अफगानिस्तान: तालिबान शासकविरुद्ध नयाँ युद्ध सुरु गर्ने भूतपूर्व सैनिक जेनरलको उद्घोष

- Author, लिज डुसेट
- Role, प्रमुख अन्तर्राष्ट्रिय संवाददाता
अफगान सेनाका एक भूतपूर्व वरिष्ठ अधिकारीले बीबीसीसँग कुरा गर्दै आफू तथा अन्य कैयौँ पूर्वसैनिक र राजनीतिज्ञहरूले तालिबानविरुद्ध सैनिक कारबाही गर्न लागेको बताएका छन्।
स्पष्ट समयतालिका नबताए पनि लेफ्टिनन्ट जेनरल सामी सदातले उक्त कारबाही चाँडोमा ईदलगत्तै आगामी महिना सुरु हुनसक्ने बताए।
उनका अनुसार त्यतिबेला उनी आफू पनि अफगानिस्तान फर्किनेछन्। गत अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गर्दा भर्खरै उनले अफगान विशेष फौजको नेतृत्व सम्हालेका थिए।
अफगानिस्तानमा २० वर्षसम्म कारबाही चलाएको अमेरिकी नेतृत्वको नेटो सैनिक सङ्गठन फिर्ता भएको १० दिनभित्र कट्टरपन्थी इस्लामिक समूह तालिबानले अफगानिस्तानको शासन आफ्नो नियन्त्रणमा लिएको थियो।
त्यसयता आठ महिनासम्म अफगान जनताले तालिबानको कठोर शासन खेप्नुपरिरहेको उनले बताए।
"प्रत्येक दिन बिहान उठ्दा तालिबानले थप बर्बरतापूर्ण काम गरेको समाचार आउँछ। यातना, हत्या, जबरजस्ती बेपत्ता पारेका अनि खानेकुराको अभाव र बालबालिकाको कुपोषणजस्ता कुरा। पश्चिमा समाजलाई 'तालिबानलाई केही समय देऊ' भन्न सजिलो छ, तर त्यो भोग्नेलाई गाह्रो छ," उनले भने।
उनको समूहले तालिबानको नियन्त्रणविरुद्ध कत्तिको चुनौती दिन्छ भन्ने स्पष्ट छैन, तर अधिकांश अफगान जनता ४० वर्षभन्दा लामो समयदेखि देशमा चलिरहेको युद्धबाट वाक्क भइसकेका छन्।
बीबीसीसँग कुरा गर्दै लेफ्टिनन्ट जेनरल सामी सदातले आफ्नो समूहले "अफगानिस्तानलाई तालिबानबाट मुक्त गर्न र प्रजातान्त्रिक शासनको पुनर्बहाली गर्न" आफूले सकेजति बल लगाउने बताए।

तस्बिर स्रोत, Getty Images
"हामीले हाम्रो स्वतन्त्रता नपाएसम्म, हाम्रो स्वतन्त्र चाहाना पूरा गर्दैनौँ। हामी लडाइँ जारी राख्छौँ," उनले भने।
सदातले तालिबानले महिला र बालिकाहरूको अधिकारमा कडा प्रतिबन्धहरू लगाउनुका साथै पुनः कठोर शासन सुरु गरेको भन्दै तालिबानको अधिनायकवादी शासन रोक्न जरुरी भएको बताए।
उनले तालिबानले आठमहिने शासनकालमा राजनीतिक उद्देश्यका लागि कुरान र धार्मिक ग्रन्थहरूको दुरुपयोग गरेको आरोप लगाएका छन्।
आफूले सुरुमा तालिबानको कामगराइ १२ महिनासम्म हेर्ने विचार गरे पनि उनीहरू नसुध्रिएका कारण त्यसअघि नै विद्रोह सुरु गर्ने तयारीमा जुटेको उनको भनाइ छ।
दैनिक रूपमा सयौँ अफगानहरूले आफूलाई सन्देश पठाउँदै केही गर्न भनिरहेको सदातको दाबी छ।
तालिबान आक्रामक रूपमा अघि बढेका अन्तिम दिनहरूमा अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा सरकारी फौजको नेतृत्व सम्हालेका सदातलाई गैरसैनिकहरू हताहत हुनेगरी आक्रमणको आदेश दिएको आरोप लागेको छ।
यसबारे राखिएको प्रश्नमा उनले आफ्नो संलग्नता अस्वीकार गरे।
उनलाई गत अगस्टमा अफगान स्पेशल फोर्सको प्रमुखमा नियुक्त गरिएको थियो। तर अफगान विशेष फौजको नेतृत्व सम्हाल्न उनी काबुल पुगेकै दिन तालिबानले सत्ता हातमा लियो र राष्ट्रपति असरफ गनीले देश छोडे।
युद्धको विकल्प भए नभएको विषयमा गरिएको प्रश्नमा सदातले तालिबान उदारवादी शक्तिमा रूपान्तरण भए नयाँ उदारवादी सरकारको हिस्सा बन्न सक्ने बताए।
"हामी तालिबानको विरुद्धमा छैनौँ," आफूहरूको उद्देश्य देश तालिबानका लागि मात्रै नभएर सबैलाई बस्नयोग्य बनाउने रहेको दोहोर्याउँदै उनले भने।
सदातले अफगानिस्तानलाई पुनः स्वतन्त्र बनाउन तालिबानविरुद्ध सशस्त्र युद्ध सुरु गर्ने विषयमा अभिव्यक्ति दिएको भिडिओ हालै सञ्चारमाध्यमहरूमा आएको छ।

तस्बिर स्रोत, EPA
तालिबानले अफगानिस्तानमा युद्ध जित्नुका पछाडि विदेशी राष्ट्रहरूको सहयोग, देशभित्रै बलियो उपस्थिति र विदेशी आर्थिक अनुदान मुख्य मान्ने गरिएको छ।
तर लेफ्टिन्ट जेनरल सदात र उनका सहयोगी सशस्त्र समूहहरूसँग तालिबानलाई जस्तै समर्थन र स्रोत भए नभएको अझै स्पष्ट हुन सकेको छैन।
बीबीसीसँगको कुराकानीमा उनले आफूहरूलाई देशभक्त अफगानहरूले समर्थन र सहयोग गरेको र विदेशी समर्थन नखोजेको बताएका छन्।
तालिबानलाई अफगानिस्तानको सत्ताबाट हटाउन धेरै समूहहरू एकजुट भए पनि उनीहरू जातीय आधारमा विभाजित छन्।
सदात अफगानिस्तानमा तालिबानको प्रतिरोध गरिरहेको प्रमुख समूहमध्येको एनआरएफसँग सम्पर्कमा रहेको बताइएको छ।
उनले आफूहरू अहमद शाह मसूदका छोरा अहमद मसूदका लडाकुहरूसँग पनि सम्पर्कमा रहेको बताए।
सञ्चारमाध्यममा बाहिरिएको भिडिओमा उनले आफू उक्त समूहका नेतासँगको सम्पर्कमा रहेको स्वीकारेका छन्।








