शरिया कानुनः तालिबानले अनुसरण गर्ने भनेको यो कस्तो प्रणाली हो? अफगान महिलाका लागि यसले के फरक पार्छ?

तस्बिर स्रोत, AFP
अफगानिस्तानको सत्तामा फेरि आएको तालिबानले शरिया भनिने इस्लामिक कानुनका आधारमा देशमा शासन सञ्चालन गर्ने बताउने घोषणा गरेको छ।
झन्डै दुई दशकपछि अमेरिकी सैन्य गठबन्धन अफगानिस्तानबाट फिर्ता हुन लागेको बेला तालिबानले देशका विभिन्न प्रान्तसहित राजधानी काबुलमा आफ्नो नियन्त्रण कायम गरेका छन्।
तालिबानको पुनरागमनसँगै अफगान राष्ट्रपति देश छोडेर पलायन भएका छन्। अहिले उनी यूएईमा शरण लिइरहेका छन्।
तालिबानको डरले हजारौँ त्रसित मानिसहरू अफगानिस्तान छोड्ने प्रयास गरिरहेका छन्।
अफगानिस्तानमा के भइरहेको छ?
राजधानी काबुल नियन्त्रणमा लिइसकेपछि आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले महिला र सञ्चारमाध्यमको अधिकारलाई "इस्लामिक कानुनको दायराभित्र" सम्मान गर्ने बताए।
तर तालिबानले व्यवहारमा त्यो कसरी लागु हुन्छ भन्नेबारे केही खुलाएको छैन।
सीमावर्ती पाकिस्तानमा महिलाले पढ्न पाउनुपर्ने अभियानमा सक्रिय भएकै बेला १५ वर्षको उमेरमा तालिबानको गोलीबाट घाइते बनेकी नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले तालिबानले गर्ने शरिया कानुनको व्याख्या देशमा महिला र किशोरीको सुरक्षाको लागि घातक हुने चेतावनी दिएकी छन्।
“मैले अफगानिस्तानका महिला अधिकारकर्मीसहित केही अभियन्तासँग कुरा गर्ने अवसर मिलेको थियो। उनीहरूले आफ्नो आगामी जीवन के हुने हो भन्दै चिन्ता गरेका थिए,” उनले बीबीसीसँग भनिन्।

तस्बिर स्रोत, Getty Images
“तीमध्ये धेरैले सन् १९९६ देखि २००१ बीच (तालिबान शासन) को अवधिमा के भयो भन्ने सम्झिए। अनि उनीहरू आफ्नो सुरक्षा, अधिकार, संरक्षण पाउने कुरा र विद्यालय जान पाउने कुरामा धेरै नै चिन्तित छन्।”
व्यभिचारी र हत्यारालाई सार्वजनिक स्थलमै फाँसी दिने तालिबान शरिया कानुनको उग्र व्याख्या गर्ने समूहका रूपमा परिचित छ।
शरिया कानुन के हो?
शरिया एउटा इस्लामिक कानुनी प्रणाली हो। इस्लामिक धर्मग्रन्थ कुरानसहित सुन्नाह र हदितबाट प्रवर्तित यो कानुन इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदको व्यवहार र वचनहरूमा आधारित भएको बताइन्छ।
यदि कुनै प्रश्नको उल्लिखित व्याख्याहरूबाट समाधान नभेटिए धार्मिक विद्धान्हरूले त्यस्ता प्रश्नबारे फतवा भनिने आदेश वा निर्देशन दिन सक्छन्।
शरियाको अर्थ "पानीको एउटा स्पष्ट बाटो" भन्ने हुन्छ।
शरिया कानुनले सबै मुस्लिम धर्मावलम्बीहरूले गर्ने प्रार्थना, व्रत र गरिबहरूलाई दान दिनुपर्ने लगायत जीवनमा पालना गर्नुपर्ने नियमहरूको समेत काम गर्छ।
यसले कसरी हरेक मुस्लिमहरूले आफ्नो जीवनको प्रत्येक क्षेत्रलाई अल्लाहको इच्छा बमोजिम अघि बढाउनुपर्छ भन्ने बुझ्न सघाउने उद्देश्य लिएको हुन्छ।
यसको व्यावहारिक प्रयोगको अर्थ के हो?
शरियाले एकजना मुस्लिमलाई आफ्नो दैनिक जीवनमा आवश्यक सबै पक्षको जानकारी दिने कोसिस गरेको हुन्छ।

तस्बिर स्रोत, Getty Images
उदाहरणका लागि कामपछि मदिरालय जान कुनै सहकर्मीको प्रस्ताव मान्ने कि नमान्ने अलमलमा रहेको व्यक्तिले शरियाविज्ञसँग सल्लाह लिएर धर्मको मान्यताभित्र रहेर के-के गर्न मिल्छ भन्ने थाहा पाउन सक्छ।
मुस्लिमहरूले दैनिक जीवनका क्रियाकलापसहित पारिवारिक कानुन, पैसा र व्यापारबारे पनि शरिया कानुनको सहयोग लिन सक्छन्।
कठोर सजायमा के-के पर्छन्?
शरियाले कसुरलाई दुई वर्गमा छुट्टाएको छ।
पहिलो “हद” कसुर जुन गम्भीर अपराधसँग सम्बन्धित छ।
यसमा दिइने सजायहरू पहिल्यै तोकिएअनुसार हुन्छन्।
दोस्रो “तजीर” अपराध हो।
यसमा दिइने दण्ड न्यायाधीशको विवेकमा भर पर्छ।

तस्बिर स्रोत, Getty Images
कसुरदारको हात काटेर सजाय दिइने चोरी र थप कठोर सजाय हुनसक्ने व्यभिचार लगायतका कसुरहरू “हद” अन्तर्गत पर्छन्।
“हद” कसुरमा सजाय दिइनुअघि कसुरबारे धेरै उच्च तहका प्रमाणहरू सुनिश्चित गरिएको हुनुपर्ने मान्यता छ।
केही मुस्लिम देशहरूले “हद” कसुरमा यस्ता सजायहरू लागु गरेर अभ्यासमा समेत ल्याएका छन्।
सर्वेक्षणहरूमा मुस्लिमहरूबीच नै यस्ता कठोर सजायबारे मत बाझिएको पाइएको छ।
आदेश कसरी दिइन्छ?
अरू कानुनी प्रणालीजस्तै शरिया पनि एउटा जटिल कानुनी अभ्यास हो। अनि यो पूरै विशेषज्ञहरूको तालिम र क्षमतामा निर्भर रहन्छ।
यो प्रणालीमा इस्लामिक न्यायाधीशहरूले फतवा र आदेशहरू जारी गर्छन्। फतवा भनेको एउटा औपचारिक कानुनी आदेश हो।

तस्बिर स्रोत, Joshua Paul for the BBC
शरिया कानुनका पाँच फरक सिद्धान्त छन्।
सुन्नी मुस्लिमले मान्ने चार मान्यता हनबली, मलिकी, शफी र हनफी हुन् भने एउटा शिया मान्यता जाफरी हो।
पाँचै मान्यता शरिया कानुनको उत्पत्तिसँग जोडेर कुन हदसम्म दुरुस्तै व्याख्या गरिएको छ शब्दमा उतारिएको छ भन्ने आधारमा अलगअलग छन्।








