अफगान शरणार्थी: यूकेका होटलमा अन्योलपूर्ण बास

रहमानीको परिवार।

तस्बिर स्रोत, Supplied

तस्बिरको क्याप्शन, रहमानीको परिवार।
    • Author, एलिस कडी, अली हमेदानी, आना आडम्स र एनजे कन्भेरी
    • Role, यूके इन्साइट

यूकेले शरण दिन युक्रेनी शरणार्थीहरूलाई स्वागत गरिरहँदा, ७ महिना अगावै आएका अफगान शरणार्थीहरूको सहयोगार्थ यथेष्ट कदम नचालिएकोबारे प्रश्नहरू उठ्न थालेका छन्।

गत ग्रीष्म याममा तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएसँगै जीवन रक्षार्थ ठूलो सङ्ख्यामा अफगानहरूले देश छाडेका थिए। यूकेले एक ठूलो उद्धार कार्यको नेतृत्व गरेको थियो जस अन्तर्गत १५,००० अफगानहरूलाई देश छाड्न मद्दत पुगेको थियो।

तर, सात महिना बितिसक्दा पनि अधिकांश मानिसहरू देशभरका होटलहरूमा अन्योलपूर्ण जीवन बिताइरहेका छन्। उनीहरूको बसाइ खर्च प्रति दिन १२,००,००० पाउन्ड हुने गरेको आकलन गरिएको छ।

एक दशकभन्दा लामो समय यूके सरकारका लागि काम गरेका केही अफगान शरणार्थीसँगै अन्यले बीबीसीसँगको कुराकानीमा आफ्ना परिवारलाई होटलमा ल्याउन सङ्घर्ष गर्नु परेको बताए। उनीहरूमध्ये अधिकांश आफ्नो परिवारसँग सुरक्षित जीवन बिताउने आशामा छन्।

"नयाँ जीवनको सुरुवातको निम्ति हरेक परिवारसँग आफ्नो घर हुनु आवश्यक छ," एक महिलाले भनिन्।

'म बोझ बन्न चाहन्नँ'

हामी आम नागरिकका लागि सेवा बन्द गरिएको एक होटल अवलोकन गर्न गयौँ जहाँ दर्जनौँ अफगान शरणार्थीहरू शरण लिइरहेका छन्। होटलको आगमन कक्षको नजिकै केही मानिसहरू भेला भएर अफगानिस्तानबारे पछिल्ला समाचार, आफ्ना परिवार र यूकेमा उनीहरूको जीवनबारे गफ गर्दै थिए।

होटलको कोठामा अभिभावक र बालबालिका एकसाथ बसेकाले उनीहरूको शरणार्थी जीवनको भाग दौड गल्लीबाटै ठम्याउन सकिन्थ्यो।

आफ्नी श्रीमती र ६ जना सन्तानसहित होटलमा जीवन बिताउनु फरिद रहमानीका लागि निकै कष्टकर रह्यो। उनी काबुलस्थित ब्रिटिश राजदूतावासमा दोभासेको काम गर्थे र उनलाई दूतावासले काबुल नजिकै एक धनाढ्य समुदायमा ठूलो घरको व्यवस्था गरिदिएको थियो।

गत अगस्टमा तालिबानले सत्ता नियन्त्रणमा लिएसँगै यूकेका लागि आफूले गरेको कामका कारण उनीहरूको तारो बन्छु कि भन्ने भय उनीहरूलाई अधिक थियो। तालिबान शासनमा आफ्नी श्रीमती र छोरीहरूको भविष्य के होला भनेर उनी निकै चिन्तित थिए।

उनी र उनको परिवारलाई यूकेमा शरण दिइनेबारे फोन आउँदा उनीहरूका लागि एयरपोर्ट पुग्न जम्मा १५ मिनेट बाँकी थियो। एयरपोर्टमा देश छोड्न लागेका हताश अफगानहरूको भिड थियो।

आफ्नो जागिरे जीवनमा फरिद साताको ६ दिन काम गर्थे र फुर्सदको समयमा आफ्ना बालबच्चासँग रमाउँथे।

अफगान शरणार्थी।

तस्बिर स्रोत, Supplied

अहिले उनीसँग गाडी छैन र यातायातको पहुँच सीमित छ। आफ्ना सन्तानहरूलाई विद्यालय पुर्‍याउँदा बाहेक उनी बिरलै बाहिर निस्कन्छन्। उनको परिवार होटलको चार फरक कोठामा विभाजित छ र त्यसमध्ये एकमा उनी आफ्नी श्रीमती र दुई छोरीहरूसँग बस्छन्।

"हामी यहाँ केही पनि गर्दैनौँ। त्यसैले त मेरो जीवन पट्यार लाग्दो भएको छ," उनले हामीलाई सुनाए। "सुरुवातमा हामीलाई यहाँ ४ हप्ताभन्दा बढी बस्नु पर्दैन जस्तो लागेको थियो। होटलमा यति लामो समय बिताउनु निकै कष्टकर छ।"

उनको परिवार आफूले लगाएको लुगाबाहेक निकै कम सामग्री लिएर यूके आएको थियो। आफूलाई गरिएको सहयोगप्रति फरिद निकै कृतज्ञ छन्।

बसोबास साथै शरणार्थी परिवारहरूलाई दिनहुँ खाना र लुगा धुने सुविधा दिइन्छ। उनीहरूका बालबच्चाहरू विद्यालयमा भर्ना भएका छन् र दैनिक खर्चका लागि हरेक परिवारले सरकारबाट केही सहयोग रकम पाउँछ।

हामीले कुरा गरेका अन्य मानिसझैँ फरिद पनि कुनै दिन जागिर र आफ्नै घर होस् भन्ने सपना देख्छन्। उनले आफ्ना सन्तानले बारम्बार आफूलाई यहाँबाट पर्याप्त खेल्ने ठाउँ भएको नयाँ घरमा कहिले सर्नेबारे सोधिरहने सुनाए। तर उनीसँग यस प्रश्नको जवाफ छैन।

"हामी यहाँ अझै कति समय रहन्छौँ थाहा छैन। सायद एक महिना, दुई महिना वा तीन महिना। हाम्रो आवास हेर्ने व्यक्तिका अनुसार यूकेमा घर पाउन निकै कठिन छ," उनले भने।

उनका अनुसार उनी युकेमा काम गर्नका लागि योग्य छन् तर कहाँ बस्ने टुङ्गो नलागेसम्म काम पाउनु असम्भव छ। "मलाई देशको जुन कुनामा घर दिए पनि म अस्वीकार गर्दिनँ। म जुनसुकै काम गर्न तत्पर छु। चाहे पसलमा होस् या अन्यत्र कहीँ। म सरकारका निम्ति थप बोझ बन्न चाहन्न।"

'हामी जीवनको नयाँ सुरुवात गर्न चाहन्छौँ'

फरिद होटल आवासमा रहेका १२,००० अफगान शरणार्थीहरूमध्ये एक हुन्। देशभरमा हामीले अफगान सरकारको उच्च पदमा काम गरेका अर्का शरणार्थी भेट्यौँ। उनी सहरस्थित एक होटलमा आफ्नो श्रीमान् र सन्तानहरूसँग एउटा कोठामा बस्छिन्।

"हाम्रो जीवन बचाइ दिएकोमा हामी यूके सरकारप्रति आभारी छौँ। हामी यहाँ हुनु नै ठूलो कुरा हो- सबै अफगानहरूले यस्तो मौका पाएनन्।"

"तर लामो समय होटलमा बिताउनुले हामीलाई थकित तुल्याएको महसुस गरेका छौँ। हामीलाई अन्यत्र सार्न सम्भव भएको खण्डमा हामीले आफ्नो जीवन पुनः सुरु गर्न सक्थ्यौँ," उनले भनिन्।

ब्रिटिस सेनामा काम गरेका एक अफगान व्यक्ति उद्धारको क्रममा आफ्नी गर्भवती श्रीमती र सन्तानहरूबाट टाढिए पछि होटलमा एक्लै बस्छन्। उनले आफ्नो परिवारसँग पुनर्मिलनको चाहना भएको र एक पसल सञ्चालन गरेर बस्न मन लागेको उनले बीबीसीसँग बताए।

अहिले उनको जीवन होटलको कोठामा साँघुरिएको छ। उनी आफ्नो दैनिकी अफगानिस्तानमा रहेका आफ्नो परिवारसँग कुरा गरेर, होटलमा रहेका अन्य अफगानसँग गफिएर र यूट्यूब भिडिओमार्फत अङ्ग्रेजी सिकेर व्यतीत गर्छन्।

कोठाको एक कुनामा आफ्ना सरसामानसहित एक सुटकेस राखिएको छ र टेबलमाथि नखाइएको खानाको एक थाल छ। आफ्नो परिवार अफगानिस्तानमा रहँदा आफूलाई खाना नरुच्ने उनले बताए।

"सरकारले मेरो परिवारलाई उद्धार गर्न मद्दत गरिदिए पुग्छ। म विगत त्यागेर नयाँ भविष्यको सुरुवात गर्न चाहन्छु," उनले आँसु झार्दै भने। "जब मेरो परिवार यहाँ हुनेछ तब म मेरा सन्तानहरू डाक्टर वा इन्जिनियर भएको हेर्न चाहन्छु।"

अफगान शरणार्थी।

तस्बिर स्रोत, AFP via Getty Images

शरणार्थीको आवास हेर्ने निकायले होटलहरू तत्कालीन समाधान भएको र उचित र स्थायी आवासको व्यवस्था गर्न स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको बतायो।

बीबीसीलाई दिइएको एक जानकारीमा उक्त निकायले ४,००० भन्दा बढी आवास प्रदान गरेको र उक्त कार्यबाट आफूले "गर्व" महसुस गरेको बतायो।

साथै अफगान परिवारहरूलाई स्थायी घर प्रदान गरेर उनीहरूको जीवन सुरुवातका निम्ति स्थानीय अधिकारीहरूसँग सहकार्य भइरहेको बतायो। तर सरकारले आफ्नो सहयोगको मात्रा वृद्धि गर्नु पर्ने आवाजहरू उठिरहेका छन्।

पछिल्लो विज्ञप्तिमा सांसदहरू, शरणार्थी परोपकार समाज र अन्य नागरिक समाजहरूले "अफगानहरूका लागि घर" नामक योजना अघि सारिनु पर्ने माग गरेका छन्।

उक्त पत्रमा युक्रेनबाट पलायन भएकाहरूलाई दिइएको सहयोगबाट अफगानहरूलाई दिइने सहयोग छुट्टाउनु पर्ने सुझाइएको छ। साथै शरणार्थीहरूका लागि दाताको रूपमा काम गर्ने संस्थाको अवधारणा समेत अघि सारेको छ।

पत्रका अनुसार अफगान शरणार्थीहरू प्रति यूके सरकारले "सम्मानको ऋण" बोकेको छ र अफगानहरूका लागि होटलमा बसेर नयाँ सुरुवात गर्नु असम्भव छ।

उक्त पत्रमा हस्ताक्षर गरेका सांसद डेमियन ग्रीन आफ्नो क्षेत्रका होटलहरूमा शरणार्थी राखिने कार्य निकै प्रभावकारी र रोजगारयोग्य कदम भएको बताउँछन्।

"उनीहरूमध्ये कतिलाई जागिर दिइएको छ। स्थायी आवास नभएका कारण उनीहरूले काम गर्न सकेका छैनन्," उनले बीबीसी टूडे कार्यक्रममा भने।

ब्रिटिश सेना।

तस्बिर स्रोत, Ministry of Defence

गैर सरकारी संस्थाहरूले, शरणार्थीहरूलाई लामो समय त्यसरी होटलमा राखिँदा उनीहरूमा पर्ने असरप्रति चिन्ता व्यक्त गरेका छन्।

"यूके भित्रिएको महिनौँ बित्दा पनि हजारौँ अफगानहरू साँघुरो र भिडभाडयुक्त होटलका कोठाहरूमा बसिरहेका छन्। यो बिलकुलै अस्वीकार्य छ," ह्युमन राइट्स वाच यूकेका निर्देशक यास्मिन एहमदले भनिन्।

"तीमध्येका कतिले त सोच्नै नसकिने आघात भोगेका छन् र कतिपय आफ्नो मानसिक स्वास्थ्यसँग सङ्घर्षरत छन्। आफूलाई नयाँ आवास कहिले दिइन्छ भन्ने टुङ्गो नलाग्नुले उनीहरूमाथि थप बोझ थपेको छ।"

फरिदका लागि स्थायी आवासमा स्थानान्तरण हुनु छिटो नहुन सक्छ।

"होटलमा जीवन पट्यार लाग्दो छ तर मलाई यो विश्वास छ हामी नयाँ घरमा सरेपछि हामीसँग धेरै सम्भावनाहरू र यूकेमा शान्त जीवन बिताउन पाउनेछौँ।"