अफगानिस्तान द्वन्द्वः तालिबान शक्तिमा आएपछि महिलासँग कस्तो व्यवहार होला?

तस्बिर स्रोत, AFP
अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेसँगै अब तालिबान नै त्यहाँको प्रमुख राजनीतिक शक्ति बन्ने निश्चित भएको बताइएको छ।
पश्चिमा शक्ति राष्ट्रहरूसहित कैयौँले तालिबान सत्तामा आएपछि दुई दशकअघिकै जस्तो "महिला र बालिकाको भविष्य फेरि अन्धकारमा धकेलिने" चिन्ता व्यक्त गरिरहेका छन्।
तालिबानले पहिलाकै जस्तो महिलाहरूलाई पढ्न र काम गर्न नदिनुका साथै परिवारका पुरुष सदस्यबिना बाहिर निस्किन नदिने धेरैको अनुमान छ।
यद्यपि तालिबानले यसपालि त्यस्तो अवस्था नहुने बताएको छ।
अफगानिस्तानको राजधानी तालिबानले नियन्त्रणमा लिएपछि बीबीसीले अन्तर्राष्ट्रिय संस्थामा विज्ञका रूपमा उक्त देशमा काम गरेका दुईजना नेपाली महिलासँग कुराकानी गरेको छ।
उनीहरूले "तालिबानको पछिल्लो वक्तव्य हेर्दा र विश्वमा देखिएको परिवर्तनले तालिबान दुई दशकअघिको भन्दा केही बदलिएको हुनसक्ने" आशा गरेको बताएका छन्।

तस्बिर स्रोत, EPA
अफगानिस्तानमा काम गरेका ती नेपाली विज्ञ महिलाहरूको धारणा यस्तो छ।

'पहिलेकै जस्तो अन्धकार युगमा अफगानिस्तान जान्छ जस्तो लाग्दैन'
मीना पौडेल, समाजशास्त्री
मैले अफगानिस्तानमा आधार बनाएर सन् २०१६ देखि २०१९ को अन्त्यसम्म संयुक्त राष्ट्रसङ्घीय आप्रवासी नियोग आईओएममा काम गरेकी थिएँ।
त्यहाँ मैले महिलामाथि हुने लैङ्गिक हिंसा र महिला बेचबिखनविरुद्ध नीतिहरू बनाउन त्यहाँका सरकारहरूलाई सहयोग गर्न भूमिका निर्वाह गरेँ।
मैले अफगानिस्तानसहित पाकिस्तान, उज्बेकिस्तान, ताजिकिस्तान र तुर्क्मेनिस्तानका लागि पनि काम गर्नुपर्थ्यो।
त्यस बेला मैले पहिले तालिबानको शासन रहेका बेलाको अवस्था भोगेका कैयौँ महिलाहरूसँग पनि कुराकानी गर्ने अवसर पाएँ।
त्यहाँका महिलाहरूमा फरकफरक धारणा छन्।

तस्बिर स्रोत, Facebook/Meena Paudel
ग्रामीण र अलि प्रौढ महिलाहरूले परम्परागत पहिरन लगाउने र उनीहरू बुर्कामै रहने गर्थे।
उनीहरूमा खासमा पहिरनको चिन्ताभन्दा पनि द्वन्द्व समाप्त होस् र आफ्ना पतिसहित छोराहरू नमारिऊन् भन्ने चिन्ता धेरै देखिन्थ्यो।
युवा पुस्तामा तालिबानजस्ता अतिवादी शक्तिले दु:ख देलान् भन्ने चिन्ता पनि थियो।
अहिले तालिबान शक्तिमा आएपछि अब भोलि ठ्याक्कै के हुन्छ भनेर भन्न त सकिन्न।
तर मेरो अनुभवले के भन्छ भने अहिलेको परिस्थिति भनेको २५ वर्षअघिको जस्तो होइन।
विश्व परिस्थिति धेरै फेरिएको छ। संसार सञ्चारले जोडिएको छ।
अफगानिस्तानमै पनि शिक्षाले गर्दा महिला र पुरुषको चेतना परिवर्तन भएको छ।
तालिबान पनि फेरिएका छन्।
एउटै कुरा के लाग्छ भने महिलाहरूले अहिले जुन अधिकार प्रयोग गरिरहेका छन् जस्तो पढ्न पाउने र काम गर्न पाउने त्यसमा केही परिवर्तन हुन सक्छ।
त्यहाँ सहरी क्षेत्रमा अहिले युवतीहरू जीन्स पाइन्ट लगाएर पनि हिँड्न थालेका छन्।

मध्य एशिया, दक्षिण एशिया र उत्तरी अफ्रिकाका इस्लामिक देशहरूमा जत्तिकै स्वतन्त्रता त्यहाँ अहिले महिलाले उपभोग गरिरहेको देखिन्छ।
तालिबानले त्यो स्वतन्त्रतालाई खोस्छन् कि भन्ने चिन्ता देखिन्छ।
मेरो अहिले पनि काबुल, कान्दहार, हेरात, जलालाबादका महिला साथीहरूसँग कुराकानी भइरहेको छ।
उनीहरूका भनाइमा पनि स्थिति पहिलेजस्तो नहोला।
उनीहरू पनि तालिबान फेरिएको बताउँछन्।
हेरातकी एक महिलाले त तालिबानले पहिलेदेखि आफूले गरिरहेको काम गर्नु भनेर पनि अनुमति दिएको मलाई बताएकी थिइन्।
साथसाथै तालिबानका पछिल्ला भनाइहरू र उनीहरूको वक्तव्यमा पनि अधिकार कटौती गर्दैनौँ भनेको देखिन्छ। अब त्यो व्यवहारमा कति लागु हुन्छ हेर्न बाँकी छ।
अहिले तालिबानका लागि पनि ठूलो परीक्षाको घडी हो।
त्यसैले मलाई लाग्छ - अफगानिस्तान पहिलेकै जस्तो अन्धकार युगमा चाहिँ जाँदैन होला।
अहिले तालिबानलाई पश्चिमा सञ्चारमाध्यमले धेरै नै नकारात्मक बनाएका छन्। त्यसलाई आलोचनात्मक रूपले पनि हेर्नुपर्छ भन्ने मलाई लाग्छ।
त्यसैले मलाई के लाग्छ भने अफगानिस्तान तत्कालै सन् १९६०/७० को दशकको जस्तो आधुनिक नबने पनि हाम्रो तुलनामा महिलाका लागि कडा मापदण्ड भएको पाकिस्तानजस्तो बन्न सक्छ।
तर पश्चिमा शक्ति र छिमेकीले तालिबानलाई एक्ल्याए भने त्यो स्थिति फरक पनि हुन सक्छ।
तालिबानले पनि राजनीतिक शक्तिका रूपमा शासन गर्ने हो भने उदार भएर शासन गर्नुपर्ने हुन्छ।
त्यसैले म चाहिँ भविष्यप्रति आशावादी छु।

'तालिबान पक्कै पनि पहिलेभन्दा परिवर्तन भए होलान्'
डा. अरुणा उप्रेती,चिकित्सक
म अफगानिस्तानमा अमेरिकी हस्तक्षेपलगत्तै एउटा अन्तर्राष्ट्रिय संस्थाबाट जनस्वास्थ्यविज्ञका रूपमा काम गर्न अफगानिस्तान पुगेकी थिएँ।
त्यहाँ मैले छ महिना हेरातमा बसेर काम गरेँ। त्यस बेला अफगानिस्तानमा महिला चिकित्सक नै थिएनन्।
तालिबानले महिलालाई पढ्न नदिने भएकाले चिकित्सक हुने कुरै भएन।
तर पाकिस्तानमा पढेका अफगान महिला चिकित्सकहरू अमेरिकी हस्तक्षेपछि स्वदेश फर्किएका थिए।

तस्बिर स्रोत, Facebook/Aruna Uprety
पहिले त्यहाँ पुरुष चिकित्सकसँग महिलाले उपचार पनि गर्न पाउँदैन थिए।
पाकिस्तान पढेका महिला चिकित्सकहरू त गए तर उनीहरूलाई तालिमका लागि विदेश पठाउन पनि समस्या भयो।
किनकि अविवाहितलाई विदेश पठाउन नमान्ने अनि विवाहितलाई पठाउँदा पनि श्रीमान्लाई सँगै पठाउनुपर्ने।
मैले पनि त्यहाँ बस्दा शिरदेखि पाउसम्म छोप्ने कपडा लगाएर हिँड्नुपर्यो। त्यो पनि पुरुष सहकर्मीको साथमा मात्र।
महिलाहरू विद्यालय जान नपाउने र परिवार नियोजन पनि गर्न नपाउने अवस्था थियो।
एउटै पुरुषले धेरै महिलासँग विवाह गरेका हुन्थे।
मलाई तालिबान सत्तामा आएपछि त्यस्तै कुरा दोहोरिन्छ जस्तो लाग्छ।
तर एउटा के कुरा होला भने पहिलेजस्तो महिलालाई स्कूल नै जान नदिने नहोला।
तालिबान पनि सायद पहिले भन्दा त परिवर्तन पक्कै भए होलान्।
तर उनीहरूले १४ सय वर्षअघिको इस्लामिक कानुन प्रयोग गर्ने अवधारणा लिएर हिँडेकाले खासै धेरै परिवर्तन त नहोला।

के हो तालिबान?
अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।
अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।
साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

तस्बिर स्रोत, BC
पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।
'अमेरिकाले धुइँपत्ताल खोज्थ्यो, तालिबान नेता ओमार अमेरिकी सैनिक इलाकानजिकै बस्थे'
तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।
तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।
टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।
काबुलमा तालिबान शासन
दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्यो।
सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।
राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।
सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।
सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।
तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।
तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।
तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।
दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।
बिन लादेनसँगको सम्बन्ध
सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो।
न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल-कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो।
सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो।
तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्यो।














