ। "अफगानिस्तानको अवस्था हामीले नजिकबाट नियालिरहेका छौँ। त्यहाँ रहेका नेपालीहरूलाई अप्ठेरो परेको अवस्थामा उपयुक्त निर्णय लिइने नै छ," काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बीबीसीसँग भनिन्।

विदेशी सैनिकहरू अफगानिस्तानबाट फर्किन थालेपछि अहिले तालिबान लडाकुहरूले महत्त्वपूर्ण सहर र स्थानहरू आफ्नो नियन्त्रणमा लिन थालेका छन्। विभिन्न स्थानमा सङ्घर्ष जारी छ।

काबुलमा कहाँ छन् नेपाली?

अधिकांश नेपालीहरू राजधानी काबुलस्थित कूटनीतिक र सरकारी कार्यालयहरू भएको क्षेत्रमा कार्यरत रहेकाले अहिलेसम्म सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।

ग्रीन जोन भनिने उक्त क्षेत्रलाई सबैभन्दा सुरक्षित मानिन्छ।

परराष्ट्र मन्त्रालयले यसअघि काबुलमा १०० जनाको हाराहारीमा नेपालीहरू मात्र रहेको बताए पनि दिल्लीस्थित दूतावासले शुक्रवार १,५०० को हाराहारीमा नेपालीहरू त्यहाँ रहेको जानकारी दिएको छ।

तर काबुलमा हुने नेपालीको सङ्ख्या त्यसभन्दा बढी भएको आकलन गरिएको छ। गत साता ग्रीन जोनमै अफगान रक्षामन्त्रीको घरमा आक्रमण भएपछि त्यहाँ कार्यरत नेपालीहरूमा केही त्रास बढेको हालै काबुलबाट काठमाण्डू फर्किएका एक नेपालीले बताएका छन्। विसं २०७३ सालमा राजधानी काबुलको ग्रीन जोनमा कार्यरत १३ नेपालीको बम हमलामा ज्यान गएपछि सरकारले केही समय अफगानिस्तान जान कडाइ गरेको थियो।

काबुलमा संसद् भवननजिकै अवतरण गर्न लागेको एउटा सैनिक हेलिकप्टर

तस्बिर स्रोत, Reuters

अफगानिस्तान कसरी पुग्छन् नेपाली?

नयाँ दिल्लीस्थित नेपाली दूतावासले ग्रीन जोनमा काम गर्नका लागि माग भएका कामदारको माग विवरण प्रमाणित गरेर पठाएपछि काठमाण्डूस्थित वैदेशिक रोजगार विभागले श्रमस्वीकृति दिने गरेको छ।"सम्बन्धित देश हेर्ने दूतावासबाट माग भएको ठाउँमा कामदार पठाउन ठिक छ भन्ने प्रमाणित भएर आए हामीले श्रमस्वीकृति दिँदै आएका छौँ," विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले भने।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख (डीसीएम) रामप्रसाद सुवेदीले संयुक्त राष्ट्रसङ्घअन्तर्गतका निकाय र सुरक्षा प्रदान गर्ने कम्पनीहरूमा नेपालीहरू दूतावासको स्वीकृति लिएर जाने गरेको बताए।गत आर्थिक वर्ष मात्रै १,०७३ जनाले त्यहाँ जान श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ।

कुन वर्ष कति जनाले श्रमस्वीकृति लिए?. अफगानिस्तानमा नेपाली. .
Presentational white space

विभागबाट प्राप्त विवरण अनुसार पछिल्लो पाँच वर्षमा ६,६०० जनाभन्दा बढीले अफगानिस्तानमा काम गर्न श्रमस्वीकृति लिएका छन्। ती मध्ये करिब ४,००० जनाको अझै करार अवधी बाँकी देखिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

तर करार अवधि सकिएका कतिपय नेपालीहरू गैर कानुनी रूपमा पनि बसेको हुनसक्ने भन्दै दूतावासले खोजी सुरु गरेको बताएको छ।

स्वीकृति लिएका सबै गए नगएको विवरण भने सरकारी निकायहरूसँग पनि नभएको अधिकारीहरू बताउँछन्।सीधा हवाई सम्पर्क नभएका कारण अफगानिस्तान जाने नेपालीहरूले भारतको मार्ग प्रयोग गर्छन्।

अफगानिस्तानबाट फर्किने नेपाली कामदारहरूको विवरण समेत सरकारी निकायहरूसँग नभएका कारण यति नै सङ्ख्यामा त्यहाँ नेपाली छन् भन्ने तथ्याङ्क पाउन मुस्किल छ।अफगानिस्तानमा नेपालको दूतावास नभएका कारण नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तान मामिला पनि हेर्दै आएको छ।

अफगानिस्तान

अफगानिस्तानमा नेपाली कति सुरक्षित?

श्रम अनुमति लिएर गएका नेपालीहरू राजधानी काबुलमा सुरक्षा घेराभित्रै काम गर्ने भएकाले हालसम्म सुरक्षित नै रहेको दिल्लीस्थित दूतावासले जनाएको छ। बढ्दो हिंसाका कारण त्यहाँ रहेका नेपालीहरू जोखिममुक्त भने नरहेको अधिकारीहरूको बुझाइ छ।"हामीले करार अवधि सकिएका नेपालीहरूलाई सकेसम्म छिट्टै स्वदेश फर्किन आग्रह गरेका छौँ। करार अवधि बाँकी भएकाहरूलाई भने अहिलेसम्म कुनै एड्भाइजरी जारी गरिएको छैन," दिल्लीस्थित दूतावासका उपप्रमुख सुवेदीले टेलिफोनमा भने।

दूतावासले रोजगारदाता एजेन्सीहरूलाई नै उनीहरूका उद्धार उडानहरूमा नेपाली नागरिकहरूलाई समेत फर्काइदिन आग्रह गरिएको जनाएको छ।

शुक्रवार दूतावासको सम्पर्कमा आएका एक नेपालीले नेपाल फर्कने कोसिसमा आफूहरू रहेको बताएको सुवेदीले जानकारी दिए। "त्यहाँ भएका एक जना साथीले तीन महिनाभित्र स्थिति अर्कै हुनसक्छ, स्थिति काबुभित्रै हुँदा नै फर्कने कोसिसमा छौँ भन्नुभएको छ," उनले भने।

राजदूतावासका अनुसार उनीहरूलाई नियमित व्यावसायिक उडानबाटै सकेसम्म चाँडो नेपाल फर्किन भनिएको छ। विसं २०७३ सालबाट अफगानिस्तान मामिला हेरिरहेको दिल्लीस्थित दूतावासले परराष्ट्र मन्त्रालयलाई पनि अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे नियमित जानकारी पठाइरहेको जनाएको छ।

बीबीसीले सम्पर्क गरेका दुई नेपालीले रोजगारदाताको अनुशासनका कारण त्यहाँको अवस्थाबारे सञ्चारमाध्यममा बोल्न नमिल्ने बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धः २० वर्षमा कति धनजनको क्षति भयो?

के छ अफगानिस्तानको स्थिति?

कतिपय प्रान्तबाट व्यापारिक उडानहरू बन्द हुन थालेपछि छिमेकी राष्ट्र भारत र चीन दुवैले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई स्वदेश फिर्ता हुन भनिरहेका छन्।चीनले गत महिना आफ्ना नागरिकहरूलाई विशेष विमान पठाएर उद्धार गरेको थियो।

भारतले पनि नियमित उडानहरू बन्द हुनुअगावै अफगानिस्तान छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको छ।

काबुलमा अफगान प्रहरी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्बिर

यसअघि अमेरिका र यूकेले अफगानिस्तान छाड्न आफ्ना नागरिकहरूलाई आग्रह गरेको थियो।

गत महिनाको हिंसामा मात्र १,००० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको विवरणहरू आएका छन्। तालिबानले केही प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म यो पीडासँग बाँच्न सक्दिनँ, म पनि मरेको भए हुन्थ्यो'