यी वैज्ञानिक किन डिजिटल प्रविधि बालबालिकाको मस्तिष्क र बौद्धिक विकासका लागि राम्रो हुँदैन भन्छन्

तस्बिर स्रोत, Getty Images
फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे भन्छन्, "अहिले हामीले बालबालिकासँग जे गरिरहेका छौँ त्यो कुनै किसिमले पनि क्षम्य छैन।"
मानिसहरूले बालबालिकाको भविष्य खतरामा पारिदिएको उनले बीबीसीलाई बताएका छन्।
डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन (अर इडीअट) फ्याक्ट्री' मा डिजिटल प्रविधिलाई मूर्ख उत्पादन गर्ने उद्योगसँग तुलना गर्दै त्यस्तो दाबी गरेका छन्।
उनका शब्द प्रियकर नलागे पनि यी वैज्ञानिकले आफ्नो धारणा तथ्याङ्कमा आधारित भएको बताए।
फ्रान्सको राष्ट्रिय स्वास्थ्य संस्थामा अनुसन्धान निर्देशक र आफ्नो विषयका विज्ञका रूपमा विश्वका चर्चित विश्वविद्यालय एमआईटी र यूनिभर्सिटी अफ क्यालिफोर्नियामा काम गरेका यी वैज्ञानिकको पुस्तकले हामी आफ्नो बच्चा कसरी हुर्काउँछौँ भन्नेमा व्यापक बहस निम्त्याएको छ।
प्राज्ञिक समूहभन्दा बाहिर पनि उनी केही लोकप्रिय छन् र फ्रान्समा सर्वाधिक विक्री भएको सूचीमा परेको उनको पुस्तक इटालियन र स्पेनिश भाषामा पनि अनुवाद भइसकेको छ।

तस्बिर स्रोत, Getty Images
यो पुस्तकले ‘डिजिटल नेटिभ्स’ अर्थात् इन्टरनेट लोकप्रिय भइसकेपछि जन्मिएका बालबालिकाको आईक्यू (बौद्धिक स्तरको मान) तिनका आमाबुवाभन्दा कम रहेको तर्क गरेको छ।
शृङ्खलाबद्ध परीक्षणबाट कसैको बौद्धिक स्तर कति छ भनेर गरिने गणना गरिन्छ।
विद्युतीय प्रविधि आउनुअघि प्रत्येक नयाँ पुस्ता अघिल्लो पुस्ताभन्दा बाठो भएको डेस्म्युजेको तर्क छ।
प्रस्तुत छ उनीसँग बीबीसीले गरेको कुराकानीको अंश:
के अहिलेको युवा पुस्ता अघिल्लो पुस्ताको तुलनामा कम आईक्यू भएको पहिलो पुस्ता हो?
हो। आइईक्यू विशिष्ट परीक्षणबाट जाँच गरिन्छ तर अधिकांश अवस्थामा त्यसको विधि परिमार्जन भइरहन्छ।
मेरा अभिभावकले मैले उत्तीर्ण गरेकै परीक्षा दिएका थिएनन्। तर मानिसहरूको एउटा समूहलाई पुरानै परीक्षामा पनि राख्न सकिन्छ।

तस्बिर स्रोत, Michel Desmurget
त्यसो गरेर अनुसन्धानकर्ताहरूले विश्वका धेरै स्थानमा एउटा पुस्ताबाट अर्को पुस्ता आइपुग्दा आईक्यू बढेको पत्ता लगाए।
यो प्रवृत्तिको व्याख्या गर्ने अमेरिकी वैज्ञानिकका नाममा यसलाई ‘फ्लीन इफेक्ट’ भनिएको थियो। तर अहिले धेरै देशहरूमा त्यो क्रम उल्टिन थालेको छ।
स्वास्थ्य प्रणाली, विद्यालय प्रणाली र पोषणजस्ता कुराले आईक्यूमा महत्त्वपूर्ण प्रभाव पार्छ। तर दशकौँदेखि आर्थिक सामाजिक अवस्था स्थिर रहेका देशमा पनि ‘फ्लीन इफेक्ट’ कमजोर हुँदै गएको छ।
नर्वे, डेनमार्क, फिनलन्ड, द नेदरल्यान्ड्स, फ्रान्स आदि देशमा यस्तो देखिन्छ।
के डिजिटल प्रविधिको प्रयोगका कारण बौद्धिक स्तर घटिरहेको हो?
अहिले नै सानो उमेरमा कीटनाशक औषधि वा स्क्रीनसँगको सम्पर्कजस्ता कारकले कस्तो विशिष्ट भूमिका खेले भन्न सकिँदैन।
तर हामी के भन्न सक्छौँ भने बच्चाले स्क्रीनमा बिताएको समयले आईक्यूमा उल्लेख्य रूपमा प्रभाव पार्न सक्छ।

तस्बिर स्रोत, Getty Images
सबै दोष त्यसलाई लगाउन नसकिए पनि कैयौँ अध्ययनले टेलिभिजन वा भिडिओ गेममा बढी समय बिताउँदा आईक्यू र ज्ञानसँग सम्बन्धित मस्तिष्कको विकास प्रक्रिया कमजोर रहेको देखाएको छ।
भाषा, एकाग्रता, स्मृति र संस्कृति हाम्रो चेतनशीलताका मूल जग हुन् र त्यसमा प्रभाव पर्दा हाम्रो शैक्षिक गुणस्तरमा पनि उल्लेख्य ह्रास आउँछ।
डिजिटल उपकरणको प्रयोगले किन यस्तो प्रभाव पार्छ?
कारणहरू प्रष्ट छन्। हाम्रो भाषागत र भावनात्मक विकासका लागि महत्त्वपूर्ण रहने परिवारसँग अन्तर्क्रियाको गुणस्तर र परिमाणमा कमी।
अरू उपलब्धिपूर्ण कामहरू जस्तै गृहकार्य, सङ्गीत, कला र अध्ययनमा दिने समय पनि घट्छ।

तस्बिर स्रोत, Getty Images
त्यसबाहेक निद्रा प्रभावित हुने, ध्यान अन्यत्र जाने हुनाले एकाग्रता भङ्ग हुन्छ र ज्ञानसम्बन्धी प्रतिक्रिया कम हुँदा मस्तिष्कले आफ्नो पूर्ण क्षमतामा काम गर्न सक्दैन।
एकैखालको त्यस्तो जीवनशैलीले शरीरको विकासबाहेक मस्तिष्कले काम गर्ने तरिकालाई पनि प्रभावित गर्छ।
स्क्रीनले हाम्रो मस्तिष्क प्रणालीमा के असर गर्छ?
मस्तिष्क ‘स्थिर’ अङ्ग होइन। यसको ‘अन्तिम’ चरित्र अनुभवमा आधारित हुन्छ।
हामी बाँच्ने विश्व र हामीले भोग्ने चुनौतीले यसको संरचना र काम गर्ने तरिकामा परिवर्तन ल्याइरहेको छ।
मस्तिष्कका कतिपय सञ्जाल बालियो भइरहेका हुन्छन् कतिपय मोटा र पातला बन्छन्।

तस्बिर स्रोत, Getty Images
मनोरञ्जनका लागि स्क्रीनमा समय बिताउदाँ शारिरिक रूपले मस्तिष्कको परिपक्व हुने प्रक्रिया ढिलो हुने पाइएको छ।
बालबालिकाको मस्तिष्कलाई त्यसले कमजोर बनाउँछ।
विद्यालय, बौद्धिक गतिविधि, अध्ययन, सङ्गीत, कला, खेलकुदजस्ता गतिविधिले मनोरञ्जनात्मक स्क्रीनभन्दा धेरै बढी सकारात्मक प्रभाव मस्तिष्कलाई दिन्छन्।
के सबै स्क्रीन उत्तिकै घातक छन्?
कसैले पनि ‘प्रविधि क्रान्ति’लाई खराब भएकाले यसलाई रोक्नुपर्छ भनिरहेका छैनन्।

तस्बिर स्रोत, Rebecca Nelson/Getty Images
म स्वयम् पनि मेरो दैनिक कामकाजमा उल्लेख्य समय डिजिटल उपकरणमा बिताउँछु।
विद्यार्थीहरूलाई आधारभूत कम्प्युटर ज्ञान र सीप सिकाउनुपर्छ। त्यसैगरी शिक्षकहरूले पनि अध्यापन प्रवर्धन गर्ने निश्चित सफ्टवेअर प्रयोग गर्न सक्छन्।
तर जहाँसम्म बालबालिका वा किशोरवयका मानिसलाई स्क्रीन चलाउन दिने कुरा छ, अधिकांश अवस्थामा स्क्रीन मनोरञ्जनका लागि प्रयोग हुने गरेको छ।
सबैभन्दा बढी टेलिभिजन (चलचित्र, सिरीज र क्लिप) अनि भिडिओ गेम (लडाइँ र हिंसा) र त्यसपछि सामाजिक सञ्जालको प्रयोग बढी गरिन्छ।

तस्बिर स्रोत, Getty Images
बालबालिका र किशोरकिशोरीले अधिकांश अवस्थामा कति समय स्क्रीनमा बिताउँछन्?
औसतमा दुई वर्षकाले प्रत्येक दिन तीन घण्टा र आठ वर्षकाले प्रत्येक दिन पाँच घण्टा समय बिताएको पाइन्छ।
किशोरकिशोरीले सात घण्टाभन्दा बढी समय बिताएको देखिन्छ।
त्यसको अर्थ १८ वर्षको उमेर पुग्नुभन्दा पहिले नै उनीहरूले ३० स्कूले वर्ष वा १६ वर्षे पूर्णकालीन रोजगारीको अवधि स्क्रीनको अघि बिताइसक्छन्।
त्यो पागलपन र गैरजिम्मेवारपूर्ण हो।

तस्बिर स्रोत, Getty Images
बालबालिकाले मनोरञ्जनका लागि स्क्रीनमा कति समय व्यतीत गर्दा हुन्छ?
सुरुमा बालबालिकालाई मनोरञ्जनका लागि स्क्रीनमा समय बिताउँदा त्यसले मस्तिष्कलाई क्षति पुर्याउने, निद्रा खलबल्याउने अनि भाषा ग्रहण गर्ने क्षमतालाई कमजोर बनाइदिने कुरा बुझाउनुपर्छ।
त्यसबाहेक एकाग्रता भङ्ग गर्छ, शैक्षिक उपलब्धि कमजोर बनाउँछ र मोटोपन बढाउँछ।

तस्बिर स्रोत, Getty Images
कतिपय अध्ययनहरूले कारण व्याख्या र छलफल गरिएको अवस्थामा बालबालिका र किशोरकिशोरीलाई ती नियम पालना गर्न सजिलो भएको देखाएको छ।
सारांशमा भन्नुपर्दा जुनसुकै उमेर समूहमा भए पनि सकेसम्म कम समय स्क्रीनमा बिताएको राम्रो हो।
छ वर्षको उमेरभन्दा पहिला सकेसम्म स्क्रीनमा पहुँच नभएकै राम्रो हो। (त्यसको अर्थ बेलाबेलामा तपाईँले आफ्ना बच्चासँग कार्टून हेर्न पाउनुहुन्न भन्ने होइन।)
जति चाँडो उनीहरूलाई स्क्रीनसम्म पहुँच दियो त्यति नै बढी नकारात्मक प्रभाव र त्यसपछि चाहिनेभन्दा बढी खपत गर्न खोज्ने जोखिम हुन्छ।
छ वर्षभन्दा माथिको उमेर भएकाहरूलाई यदि सामग्री उपयुक्त छन् र उनीहरूले पर्याप्त समय सुतिरहेका छन् भने दिनको आधा वा एक घण्टा पहुँच दिन सकिन्छ।

तस्बिर स्रोत, Getty Images
त्यसका लागि विद्यालय जानु आधा घण्टाअघि वा सुत्न जानुअघि वा अरू व्यक्तिसँग भएका बेलामा प्रयोग गर्न नपाइने सर्त हुनुपर्छ।
अनि सबैभन्दा महत्त्वपूर्ण कुरा सुत्ने कोठामा स्क्रीन हुनुहुँदैन।
तर हाम्रा केटाकेटीलाई स्क्रीन समस्या हो भनेर बुझाउन अप्ठ्यारो छ किनभने अभिभावकहरू नै निरन्तर फोन वा स्क्रीनमा खेल्न व्यस्त छन्।









