बालविवाह: १६ वर्षमै छोरीको विवाह गर्न दिन माग

- Author, विमला चौधरी
- Role, बीबीसी नेपाली सेवा
छोरीको विवाह १६ वर्षमै गरिदिन पाउनुपर्ने माग बाँकेका मधेशी मूलका महिलाहरूले गत वर्षदेखि नै गर्दै आएका छन्।
त्यसरी माग राख्ने केही महिलाहरूले बाँकेका विभिन्न गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, उपमहानगरपालिका र विभिन्न वडामा मागपत्र बुझाउँदै आएका छन्।
आन्दोलनमा ओर्लिने अधिकांश महिला विवाहित वा सन्तान भइसकेकाहरू छन्।
उनीहरूको भनाइ छ- २० वर्ष पुगेपछि विवाह गर्नुपर्ने कानुन मधेशी समुदायको संस्कृतिसँग मेल खाँदैन त्यसैले कानुनमा परिवर्तन आवश्यक छ।
महिलाहरू किन त्यसो भनिरहेका छन्?

विनिता खटिक
केटी राम्री हुँदा त २० वर्ष के २५ वर्ष पनि राख्न सकिन्छ। तर राम्री नभए १२ वर्ष मै विवाह गर्न पनि गाह्रो हुन्छ।
"त्यसैले हामीलाई छोरी १६ वर्ष पुग्नेबित्तिकै विवाह गर्न पाउने कानुन चाहियो र उनीहरूका लागि सरकारले अनुदान पनि दिनुपर्यो।

सुनिता खटिक
हामी गरिब मान्छे २० वर्षसम्म छोरीलाई कसरी पाल्न सक्छौँ? त्यसैले १६ वर्षमै छोरीको विवाह गर्नुपर्ने नियम चाहियो।

स्यामपति मधेशी
बीस वर्षसम्म छोरीलाई राख्दा बीचमै छोरी भागेर गए त्यसको जिम्मा सरकारले लिन सक्छ?
बीस वर्षसम्म बिहे नगरिदिने हो भने त्यसको खर्च सरकारले दिनुपर्छ।

मीरा सोनखर
ससाना केटीहरू कतै भागेर गइहाले समाजमा जरिवाना तिर्नुपर्ने नियम छ।
अन्य समुदायमा भोज खुवाउनुपर्ने नियम हुन्छ जसले गर्दा हामीले खर्च गर्न सक्दैनौँ। त्यही भएर १६ वर्षभित्र आफ्नो संस्कार अनुसार गौना, ठौना र विवाह गरेर छोरीलाई पठाइसकेका हुन्छौँ।

कृष्णावती खटिक
पहिले नौ वर्ष, त्यसपछि १६ वर्षमा विवाह गर्दै आएका छौँ। अब त २० वर्ष भइसक्यो।
यो चाहिँ घटाउनुपर्छ।
'संस्कार होइन'
अधिकारकर्मी महिलाहरू भने अहिलेसमेत उही पुरानै संस्कार भनेर छोरीको छिट्टै विवाह गर्ने तर्क गर्न नहुने बताउँछन् ।

"मधेशी समुदायमा मात्र नभएर पहिलेको जमानामा आफ्नै समुदायमा पनि कम उमेरमा विवाह गर्ने गरेको पाइए पनि अहिले शिक्षित हुँदै जाँदा संस्कार पनि परिवर्तन हुँदै गएको छ," अनौपचारिक क्षेत्र सेवा केन्द्र नेपालगन्जकी सरस्वती मल्ल भन्छिन्।
"मधेशी समुदायकै पढेलेखेका शिक्षितहरूले सानै उमेरमा विवाह गरेको हामीले देखेका छैनौँ।"

नेपालगन्जकै मीरा पाण्डेले आफ्नै छोरीले परिपक्व भएर विवाह गर्दा पनि दुःख भोग्नुपरेको अनुभव सुनाइन्।
सानै उमेरमा विवाह गर्दा छोरीहरूलाई कठिन हुने जोखिम रहेको उनी बताउँछिन्।
कानुनमा के छ?
विसं २०७५ साल भदौ १ देखि लागु भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान छ।
बीस वर्ष नपुगी विवाह गरे वा गराएमा यसलाई कसुर मानेर व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ।
यसअघि महिलाको हकमा १८ वर्ष र पुरुषको हकमा २० वर्षलाई विवाहको न्यूनतम उमेर मानिँदै आएको थियो।
तर यो संवैधानिक र लैङ्गिक समानताका आधारमा ठिक र बराबरी नभएको भन्दै कुरा उठेपछि केटा र केटी दुवैको विवाह गर्ने उमेर २० वर्ष बनाइएको थियो।
यदि २० वर्षअघि गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुने उल्लेख छ।









