अफगानिस्तान द्वन्द्व: 'तालिबानका अनुसार म विश्वविद्यालय जान पाउनेछु, तर कसरी थाहा छैन'

अफगानिस्तान

तस्बिर स्रोत, AFP

अफगानिस्तानमा तालिबानले आफ्नो नेतृत्वमा सरकार गठनको तयारी थालेको बताइरहँदा खासगरी महिलाप्रति विगतमा उसका नीतिलाई लिएर चासो व्यक्त भइरहेको छ।

विगतमा उसले १२ वर्षमाथिका किशोरीले विद्यालय जान नपाउने र महिलाहरूले बुर्का लगाउनैपर्ने बाध्यकारी नियमहरू लागु गरेका दृष्टान्त छन्।

यद्यपि बीबीसी विश्व सेवासँगको कुराकानीमा तालिबान प्रवक्ता सुहैल शाहीनले आगामी दिनमा महिला शिक्षा र उनीहरूले जागिर गर्न पाउने विषयमा कुनै पनि किसिमको प्रतिबन्ध नलगाउने प्रतिबद्धता जनाएका छन्।

यसै सन्दर्भमा काबुल विश्वविद्यालयमा अध्ययनरत एक छात्रा आयशासँग त्यहाँको पछिल्लो अवस्था र सर्वसाधारणको मनस्थितिबारे बीबीसी न्यूज नेपालीका गनी अन्सारीले कुराकानी गरेका छन्।

राजधानी काबुलको पछिल्लो अवस्था कस्तो छ?

मानिसहरू खासै बाहिर निस्किएका छैनन्। र, हामीलाई थाहा छैन कि सबैकुरा सामान्य अवस्थामा फर्किएपछि हामीले कसरी गतिविधि बढाउन सक्नेछौँ।

तपाईँ आफैँ काबुल विमानस्थल पुग्नुभएको थियो। तपाईँले त्यहाँको दृश्य कस्तो देख्नुभयो?

गोली चलेका केही घटनाबाहेक सबैकुरा शान्त देखिन्छ। अधिकांश पसलहरू बन्द छन्। के भइरहेको छ भन्नेबारे मानिसहरू अनभिज्ञ छन्।

हजारौँ मानिस विमानस्थलनजिक पुगेका थिए। केही त धावनमार्गमा थिए। राहदानी नभएका बालबालिका, युवा तथा वृद्धहरू समेत त्यहाँ बिना कुनै सुरक्षा जाँच पुगेका थिए। उनीहरू [सुरक्षाकर्मी] ले मानिसहरूलाई पछाडि धकेलिरहेका थिए।

धेरैजना त्यस क्रममा घाइते भएका छन्। आज मैले केही मानिसहरूको भिडमा ठेलमठेल र प्रहरीले चलाएको गोलीका कारण मृत्यु भएको खबर सुनेँ।

तालिबान लडाकु

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, अफगानिस्तानमा तालिबान शक्तिमा फर्किएको छ

तालिबानले शक्तिमा आएको विषयमा त्यहाँका मानिसहरूले के भनिरहेका छन्?

मानिसहरूलाई आफ्नो भविष्यबारे केही थाहा छैन। केही मानिसहरूले उनीहरू [तालिबान] मा परिवर्तन आएको बताइरहेका छन् भने अन्य केहीले परिवर्तन नआएको बताइरहेका छन्।

व्यक्तिगत रूपमा भन्नुपर्दा मलाई के लाग्छ भने उनीहरू केही समयका लागि नरम हुने प्रयत्न गर्नेछन् र त्यसपछि भने चुनौती सुरु हुनेछ।

हामीले यसबारे एक हप्ता जतिमा थप कुरा थाहा पाउनेछौँ।

आफूले विश्वविद्यालय तहको शिक्षा अघि बढाउन पाउने विषयमा तपाईँ कत्तिको विश्वस्त हुनुहुन्छ?

उनीहरूले टेलिभिजनमा भनेअनुसार म विश्वविद्यालय जान पाउनेछु। तर कसरी भन्नेबारे मलाई पनि थाहा छैन।

केही मानिसहरूले तालिबान फेरिएको बताइरहेका छन्। खासगरी महिला शिक्षासम्बन्धी उनीहरूको नीतिबारे तपाईँलाई के लाग्छ?

पक्कै पनि महिलाहरूका लागि धेरै प्रतिबन्ध छन्। तर कति भन्ने कुरा हामीलाई पनि थाहा छैन।

केही प्रान्तमा उनीहरू [तालिबान] ले महिलाहरूलाई काममा नआउन भनेका छन्। यो अस्थायी हो कि के हो हामीलाई थाहा छैन।

काबुल विमानस्थलमा छिर्न सङ्घर्ष गरिरहेका छन्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, काबुल विमानस्थलमा छिर्न सङ्घर्ष गरिरहेका छन्

तालिबानको नियन्त्रणपश्चात् अहिले आममानिसले आफ्ना दैनिक कामकाज गर्न पाइरहेका छन् कि छैनन्?

प्रार्थनाको समयमा पसलहरूलाई बन्द गर्न लगाइएको छ। मानिसहरूलाई मस्जिद जान बाध्य पारिएको छ।

के उनीहरूले दाह्री काटेका पुरुष वा हिजाब नलगाएका महिलाहरूलाई दण्ड दिनेछन् भन्नेबारे साँच्चै भन्नुपर्दा कसैलाई पनि थाहा छैन। हामीले यी कुरा हेर्न पर्खनैपर्ने हुन्छ।