इन्टरनेट: सन् २०२१ मा विश्वले गुगलमा सबैभन्दा धेरै के खोज्यो

स्क्वीड गेम

तस्बिर स्रोत, Netflix

गुगलले आफ्नो साइटमा सन् २०२१ मा गरिएको खोजीबाट देखिएका महत्त्वपूर्ण प्रवृत्ति र विषयवस्तुसम्बन्धी वार्षिक सूची सार्वजनिक गरेको छ।

सो सूचीले यो वर्षको उतारचढावबारे एउटा झलक दिन्छ र पुराना कुराहरूलाई स्मरण गराउँछ।

संसारको सबैभन्दा लोकप्रिय सर्च इन्जिनको रूपमा रहेको यो विशाल प्रविधि कम्पनीले वर्षभरि सबैभन्दा धेरै खोजी गरिएका प्रश्न र शीर्षकहरूबारे हरेक वर्षको अन्त्यतिर विवरण सार्वजनिक गर्दै आएको छ।

एउटा कठिन वर्ष

विश्वभरि कोभिड महामारीले आक्रान्त बनाइरहँदा एउटा लोकप्रिय सर्च पदावली 'डूमस्क्रोलिङ'सँगै हामी सन् २०२१ मा प्रवेश गर्‍यौँ जसले त्यो समयको मर्मलाई प्रतिबिम्बित गर्छ।

झन् खराब समाचार आउन सक्ने अनुमानसहित लगातार मोबाइलको स्क्रीन स्क्रोल गर्ने कार्यलाई सो शब्दले दर्साउँछ।

गुगलका अनुसार विश्वभरि 'डूमस्क्रोलिङ' भन्ने शब्दलाई हालसम्मकै सबैभन्दा धेरै सर्च गरिएको छ जसको उत्कर्ष गत ज्यानुअरीमा देखियो।

विश्वभरि नै धेरै मानिसका लागि अनिश्चितता र तनावको समय रह्यो।

सीमानाकाहरू बन्द भए, हवाई सेवा रोकियो र लकडाउनहरू भए।

मानिसहरू अनलाइनमा कोभिड-१९ सम्बन्धी ताजा विवरणहरू हेर्न थाले र धेरै मानिसले 'डूमस्क्रोलिङ' को अर्थ सर्च गरे।

फोन

तस्बिर स्रोत, Getty Images

मानसिक स्वास्थ्य

सन् २०२१ मा 'मेन्टल हेल्थ' अर्थात्‌ मानसिक स्वास्थ्य विश्वभरि नै हालसम्मकै धेरै सर्च गरियो।

आइसोलेशनमा बस्दा एक्लोपन र आफन्तहरू गुमाएको पीडा भोगेसँगै त्यो शब्दको सर्च धेरै भयो।

विश्वले 'हाउ टु मेन्टेन मेन्टल हेल्थ' अर्थात् मानसिक स्वास्थ्य कसरी राम्रो राख्ने र 'हाउ टु हील' अथवा मानसिक समस्याको समाधान कसरी गर्ने भन्नेबारे हालसम्मकै धेरै सर्च गर्‍यो।

जलवायु परिवर्तन

हामीले हाम्रो स्वास्थ्यको बारेमा मात्रै चिन्ता गरेनौँ बरु हाम्रो ग्रहको स्वास्थ्य पनि हाम्रो मतिष्कमा रह्यो।

जलवायु परिवर्तनको भयावह असरका रूपमा विश्वले सन् २०२१ मा आइडा नामक समुद्री तुफानदेखि खडेरी र भीषण डढेलोसम्मको सामना गर्‍यो।

गुगल तथ्याङ्कका अनुसार हामीले यसअघि कहिले खोजी नगरेको स्तरमा हरियालीसहित र अझ राम्रोसँग बस्ने तरिकाहरूबारे सोधखोज गर्‍यौँ।

बाढी

तस्बिर स्रोत, Getty Images

पैसाले अर्थ राख्छ

खासगरी कोभिड महामारीले निम्त्याएको आर्थिक अनिश्चितताबीच मानिसहरू जागिर र अर्थसम्बन्धी सुरक्षालाई लिएर चिन्तित रहिआएका छन्।

गएको वर्ष आफैँ मालिक हुने कुरामा रुचि बढेको देखियो।

सन् २०२० मा विश्वले नयाँ उद्यमबारे धेरै सोधखोज गरेको पाइयो: 'हाउ टु गेट ए जब' अर्थात्‌ जागिर कसरी पाउने भन्दा 'हाउ टु स्टार्ट ए बिजनेस' अर्थात्‌ व्यवसाय कसरी सुरु गर्ने भन्ने शब्दावली धेरै सर्च गरेको देखियो।

अमेरिकाको श्रम मन्त्रालयका अनुसार त्यहाँ मात्रै गत अक्टोबरमा ४० लाखभन्दा बढी मानिसले जागिर गुमाएका छन्।

महिला मालिक

तस्बिर स्रोत, Getty Images

एनएफटी के हो?

पैसा कमाउनेबारे मानिसहरूको रुचि देखिएको अर्को शीर्षक रह्यो - एनएफटीहरू।

एनएफटी अर्थात्‌ ननफन्जिबल टोकन यस्तो डिजिटल चित्र अथवा कलाकृति हो जसको स्वामित्व पुष्टि गर्नका लागि बनाइएको टोकन किनबेच गर्न सकिन्छ।

ट्विटरका संस्थापक ज्याक डोर्सीको एनएफटीको पहिलो ट्वीट २९ लाख डलरमा विक्री भएपछि त्यसबारे हाम्रो जिज्ञासा उत्कर्षमा पुग्यो।

त्यो डिजिटल सम्पत्तिबारे हामीले थप जान्न चाह्यौँ। संसारले एनएफटी शब्दलाई माथि राखेर 'टु क्रिएट' भन्ने टर्म सर्च गर्‍यो।

मानसिक स्वास्थ्य

तस्बिर स्रोत, Getty Images

शाही सेलिब्रिटीहरू

शाही भूमिका परित्याग गरेपछि यूकेका राजकुमार ह्यारी र उनी श्रीमती मेगन मार्कलले गत मार्च महिनामा अमेरिकी प्रस्तोता ओप्रा विन्फ्रेलाई आफ्नो पहिलो टेलिभिजन अन्तर्वार्ता दिए।

गुगल ट्रेन्ड इतिहासमा त्यो विश्वभरि 'सबैभन्दा धेरै सर्च भएको' अन्तर्वार्ता बन्यो।

अन्तर्वार्तामा उक्त दम्पतीले ब्रिटिश शाही परिवारसँग आफूहरूको तनावपूर्ण सम्बन्धबारे खुलासा गरे अनि उनीहरूको छोराको त्वचाको रङ्गबारे पनि कुरा उठेको चर्चा भयो जुन विश्वभरि समाचारमा चर्चा पायो।

तर सन् २०२१ का लागि त्यो मात्रै टेलिभिजनमा चर्चित क्षण थिएन।

कोरियाली नाटक

स्क्वीड गेम

तस्बिर स्रोत, Netflix

अधिकांश समय घरभित्रै बस्दा सानो स्क्रीनअगाडि बसेर शृङ्खलाबद्ध कार्यक्रमहरू हेर्न मानिसहरूसँग पर्याप्त समय भयो।

नेटफ्लिक्समा दक्षिण कोरियाली टेलिशृङ्खला स्क्विड गेम विश्वभरि सबैभन्दा बढी सर्च गरिएको कार्यक्रम हो।

जीवनमै परिवर्तन ल्याउन सक्ने नगद पुरस्कार शृङ्खलाबद्ध घातक खेलहरूमा बाँच्नुपर्ने मानिसहरूको एउटा समूहको कथाले विश्वलाई मन्त्रमुग्ध बनायो।

र नेटफ्लिक्समा त्यो सबैभन्दा धेरै हेरिएको कार्यक्रम बन्न सफल भयो।