अफगानिस्तान: टिकटक र पब्जीमा प्रतिबन्ध लगाउन तालिबानको आदेश

तस्बिर स्रोत, Getty Images
तालिबानले भिडिओ शेअर गर्ने एप टिकटक र अनलाइन मल्टिप्लेअर गेम पब्जीमा प्रतिबन्ध लगाउन आदेश दिएको छ। टिकटक र पब्जीले अफगान युवाहरूलाई गलत दिशामा डोर्याएको तालिबानको आरोप छ।
उक्त लडाकु समूहले टेलिभिजनहरूलाई पनि अनैतिक सामग्री प्रसारणमा प्रतिबन्ध लगाउने बताएको छ।
हालै सङ्गीत, चलचित्र र टेलिभिजन धारावाहिकमा प्रतिबन्ध लगाएको तालिबानले थप प्रतिबन्धहरूको घोषणा गरेको हो।
गत वर्ष सत्तामा पुगेपछि तालिबानले नरम नीति लिने वाचा गरेको थियो। तर सरकारमा पुगेपछि तालिबानले विशेष गरी महिलासहित नागरिकको स्वतन्त्रतामाथि नियन्त्रण बढाउँदै लगेको छ।
सन् १९९६ देखि २००१ सम्मको तालिबानको पहिलो शासनकालमा कठोर इस्लामिक कानुनहरू लागु गरिएको थियो।
तालिबानका प्रवक्ता इनामुल्लाह समाङ्गनीले "युवाहरूलाई बहकाउबाट जोगाउन" पछिल्लो प्रतिबन्ध अत्यावश्यक रहेको बताए।
तर प्रतिबन्ध कहिलेबाट कार्यान्वयनमा आउँछ र कति समयका लागि कायम रहन्छ भन्ने अझै स्पष्ट छैन।
गत अगस्टमा सत्तामा आएको तालिबानले कुनै एपमा प्रतिबन्ध लगाएको यो नै पहिलो घटना हो।
मनोरञ्जनका अन्य माध्यमहरूमा प्रतिबन्ध लागेपछि अफगान युवाहरूमा पछिल्लो समय टिकटक र पब्जी बढी सान्दर्भिक हुँदै गएको बीबीसी अफगान सेवाका सम्पादक हमीद सुजा बताउँछन्।
विशेष गरी अफगान युवकहरू छोटो र हास्यरसपूर्ण भिडिओ खिचेर टिकटकमा राख्दै रमाउन थालेको हाम्रा सहकर्मीहरू बताउँछन्।
पब्जी के हो
दक्षिण कोरियाली निर्माताले बनाएको अनलाइनमा युद्धको अनुभव दिलाउने पब्जी 'प्लेयर्स अननोन्स ब्याटलग्राउण्ड' को छोटो नाम हो। यो गेम पनि अफगानिस्तानमा लोकप्रिय बन्दै गएको छ।
यसअघिको सरकारले पनि पब्जीमा प्रतिबन्ध लगाउने प्रयास गरेको थियो तर सफल भएको थिएन।
अफगानिस्तानमा पछिल्ला वर्षहरूमा युवा जनसङ्ख्यासँगै इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। यो देशमा अहिले दशौँ लाख इन्टरनेटका प्रयोगकर्ता छन्।
अफगानिस्तानमा तीन करोड ९० लाख जनसङ्ख्याको करिब दुई तिहाइ मानिसहरू २५ वर्ष वा त्यो भन्दा कम उमेरका छन्।
मजर-ए-शरिफमा सिया समुदायको मस्जिदसहित फरक फरक चार ठाउँमा बम विस्फोट भएकै दिन गत बिहीवार प्रतिबन्धको घोषणा गरिएको हो।
इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त घटनाहरूमा ३१ जना मारिनुका साथै ८७ जना घाइते भएका थिए।
दक्षिण एसियामा कहाँ-कहाँ प्रतिबन्ध
दक्षिण एसियामा भारतसहित धेरै देशले पब्जी खेलमा प्रतिबन्ध लगाएका छन्।
विद्यालय जाने उमेरका बालबालिकादेखि वयस्कहरूसमेत खेलको लतमा परेको र विभिन्न प्रकारका सामाजिक समस्या उत्पन्न भएको भन्दै नेपालले सन् २०१९मै पब्जीमा प्रतिबन्ध लगाएको थियो।
तर सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रतिबन्ध लागु भएन।

तस्बिर स्रोत, Reuters
यो खेलले बालबालिकालाई लतमा पारेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने माग अभिभावकहरूले समय समयमा गर्ने गरेका छन्।
भारतमा दक्षिण कोरियाली कम्पनीको पब्जीसँगै चिनियाँ कम्पनी जोडिएका टिकटक, विच्याट लगायत ५९ वटा लोकप्रिय एपहरूलाई राष्ट्रिय सुरक्षाको सरोकार देखाउँदै सन् २०२० मा प्रतिबन्ध लगाइएको थियो।
किन लाग्छ यो खेलको बानी?
पब्जी लगायतका अनलाइन खेलहरूमा बालबालिका तथा किशोरकिशोरीहरू आकर्षित हुनुको एउटा कारण खेलको निर्माण प्रक्रिया पनि रहेको बाल मनोचिकित्सक डा. जया रेग्मी बताउँछिन्।
"अनलाइन गेममा तत्काल रिवार्ड हुन्छ। छिटोछिटो नयाँ चीजहरू र लेभलहरू आइराखेपछि खेलिरहन मन लाग्ने हुन्छ। यसले एक किसिमको उत्साह दिन्छ," उनले भनिन्।
तर समय मिलाएर र बुझेर खेलेमा अनलाइन खेलले हानि मात्रै नगर्ने उनको भनाइ छ।
त्यसबाहेक अभिभावकहरूको व्यस्त जीवनशैलीसँगै सन्तानसँग बिताउने समयमा कमी, आफ्ना उमेर समूहका साथीहरूको कमी र घर बाहिर निस्किएर खेल्ने अवस्थामा सीमितता रहेका कारण अनलाइन गेममा आकर्षण बढिरहेको चिकित्सकहरू बताउँछन्।









