इन्टरनेट स्वीकारोक्ति: इन्टरनेटमा गोप्य कुरा खोल्ने एउटा संसार

मोबाइल फोनमा हेरिरहेकी महिला।

तस्बिर स्रोत, Getty Images

    • Author, हारियट ओर्रेल
    • Role, बीबीसी विश्व सेवा

डर, लाज र समाजले दोष दिने कारणले गर्दा हामीले कतिपय गरेका वा सोचेका कुराहरू लुकाएर राख्छौँ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार कुनै पनि गोप्य कुरा आफूमा सीमित राख्नाले "थकान महसुस गराउने, समाजबाट एक्लो बनाउने र कल्याणकारी भावनामा ह्रास ल्याउने" जस्ता समस्या निम्त्याउन सक्छ।

त्यसो भए हामी आफूलाई वा अरूलाई समस्यामा नपारी कसरी आफ्नो गोप्य कुरा राख्न सक्छौँ त?

साथीभाइ वा अरूलाई भन्न नसकिने यस्ता गोप्य कुरा अरूलाई सुनाउन सामाजिक सञ्जालमा रहेका 'कन्फेसन पेज' अर्थात् स्वीकारोक्ति पृष्ठ एक उपाय हुन सक्छ।

कुनै सुरक्षित स्थानमा बोझ हटाउँदा जस्तो आनन्ददायी अनुभव सायदै अरू कुनै हुन्छ।

छाती थिचिरहेको कुनै गह्रौँ वस्तु हटाएपछि मिल्ने राहतजस्तो। तर कहिले काहीँ आफ्नो मन गह्रौँ बनाउने गोप्य कुरा कसैलाई सुनाउनु सम्भव हुँदैन।

एक तनावपूर्ण अवस्थामा रहेकी महिला।

तस्बिर स्रोत, Getty Images

कैयौँ शताब्दीसम्म मानिसले आफ्नो गोप्य कुरा आफ्ना विश्वासपात्र अगुवासँग राखे।

पछिल्ला दशकहरूमा भने रेडियोका संवाद कार्यक्रम र पत्रपत्रिकाका स्तम्भमार्फत मानिसहरूले आफ्ना रहस्य नाम नखुलाई सार्वजनिक गर्न थाले।

सन् १९८० मा एक कलाकारले अपोलोजी लाइन नामक परियोजना सुरु गरे जसमा न्यूयोर्कवासीहरूले आफूलाई आघात नपर्ने गरी आफूले गरेको गल्तीहरूका लागि क्षमा याचना गर्न सक्थे।

ती याचना सन्देशहरू अहिले एक चर्चित पडकास्टमार्फत सार्वजनिक गरिएको छ। यसले के प्रमाणित गर्छ भने मानिसहरूमा अरूको स्वीकारोक्तिमा रमाउने भोक छ।

अहिलेको जलप लगाइएको सुन्दरता र सावधानीपूर्वक निखारिएको इन्स्टाग्राम खाताहरूको संसारबीच इन्टरनेटमै एउटा दुर्लभ कुना छ।

त्यहाँ मानिसहरूले आफ्नो पहिचान नखुलाइ, अनलाइन स्वीकारोक्ति पृष्ठहरूमार्फत आफ्नो सबैभन्दा इमानदार व्यक्तित्व देखाउँछन्। यस प्रक्रियाले प्रयोगकर्ताहरूलाई अज्ञात रूपमा मनमा गुम्सिएको कुरा साझा गर्ने बाटो दिएको छ।

सुरुमा, सन्देश आदानप्रदान गर्ने माध्यममार्फत त्यस्ता सामग्री देखिन्थे र पछि यसैमा केन्द्रित एपहरू विकास भए।

तर अहिले सामाजिक सञ्जालहरूमै मध्यस्थ गरिने खाताहरूमा मानिसहरू आफ्नो गोप्य कुरा साझा गरिरहेका हुन्छन्।

त्यस्ता गोप्य कुराहरू हाँसो उठ्नेदेखि पीडादायीसम्म सबै खालका हुन्छन् र विद्यालयदेखि विश्वविद्यालयसम्मका विगतसँग जोडिएका हुन्छन्।

"यदि मानिसहरू अनलाइन सहायता समूहहरूमा जोडिन सक्छन् भने त्यो उनीहरूका लागि पहिचान नखुलाई आफ्नो कुरा राख्ने, प्रमाणित भएको महसुस गर्ने र उस्तै अनुभूतिहरूबाट गुज्रिरहेकाहरूबाट सिक्ने अवसर हुन सक्छ," पाकिस्तानको इस्लामावादस्थित मनोविद् जेहरा कमल अलामले भनिन्।

"विशेष गरी निकै कम कुरा गरिने यौनिकता, हिंसा र यौन दुर्व्यवहारको मुद्दाहरू बारे बोल्न यो अत्यन्तै उपयोगी हुन सक्छ।"

उनका अनुसार परामर्श र चिकित्सकीय कक्षहरूमा समस्याबारे कुरा गर्नु निको हुने प्रक्रिया हो। त्यसैले मानिसहरूले इन्टरनेटको माध्यमबाट भए पनि आफ्नो गोप्य कुरा अभिव्यक्त गर्न चाहनु आश्चर्यको विषय नभएको उनी बताउँछिन्।

"केही समय अघिसम्म तपाईँ निर्धक्क इन्टरनेटको कुनै मञ्चमा जान सक्नुहुन्थ्यो र कुनै भर्चुअल परिणामहरू बिना आफ्नो कुरा राख्न सक्नुहुन्थ्यो," इङ्गल्यान्डका रोब म्यानुअलले भने। उनी ट्विटरको लोकप्रिय फेसहोल नामक स्वीकारोक्ति पृष्ठ सञ्चालन गर्ने एक व्यक्ति हुन्।

फेसहोल साढे दुई वर्ष पहिले सुरु गरिएको खाता हो र यस खातालाई चार लाख ५३ हजारभन्दा बढीले पछ्याएका छन्। रोबलाई दैनिक सयौँ गोप्य स्वीकारोक्तिहरू प्राप्त हुन्छ। उनले सार्वजनिक गर्नका निम्ति तीमध्ये १६ वटा मात्र छान्छन्।

रोब आफ्नो आफ्नो खाता हास्यास्पद होस् भन्ने चाहन्छन् तर "भावनात्मक दायरा" पनि कायम राख्न भावपूर्ण कथाहरू पनि समावेश गर्ने बताउँछन्।

लाज र सामाजिक दोषको सामना गर्दै

एक महिला भर्चुअल माध्यमबाट मुस्कुराइ रहेको चित्र।

तस्बिर स्रोत, Getty Images

स्वीकारोक्तिको माध्यम बनेका अन्य खाताहरू जस्तै, इन्स्टाग्राममा सञ्चालित द सीक्रेट किपर्स, प्राय व्यक्तिगत स्वीकारोक्ति केन्द्रित छ।

"हामी यस्तो संसारमा बाँचिरहेका छौँ जुन सूक्ष्मताबाट टाढा छ, यहाँ साथीहरू र परिवारसँग आफ्नो निकै व्यक्तिगत विषयबारे कुरा गर्न गाह्रो हुन सक्छ," ओलिभिया पिटर भन्छिन्। उनी बेलायतमा रहेको द सीक्रेट किपर्सकी एक सदस्य हुन्।

"यदि तपाईँ कुनै संवेदनशील विषयमा सार्वजनिक रूपमा कुरा गर्न चाहनुहुन्न भने अज्ञात रूपमा अनलाइनमार्फत त्यसबारे कुरा गर्दा सुरक्षित महसुस गर्न सक्नुहुन्छ र त्यहाँ तपाईँबारे कसैले धारणा बनाउने जोखिम कम हुन्छ।"

"यसै कारण मानिसहरू परामर्शदाताको सहयोग लिन्छन्- तपाईँले उनीहरूसँग ती कुरा गर्न सक्नुहुन्छ जुन तपाईँ आफ्ना साथीहरूसँग गर्न सक्नु हुन्न।"

द सीक्रेट किपर्सले पृष्ठमा साझा गरेको स्वीकारोक्तिबारे सहायता र छलफलको लागि ठाउँ दिन्छ। उक्त पृष्ठमा मातृत्वलाई लिएर पछुताएका महिला र आफ्नो जीवनसाथीलाई माया गर्ने तर यौन जीवन भयावह ठान्ने महिलाहरूले आफ्नो भावना अभिव्यक्त गर्छन्।

यस अनलाइन खातालाई थुप्रै परामर्शदाता, मनोविद्हरूले पनि पछ्याएका छन्। उनीहरूले स्वीकारोक्ति गर्नेहरूलाई हौसला र सुझाव दिन्छन्।

"गोप्य कुराहरू साझा गर्दा मानिसहरूले एक्लोपन कम र धेरै मानिससँग जोडिएको महसुस गर्न सक्छन्। साथै लाजको विषय बनेका थुप्रै मुद्दाहरूको सामना गर्न सक्छन्," ओलिभिया भन्छिन्।

"हामी आशा गर्छौँ कि सीक्रेट किपर्सले यी मानिसहरूलाई उनीहरूको अनुभूति जायज छ भन्ने महसुस गराउँदै विभिन्न सामाजिक दोषहरूको सामना गर्न मद्दत गर्छ।"

साइबर बुलिङ

दुई महिला।

तस्बिर स्रोत, Getty Images

स्वीकारोक्ति गर्ने माध्यमहरूको केही कमजोर पाटा पनि छन्। विशेष गरी, नियमन नहुनु यसको प्रमुख समस्या हो।

परिचय नखुलाइ गर्ने कुराकानीहरूले इमानदार छलफललाई प्रोत्साहित गरे पनि कसैको क्रूर र लापरवाह टिप्पणीहरूलाई पनि रक्षात्मक कवचको काम गर्न सक्छ।

सन् २०१८ मा साराहा नामक एपलाई साइबर बुलिङ सहज बनाएको आरोप लागेपछि गुगल र एप्पल स्टोरबाट हटाइयो।

उक्त एपको नाम अरबी भाषामा 'इमानदारी' जनाउने शब्दबाट नामकरण गरिएको थियो। साराहा, रोजगारदाताहरूलाई कर्मचारीहरूले इमानदार प्रतिक्रिया पठाउनका लागि विकास गरिएको थियो।

तर उद्देश्य विपरीत, प्रयोगकर्ताहरूले उक्त एपलाई साइबर बुलिङका लागि विकसित उपकरणको रूपमा प्रयोग गरे।

त्यस्तै केही वर्षयता दुरुपयोग रोक्न नसक्दा व्हिस्पर, सेक्रेट र आस्क.एफएम जस्ता एपहरू बन्द भएका छन्।

सुरक्षित महसुस गर्नु महत्त्वपूर्ण

एकअर्काको नजिक हुँदै गरेका महिला।

तस्बिर स्रोत, Getty Images

धेरै मानिसका लागि आफ्नो गोप्य कुराहरू पहिचान नखुलाई अनलाइनमार्फत साझा गर्नु उपचारात्मक विधि अपनाउनु सरह हुन्छ।

विश्व स्वास्थ्य सङ्गठनको मेन्टल हेल्थ ग्याप एक्सन कार्यक्रम अनुसार, न्यून आय भएका देशका मानसिक स्वास्थ्य समस्याहरू भोगिरहेका ७५ प्रतिशत मानिसहरूको मानसिक स्वास्थ्य सम्बन्धी परामर्शदातासम्म पहुँच नभएको अनुमान गरिएको छ।

"यसको अर्थ उपचारको अन्तर ठूलो छ," जेहरा भन्छिन्।

"प्रशिक्षित परामर्शदाताहरूको उपलब्धता नहुनु, रोकथामका गतिविधिहरू सीमित हुनु, ग्रामीण र न्यून आय समूहहरूमा सेवाको सीमित पहुँच र मानसिक स्वास्थ्यबारे रूढिवाद केही कारकहरू हुन्।"

"समस्याहरूको बारेमा कुरा गर्नुले केही राहत दिन सक्छ तर कहिलेकाहीँ यसले मानिसहरूमा नकारात्मक प्रभाव पार्न वा तनावपूर्ण भावनाहरू जगाउन सक्छ," उनी भन्छिन्।

मानिसहरूले सुरक्षित महसुस गर्नु सबैभन्दा महत्त्वपूर्ण भएको उनी बताउँछिन्। यस प्रक्रियामा उनीहरूले अत्यधिक चिन्ता महसुस गरे भने त्यसको व्यवस्थापनको लागि पनि मद्दत गर्नुपर्ने विचार राखिन्।