अफगानिस्तान युद्धः काबुलको राष्ट्रपति कार्यालयमा 'कब्जा गरेको' तालिबानको दाबी

तस्बिर स्रोत, EPA
तालिबानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएको दाबी गरेको छ।
राष्ट्रपति अशरफ गनी आइतवारै देश छोडेर हिँडेपछि तालिबानले यस्तो दाबी गरेको हो।
अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न 'शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा' सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको बताएको थियो।
तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई सहर पस्न अनुमति दिइएको तालिबानका एक प्रवक्ताले बताएका छन्।
बीबीसीलाई अर्का एक प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दाहरू डराउनु नपर्ने र तालिबानले बदला नलिने बताएका छन्।
स्थानीय पत्रकार बिलाल सार्वारीका अनुसार तालिबानसँग वार्ता गरिरहेका समूहले राष्ट्रपति कार्यालयमै शक्ति हस्तान्तरण हुने कुरो बताए पनि राष्ट्रपति गनीले आफ्ना सहयोगीहरू सहित देश छोडेका हुन्।
राष्ट्रपति कार्यालयमा तालिबानले गरेको कब्जाबारे सरकारी अधिकारीबाट पुष्टि भएको छैन।

तस्बिर स्रोत, Getty Images
अमेरिकी दूतावास सारियो
काबुललाई तालिबानले घेरेपछि अमेरिकाले आफ्नो दूतावास भवन छोड्दै काबुल अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा स्थानान्तरण गरेको छ।
हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको थियो।
आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४,००० अमेरिकी सैनिक परिचालन गरिएका छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार अफगानिस्तानमा १,४०० अमेरिकी कर्मचारी थिए।
तीमध्ये सानो समूह मात्रै केही समयका लागि काबुलमा रहने र बाँकीलाई त्यहाँबाट निकालिने जनाइएको छ।

तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम
- एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
- मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
- जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
- २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
- ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी

- १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
- १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
- १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, राष्ट्रपति भवनमा तालिबान लडाकुहरू प्रवेश

के हो तालिबान?
अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।
अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।
साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।
पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।
तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।
तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।
टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।
काबुलमा तालिबान शासन
दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्यो।
सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।
राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।
सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।
सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।
तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।
तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।
तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।
दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।
बिन लादेनसँगको सम्बन्ध
सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो।
न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल-कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो।
सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो।
तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्यो।










