इन्टरनेट कुलतः के यो विश्वभरि ठूलो समस्या बनेर फैलिरहेको छ?

क्याम एड्यर

तस्बिर स्रोत, Deepak Kanda

तस्बिरको क्याप्शन, क्याम एड्यर अहिले इन्टरनेट दुर्व्यसनका खतराबारे प्रवचन दिन्छन्

आत्महत्या गर्ने विचार मनमा आएपछि बल्ल क्याम एड्यरले भिडिओ गेमप्रतिको आफ्नो लगाव कुलत बनिसकेको भेउ पाए।

“मैले १० वर्ष सङ्घर्ष गरेँ,” उनी भन्छन्, “विद्यालय छोडेँ, कलेज कहिल्यै गइनँ अनि परिवारलाई झुक्क्याउन जागिर भएको जस्तो गरेँ।”

“मैले आत्महत्या गर्ने विचार गरेर पत्र लेखेँ र त्यो लेखेको रात मलाई महसुस भयो कि मलाई सहयोग चाहिएको छ। आज म गेमिङ कुलतबाट मुक्त भएको ३,८६० दिन भयो।”

क्यानडाका ३२ वर्षीय एड्यरले त्यसपछि यस्तो कुलतसँग सङ्घर्ष गरिरहेका व्यक्तिलाई सहयोग गर्ने अनलाइन समुदाय गेम क्विटर्स स्थापना गरे।

सो समुदायमा अहिले विश्वभरि ७५ हजारभन्दा बढी सदस्य छन्।

कोभिड महामारीको समयमा प्रविधि र विशेषतः इन्टरनेटले संसार सञ्चालन सहयोग गरिरहेको छ तर आफूजस्ता मानिसलाई यसले गाह्रो बनाएको एड्यर बताउँछन्।

भिडिओ गेम खेल्दै एक किशोर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, किशोरावस्था र युवावस्थाका मानिसहरू घण्टौँसम्म कम्प्युटर गेम खेल्छन्

“महामारीका कारण मैले ट्विच (कम्प्युटर गेम खेल्ने मानिसहरूको प्रत्यक्षप्रसारणमा केन्द्रित सेवा) र यूट्यूबमा अरू बेलाभन्दा बढी समय बिताएँ,” एड्यर भन्छन्।

“त्यसका धेरै भिडिओहरू गेमसम्बन्धी छन् जुन मजस्ता मानिसलाई फेरि कुलतमा फर्काउने कारक बन्न सक्छन्। धन्न म त्यता गइनँ तर गेम क्विटर्सका धेरै मानिसहरू दुर्भाग्यवश फेरि कुलतमा फसेका छन्।”

अमेरिकी न्याश्नल लाइब्रेरी अफ मेडिसिनले कम्प्युटर गेमप्रतिको अत्यधिक रुचिलाई इन्टरनेट कुलत मान्छ।

उसले यसलाई कम्प्युटर प्रयोग र इन्टरनेट पहुँचसम्बन्धी त्यस्ता अत्यधिक वा अनियन्त्रित व्यवहार वा दबाव वा सोच मान्छ जसले दैनिक जीवनमा समस्या वा मानसिक अवस्थामा असर पार्छ।

कतिपयले यसलाई मदिरा वा लागुपदार्थको दुर्व्यसनजस्तो गम्भीर नमाने पनि भुक्तभोगीका लागि यो दुर्बल बनाउने समस्या हो। न्यूरोसाइन्टिस्ट र डिजिटल दुर्व्यसनविज्ञ डा. एन्ड्रू डोअन बन्दाबन्दीले समस्या झन् बढाएको स्वीकार्छन्।

बालबालिका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बालबालिकाले पनि विद्युतीय उपकरणको धेरै प्रयोग गर्न थालेका छन्

“जीवनमा तनावले दुर्व्यसन र छल्ने प्रवृत्तितर्फ डोर्‍याउँछ,” उनी भन्छन्। “महामारीले तनाव बढाएको छ र योबाट भाग्ने सहज उपाय भनेको गेम वा सामाजिक सञ्जालजस्ता डिजिटल माध्यममा मनोरञ्जन हो।”

“तनावबाट भाग्ने धेरै प्रयास गर्दा कुलतको जोखिम बढ्छ।”

इन्टरनेट दुर्व्यसनबाट बचाउन धेरै प्रविधि कम्पनीहरूले वेबसाइट वा गेमको प्रयोग नियन्त्रित गर्ने सेवाहरू बनाएका छन्।

त्यस्तै एउटा सेवा बालबालिकाका अभिभावकलक्षित लाइनवाइज हो।

स्मार्टफोनबाट जुवा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बेटब्लकरले जुवा खेलाउने हजारौँ वेबसाइटलाई ब्लक गरिदिन्छ

वेबसाइट र एपको उपलब्ध यो सेवाले अभिभावकलाई टाढैबाट बालबालिकाले ल्यापटप वा मोबाइल फोनबाट इन्टरनेट र गेम पहुँचलाई नियन्त्रण गर्न सघाउँछ।

लाइनवाइजका अश्लील र हिंसात्मक सामग्रीको पहुँच रोक्ने व्यवस्था पनि छ।

“पच्चीस वर्षको उमेर नपुगेसम्म हामीमा अनलाइनमा स्वास्थ्य र सन्तुलित समय व्यवस्थापन गर्ने मानसिक सीप विकास भएको हुँदैन,” मनोवैज्ञानिक टिडोरा पाभ्कभिक भन्छिन्।

“अनलाइनका कुराहरू हाम्रो समय, ध्यान र तथ्याङ्कको अत्यधिक प्रयोग गर्नेगरी बनाइन्छ र त्यसका साथै इन्टरनेटमार्फत् हुने अन्य जोखिमहरूका कारण बालबालिकालाई लागि अनलाइन संसारमा सन्तुलित, सुरक्षित र जिम्मेवार तरिकाले रहनु असहज हुन्छ।”

वयस्कहरूका लागि इन्टरनेट कुलत गेमिङ कुलतसँग मिसिन्छ अनि पछि जुवा सेवाको प्रयोगले झन् कठिन बन्छ।

लकडाउनका कारण बालबालिका र वयस्क इन्टरनेटमा बढी झुम्मिन थालेका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लकडाउनका कारण बालबालिका र वयस्क इन्टरनेटमा बढी झुम्मिन थालेका छन्

'बेटब्लकर' जस्ता एपले बाजी थाप्ने साइटहरूसम्मको पहुँचलाई नियन्त्रित गर्छन्। निःशुल्क उपलब्ध बेटब्लकरलाई आफैँले वा अन्य व्यक्तिले नियन्त्रण गर्नेगरी चलाउन सकिन्छ।

“जुवा टाढैबाट इन्टरनेटमार्फत् खेल्न मिल्ने भएपछि जुवाको कुलतमा फसेकाहरूका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ,” बेटब्लकरका संस्थापक डन्कन गार्भीले भने।

“प्रत्येक व्यक्ति खल्तीमा जुवाघर वा जुवा दलाल बोकेर हिँडेको छ। कसैलाई थाहै नदिई खेल्न सजिलो भएको छ।“

हूक्ड अन गेम्स: द ल्यूर एन्ड कस्ट अफ भिडिओ गेम्स एन्ड इन्टरनेट अडिक्शनका लेखक डा. डोअन इन्टरनेटलाई दुई फरक कुरा मानेर हेर्नुपर्ने बताउँछन्।

“म डिजिटल माध्यमलाई दुई प्रकारमा छुट्ट्याउँछु: डिजिटल चिनी र डिजिटल तरकारी। अनलाइन थेरपीजस्ता कुराहरू भएको डिजिटल तरकारी मानिसहरूको तनाव व्यवस्थापन गर्न र कुलतबाट मुक्ति पाउन प्रयोग गर्न सकिन्छ,” उनले भने।

“गेम, अश्लील सामग्री र कार्यबाहिर सामाजिक सञ्जालको अत्यधिक प्रयोग डिजिटल चिनी हो जसले दुर्व्यसन बढाउँछ।”

डा. डोअनका अनुसार हामीले इन्टरनेटमा बिताउने समय बढ्दै जाँदा कम्प्युटर गेम र इन्टरनेट दुर्व्यसनको समस्या बढ्ने बताउँछन्।

तर क्याम एड्यर नयाँ प्रविधिहरूले समस्या निराकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउँछन्। उनले आफ्नो व्यवहारको बारेमा चिन्ता लागेका चिकित्सकको सल्लाह लिनु आवश्यक रहेको बताए।

“सहयोग माग्दा मेरो जीवन जोगियो,” एड्यर भन्छन्।

"म मेरो कुलतको समयमा भ्रमित, एक्लो, रिसाहा र अगम्य थिएँ। अहिले म खुसी, सन्तुष्ट र सामान्य जीवनको तनावसँग सामना गर्न सक्षम छु।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, बालबालिकालाई पोर्नबाट जोगाउन यस्तो उपाय