इन्स्टाग्रामले किन पोर्न चलचित्रका कलाकारहरूको खाता बन्द गर्दैछ

तस्बिर स्रोत, GINGER BANKS; GETTY IMAGES
यसै वर्ष सैयौँको सङ्ख्यामा समाजिक सञ्जाल इन्स्टाग्रामले पोर्न चलचित्रका कलाकारहरू एवं यौनकर्मीहरूको खाता बन्द गरिदिएको छ।
कतिपयले यो कदमलाई मूलधारका प्रख्यात व्यक्तित्व भन्दा फरक ढङ्गले उनीहरूलाई हेरिएको अर्थ लगाएका छन्।
वयस्क चलचित्रकर्मीहरूको संस्था एडल्ट पर्फर्मर्स एक्टर्स गिल्डले इन्स्टाग्राम खाता बन्द भएका झण्डै १३ सय जनाको अभिलेख आफूसँग रहेको जनाएको छ।
नग्नता वा यौन सम्बन्धी तस्बिर नहुँदा समेत मापदण्ड विपरित भन्दै खाता बन्द गरिएको उनीहरूको भनाइ छ।
इन्स्टाग्राम विरुद्ध वयस्क मनोरञ्जन उद्योगका कलाकारका तर्फबाट अभियान छेडिरहेकी उक्त संस्थाकी अध्यक्ष एलाना इभान्स भन्छिन्, "उनीहरूले हामीलाई विभेद गरिरहेका छन् किनकी उनीहरूलाई हामीले जीवनयापनका लागि जे गरिरहेका छौँ त्यो मन परिरहेको छैन्।"
उक्त अभियानले गएको जून महिनामा इन्स्टाग्रामका प्रतिनिधिसँग भेट गरेको थियो। त्यसअघि बन्द गरिएका खाता पुन: सञ्चालनका लागि अपिल गर्न सक्ने व्यवस्था इन्स्टाग्रामले गरेको थियो।
तर ग्रीष्मयाम सुरू भए यता वार्ता अवरूद्ध छन् र वयस्क मनोरञ्जन उद्योगका कलाकारहरूले आफ्नो खाता बन्द हुने क्रम नरोकिएको बताएका छन्।
धैर्यता टुट्यो

तस्बिर स्रोत, @SABRINATHEBUNNY
इभान्सले पोर्न स्टार जेसिका जेयम्सको सेप्टेम्बरमा निधन भए पश्चात उनको खाता हटाइएपछि उनको धैर्यता टुटेको बताइन्।
"जब मैले जेसिकाको खाता बन्द गरिएको देखेँ मेरो मन दुख्यो। मेरे धैर्यको बाँध टुट्यो।"
झण्डै ९ लाख जनाले पछ्याइरहेको उक्त खाता पछि पुन: सञ्चालनमा आएको थियो।
सन् २०१८ को अन्त्यबाट आफूहरूविरूद्ध योजनाबद्ध रूपमा खाता हटाउन उजुरी गर्ने अभियान सुरु गरिएको वयस्क मनोरञ्जन उद्योगका कलाकारहरू बताउँछन्।
कतिपय अवस्थामा धम्क्याउने अनि दुर्व्यवहार समेत गर्ने आशय बोकेका सन्देशहरू पनि आएको उनीहरू बताउँछन्।
एक जना नाम नखुलेका तर वयस्क मनोरञ्जन उद्योगमा 'ओमिड'भनेर चिनिने व्यक्तिले व्यक्तिगत रूपमै सैयौँ खाताहरू बन्द गराउन आफ्नो भूमिका रहेको दाबी गरेका छन्।

तस्बिर स्रोत, @OMID91679072
सबैभन्दा पहिला निशानामा पर्नेमा पोर्न उद्योगका कलाकार तथा यौनकर्मीको अधिकार सम्बन्धी अभियन्ता जिन्जर ब्याङ्कस थिइन्।
उनी भन्छिन्, "निक्कै लगन र परिश्रम गरेपछि तपाईंले ३ लाख जनाले पछ्याइरहेको खाता बनाउनहुन्छ र त्यो पनि बन्द गरिएपछि तपाईंले पराजित महसुस गर्नुहुन्छ।"
"नियम मान्दा समेत खाता बन्द गरिएको छ जुन ज्यादै दुखदायी हो।"
वयस्क चलचित्र उद्योगका कलाकार तथा यौनकर्मीलाई समाजिक सञ्जालबाट हटाइनु आफूहरूलाई बहिस्करणमा पार्ने र मार्केटिङ् सहितका अवसरबाट बञ्चित गर्ने कदम भएको ब्याङ्क्स बताउँछिन्।
कतिपय अवस्थामा वयस्क लक्षित मनोरञ्जनात्मक सामग्री बनाउने उद्योगहरूले कलाकारलाई कुनै भूमिका दिनुअघि इन्स्टाग्राममा रहेका फलोअरको सङ्ख्यालाई समेत ध्यान दिने गरेको बताइन्छ।।
फेसबुकको प्रतिक्रिया यस्तो छ
इन्स्टाग्राम समाजिक सञ्जाल फेसबुकको स्वामित्वमा रहेको छ।
फेसबुकका एक जना प्रवक्ता भन्छन्, "विश्वव्यापी रूपमा रहेको विविधतायुक्त समुदायका माझ, हामीले नग्नता र यौन सम्बन्धी विषयका सामग्री विशेष गरी किशोर किशोरी सबैका लागि उपयुक्त छन् भन्ने सुनिश्चित गर्न नियमहरू राख्नैपर्छ।"
उनले नियमहरू तोडिएको उजुरी आउँदा त्यसविरूद्ध कदमहरू चालिएको उल्लेख गरे। 'हाम्रो निर्णय पुनरावलोकनका लागि अवसर दिने गरेका छौँ र यदि गल्तीले कुनै सामग्री हटाइएको रहेछ भने पुन: त्यसलाई जस्ताको तस्तै राखिदिने गरेका छौँ।'

तस्बिर स्रोत, @UNITEDSTRIPPER
फेसबुकको पछिल्लो निर्देशिकाले प्रयोगकर्ताहरूले नग्न तस्बिर माग गर्न वा प्रस्ताव गर्न, यौन सामग्री वा 'आधारभूत रूपमा यौन जोडिएको इमोजी' प्रयोग गर्न नमिल्ने जनाइएको छ। क्षेत्रीय स्तरका बोलिचालीमा प्रयोग हुने यौन जनाउने शब्दहरू वा अन्य सामग्री वा तस्बिरलाई पनि नियमन गरिने उल्लेख छ।
वयस्क मनरोञ्जन उद्योग सम्बन्धी कलम चलाउने पत्रकार गुस्ताभो टर्नर फेसबुकका कतिपय नीति विरोधाभाषपूर्ण भएको टिप्पणी गर्छन्।
उनका अनुसार फेसबुकले क्रसेज नामक डेटिङ सेवा सुरू गर्न लागेको छ तर उसका नियमहरू वयस्कहरूले सहमतिमा गर्ने कुनै व्यापारिक प्रयोजन विनाका यौनजन्य कुराकानी विरूद्ध कडा प्रकृतिका छन्। पोर्नस्टार र यौनकर्मीबाहेक अरू पनि प्रभावित भएको बताइन्छ।
अभियानकर्ताहरूले यसलाई कठोर सेन्सरसीप भनेका छन् र उनीहरूका अनुसार यौनकर्मी, यौन शिक्षा उपलब्ध गराउने अभियानकर्ता अनि पोलमा नाच्नेहरूको समूह पनि पछिल्लो प्रतिबन्धको शिकार भएको उल्लेख गरेका छन्।








