अफगानिस्तानको अर्को प्रान्तीय राजधानीमा तालिबानको झण्डा, अमेरिकी राष्ट्रपति भन्छन्- 'सेना फिर्ता गरेकोमा पछुतो छैन'

तस्बिर स्रोत, Getty Images
अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका छन्।
यद्यपि बाइडनले उनकै शब्दमा 'आफ्नो देशका लागि लड्न' अफगान नेताहरूलाई एक हुन आह्वान गरेका छन्।
२० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ।
तालिबानको कब्जा
तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा ८ वटालाई नियन्त्रणमा लिइसकेको छ।
अन्य सहरहरूलाई पनि नियन्त्रणमा लिने कोसिसका साथ उसले लडाइँ जारी राखेको छ।
मङ्गलवार ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै बाइडनले अमेरिकाले अफगानिस्तानसँग गरेका प्रतिबद्धता पूरा गरिरहेको बताए।
बाइडनले हवाई सैनिक सहायता, सैनिकहरूलाई तलब र अफगान फौजलाई खाद्यान्न र बन्दोबस्तीका सामानहरू अमेरिकाले प्रदान गरिरहेको बताए।
तर उनले भने, "उनीहरूले आफ्ना लागि लड्न चाहिँ आफैँ लड्नुपर्छ।"
संयुक्त राष्ट्रसङ्घका अनुसार गएको एक महिनाभित्र अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच भएको लडाइँमा १,००० भन्दा बढी सर्वसाधारण मारिएका छन्।
राष्ट्रसङ्घको बालबालिबकासम्बन्धी नियोग युनिसेफले यसै साता बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको बताएको थियो।
मङ्गलवार तालिबानले थप दुईवटा प्रान्तीय राजधानीहरू फराह सहर र पुल-ए-खुम्री आफ्नो नियन्त्रणमा लिएको छ।
अधिकारीहरूका अनुसार तालिबानले बाग्लान प्रान्तको राजधानी पुल-ए-खुम्रीस्थित गभर्नर कार्यालयको मुख्य परिसरमा आफ्नो झण्डा फहराएको छ।
उक्त सहर राजधानी काबुलबाट २०० किलोमिटर मात्र टाढा छ।
स्थानीय पत्रकार र प्रान्तीय परिषद् सदस्यहरूले बीबीसीलाई बताए अनुसार पश्चिमी सहर फराह पनि तालिबानको कब्जामा पुगेको छ।
तालिबानले यसै साता उत्तरी सहर कुन्दुजमा पनि आफ्नो नियन्त्रण कायम गरेको थियो।
उक्त सहर खानीयुक्त प्रदेशहरूको मुख्य द्वार र ताजिकिस्तानसँग सीमा जोडिएको रणनीतिक महत्त्वको क्षेत्र हो।
देशका अन्य भागमा पनि चर्को भिडन्त भइरहेको छ।
त्यहाँ लडाइँ जारी रहँदा हजारौँ मानिसहरू घर छाडेर भागिरहेका खबरहरू आएका छन्।
"मैले जेल नजिकै शवहरू लडिरहेको देखेँ…. ती शवहरू नजिकै कुकुरहरू थिए," तालिबानले कब्जा जमाएको कुन्दुज सहर छाडेकी एक महिलाले एएफपी समाचार संस्थालाई भनेकी छन्।
तालिबान उक्त सहरको विमानस्थलमा रहेका सरकारी फौजमाथि आक्रमण गर्न केन्द्रित हुँदा उक्त सहरमा पसलहरू खुल्न थालेको त्यहाँका एक व्यक्तिले बताएका छन्।
तालिबानले युद्धविरामको अन्तर्राष्ट्रिय आह्वानलाई अस्वीकार गरेको छ।








