सञ्चारमाध्यममा बालबालिका : अवसरसँगै मानसिक स्वास्थ्य र दीर्घकालीन असरका अलग पाटो

टेलिभिजन रियालिटी शोहरूमा केटाकेटीहरूको साङ्केतिक तस्बिर
तस्बिरको क्याप्शन, टेलिभिजन रियालिटी शोहरूमा केटाकेटीहरूको साङ्केतिक तस्बिर
    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

पर्वत, कुस्माका अरुण सुनार एक साङ्गीतिक रियालिटी कार्यक्रम 'सारेगमप लील च्याम्प्स नेपाल'को उत्कृष्ट पाँचमा परे। भर्खरै १३ वर्ष पुगेका उनले गायन क्षमताकै कारण सयौँ प्रशंसक कमाएको साबित गर्छ उनलाई कार्यक्रमको अन्त्यसम्म जोगाउने गरी प्राप्त भोट र निर्णायकले दिएको अङ्कले।

उनकी आमा पार्वती विश्वकर्माले कार्यक्रममा सहभागी भएपछि छोराका लागि अवसरका ढोकाहरू खुलेको महसुस गरेकी छन् ।

अरुणसहित उत्कृष्ट पाँच प्रतियोगीले उच्च माध्यमिक तहसम्म अध्ययनका लागि छात्रवृत्ति पाए। उनीहरूले नेपाल र विभिन्न देश भ्रमण र तीन वटा गीत रेकर्डिङको अवसरसमेत पाएका छन्।

"छोराको उपलब्धि निकै सुखद छ। ऊ फिनालेसम्म पुग्नु नै जित्नु हो," पार्वतीले बीबीसीसँगको कुराकानीमा भनिन्,"छोराले भविष्य बनायो जस्तो लाग्छ।"

चर्चासँगै सम्भावना र अवसर

कक्षा ६ मा पढ्दादेखि सङ्गीत सिक्दै आएका अरुणले स्थानीय कार्यक्रमहरूमा सहभागिता जनाएका छन्। उनका साङ्गीतिक गुरु मानजी सुरागमहरूको आयोजनामा भएको 'सप्तरङ्गी' नामक प्रतियोगितामा त उनी प्रथम नै भएका थिए। तर, त्यस कार्यक्रम प्रतियोगी र स्थानीय मानिसहरूमा सीमित थियो।

पहिचान र अवसरहरूको हिसाबले आफ्ना लागि सारेगमप लील च्याम्प्स ठूलो मञ्च बनेको उनी बताउँछन्।

"अडिसनका लागि आउँदा म निकै डराएको थिएँ। अन्त्यसम्म रहन्छु भन्ने सोचेकै थिइनँ। यस प्रतियोगिताले मलाई कला निखार्ने जोस र आत्मविश्वास दियो," उनले कार्यक्रममा सहभागी भएपछि देखिएको परिवर्तनबारे बोले।

सङ्गीत निर्देशकहरूसँगको नियमित परीक्षण, सुझाव र प्रतिक्रियाले आफ्ना कमजोरी केलाउन र त्यसलाई कम गर्न मद्दत पुगेको उनी बताउँछन्।

अर्को साङ्गीतिक प्रतियोगिता 'द भ्वाइस किड्स'को मञ्चबाट चर्चामा आइन् जोरपाटीकी ७ वर्षीया श्रेयाशी आचार्य। उनले शिव ताण्डव स्तोत्र गाएको भिडिओ प्रशंसासहित सामाजिक सञ्जालमा समेत छाए।

गाएरै आम मानिसले चिन्नु र थुप्रै बालबालिकामाझ सामूहिक सिकाइलाई सकारात्मक उपलब्धि मान्छन् उनका बुवा सरोज आचार्य।

उनी भन्छन्, "छोरीलाई मञ्चको अनुभव दिलाउन लगेका थियौँ। तर अघि बढ्दै गइन्। क्षमता अनुसार जहाँसम्म पुगिन् त्यो हाम्रा लागि खुसीको कुरा हो।"

हाल श्रेयाशीको गीत र सिकाइप्रति झुकाव बढेको उनले बताए।

"छोरीको आवाजमा एउटा गीत रेकर्ड गराउने प्रस्ताव पनि आएको छ" उनले भने।

कला केन्द्रित यस्ता कार्यक्रमहरू बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने र निखार्ने माध्यम बन्ने मत राख्छन् सङ्गीतकर्मी अमृत क्षेत्री। उनले सुरशाला सङ्गीत विद्यालयमार्फत बालबालिकालाई सङ्गीत शिक्षा प्रोत्साहित गर्दै आएका छन्।

श्रेयाशी आचार्य।

तस्बिर स्रोत, Saroj Acharya

"प्रस्तुतिका लागि सिकेर मिहेनत गरेर गाउनु बलियो आधार बनाउनु हो। तर, दुखद पक्ष के हो भने बालबालिकालाई भाइरल बनाउन गाउन लगाउने चलन बढ्दो छ।"

"नसिकाइ त्यसरी गाउन लगाउँदा इन्टरनेटमा भाइरल त होला तर त्यसले बालबालिकाको साङ्गीतिक एवं समग्र विकासमा असर पुर्‍याउन सक्छ," क्षेत्रीले आफ्नो विचार अघि सारे।

बाल आवाजमा प्रेमदेखि धोकाको गीत

टेलिभिजन बाहेक यूट्यूब, टिकटक वा अन्य सामाजिक सञ्जालमा पनि बालबालिकाहरू गाएर, नाचेर वा अभिनय कलाका कारण चर्चामा आउँछन्।

टिकटकमा भिडिओ बनाउनका लागि एक लाख २० हजार पटक प्रयोग भएको छ बाल गायिका पूजा देवकोटाले गाएको गीत:

मुटु द्या छु तिमीलाई मन द्या छु

धोका दिन पाउँदैनौ भन्द्याछु

चोली मैलै भो, मैले तिम्लाई नभन्या मात्रै हो

मन पर्‍या पैलै हो

उक्त गीत अर्का बाल गायक किसन सिजापतिसँगको दोहोरीको अंश हो। जवाफमा किसन भन्छन्:

दिन बिताउँदा सँगसँगै रहेर

धोका दिन सक्दिनँ म हेर

चोली मैलै भो…

उमेरले १५ वर्ष पनि नपुगेका पूजा र किसनको यस दोहोरी चर्चित बन्यो। त्यसपछि यस गायन जोडीले अन्य थुप्रै कार्यक्रमहरूमा प्रस्तुति दिए। यी सबै दोहोरी गायनको विषय भने- माया, प्रेम र धोकाको डर।

उनीहरू सम्बन्धित यूट्यूब सामग्रीका शीर्षकहरू - 'किसनले पूजालाई भर्खरै सिन्दूर लगाइदिन्छु भनेपछि', 'पूजा र किसनको प्रेम झन् गाढा बन्दै', 'किसनले पूजालाई भगाउन खोजेपछि'लगायत रहेका छन्।

यस्ता सामग्रीले बालबालिकाको व्यक्तिगत एवं समग्र विकासमा असर पुर्‍याउने बताउँछिन् बाल मनोविद् पुष्पा अधिकारी। उनले बालबालिकाको प्रतिभा निखार्न वा त्यसलाई बढाउन सहयोग पुर्‍याउनु पर्नेमा यूट्यूबदेखि टिकटक प्रयोगकर्ताले भ्यूज/हिट्सका लागि बालबालिकाको प्रयोग गरिरहेको धारणा राखिन्।

उनी भन्छिन्न्,"बालबालिकाले बुझ्दै नबुझ्ने विषयमा उनीहरूलाई संलग्न गराउनु मानसिक विकासका लागि उचित होइन। त्यसले संलग्न बालबालिकासँगै ती सामग्री हेर्नेहरूमा पनि नकारात्मक उत्सुकता विकास गराउँछ।"

आफूले परामर्श गरिरहेका बालबालिकाहरूमध्ये न्यूनतम १३ वर्षकाहरूमा पनि यौनिक इच्छा र जिज्ञासाहरू सम्बन्धी समस्या रहेको बताइन्।

उनी भन्छिन्,"सानो उमेरका नानीहरूमा ठूलो उमेरकाले गर्ने गतिविधिहरू लाद्नुको परिणाम सही हुँदैन।"

उनले उदाहरणसहित आफ्नो तर्क राखिन्, "हालसालै एक गायन प्रतियोगिता हेर्दै थिएँ। निकै सानो उमेरका भाइले प्रेम गीत गाए। उनले हरेक निर्णायकबाट शत प्रतिशत अङ्क पाए। तर, गीत सकिए लगत्तै ती बाबु शान्त देखिए। उनमा न राम्रो अङ्क पाउनुको खुसी झल्कन्थ्यो। न प्रतिक्रिया जनाउन सकेका थिए। निर्णायकहरूले बोलेको भाषा मैले पनि पूर्ण रूपमा बुझिनँ। ती भाइले कति बुझे होलान्?

अन्तर्क्रिया गर्न हिचकिचाउने बालबालिकाले गीतका गह्रुङ्गा शब्दहरू बुझ्छन् त?

बाल गीतहरू सीमित भएको र एउटै कार्यक्रममा धेरै वटा गीत गाउनु पर्ने बाध्यताका कारण वयस्कका लागि रचिएका गीतहरू बालबालिकाले गाएको बताउँछन् सङ्गीतकार अमृत क्षेत्री।

"जुन गीत गाउँदा आफूलाई अब्बल साबित गर्न सक्छन् त्यही गाउँछन्। शब्दको गाम्भीर्य भन्दा पनि सुर, तालमा भाइबहिनीहरू बढी घोत्लिन्छन्," उनले भने।

बाल मैत्री छैनन् बाल कार्यक्रमहरू

गायन मात्र नभइ नृत्य, अभिनय वा अन्य कलाका कारण चर्चामा आउने बालबालिकाहरूलाई उमेर अनुरूप कार्यमा संलग्न नगरिनुलाई विज्ञहरू समस्या मान्छन्।

वयस्क मानिसको दृष्टिकोणबाट लेखिएका गीत गाउन लगाउनु, शारीरिक विकासको पाटोमा ध्यान नदिइ नृत्यका कठिन चालहरू गर्न लगाउनु वा अभिनय गर्दा बालबालिकाले ठम्याउनै नसक्ने विषय र शुद्ध उच्चारण गर्न नसक्ने शब्दहरू बोल्न लगाउनुले उनीहरूको हुर्काइमा नकारात्मक असर पुर्‍याउने उनीहरू बताउँछन्।

बाल कार्यक्रम बने पनि ती कार्यक्रम बाल मैत्री नभएको तर्क राख्छिन् मनोविद् अधिकारी।

"उनीहरूको अगाडि बोलिने भाषा, गरिने ठट्टा सबै वयस्क मानिस केन्द्रित हुन्छन्। एक जना बालक वा बालिकाको अर्कोसँग तुलना गर्दा, प्रतिस्पर्धात्मक भावना विकास हुँदा ऊ मानसिक रूपमा सहज अवस्थामा रहन सक्दैन," उनले भनिन्।

"बालबालिकालाई गाउन वा अभिनय गर्न नदिने भनेको होइन। उनीहरूको उमेर सुहाउँदो, हुर्कँदै गर्दा कस्ता विषयले उनीहरूको सिकाइ वा दैनिकीमा सकारात्मक प्रभाव पार्छ ती विषयमाथि केन्द्रित हुन आवश्यक छ। विषय र प्रस्तुतिबारे संवेदनशील हुन आवश्यक छ।"

उमेर-अनुपयुक्त कामविरुद्ध कानुन

यस सम्बन्धमा भारत सरकारले सन् २०१९ मा नृत्यमा आधारित रियालिटी शोहरूमा बालबालिकाको उचित प्रस्तुतीकरणका लागि निर्देशन नै जारी गरेको थियो।

सूचना तथा प्रसारण मन्त्रालयको उक्त निर्देशनमा लेखिएको थियो: "यथार्थमा आधारित र अन्य कार्यक्रमहरू प्रसारण गर्दा संयम, संवेदनशीलता र सावधानी अपनाउन सुझाव दिइन्छ। यस कदमले प्रभावशाली बालबालिकाहरूमा कष्टपूर्ण प्रभाव रोक्ने अपेक्षा गरिएको छ।"

मन्त्रालयले नृत्यमा आधारित कार्यक्रमहरूमा बालबालिकाहरूले चलचित्र र मनोरञ्जनका अन्य लोकप्रिय माध्यमहरूमा मूल रूपमा वयस्कहरूले गर्ने नृत्य चालहरू प्रस्तुत गरिएकोमा ध्यानाकर्षण भएको जनाएको छ।

"ती चाल उमेर-अनुपयुक्त हुने र त्यस्ता कार्यहरूले बालबालिकामा पीडादायी प्रभाव पार्न सक्छ," उक्त निर्देशिकामा जनाइएको छ।

नेपालमा पनि बालबालिका सम्बन्धी ऐन र नेपाल दूरसञ्चार प्राधिकरणको अनलाइन बाल सुरक्षा निर्देशिकाले बालबालिकाको गोपनीयता र बाल संरक्षणको पाटोलाई सम्बोधन गरेका छन्। तर तिनको कार्यान्वयन नभएको बताउँछन् प्रविधि सम्बन्धी कानुन विज्ञ अधिवक्ता बाबुराम अर्याल।

चर्चासँगै पढाई र नियमित कर्म

भारतको सूचना तथा प्रसारण मन्त्रालयबाट जारी सूचना।

तस्बिर स्रोत, PIB Delhi

अरुण सुनारको सारेगमप लिल च्याम्प्सको यात्रा ६ महिना लामो रह्‍यो। यस अवधिमा उनलाई विद्यालयको पूर्ण साथ र सहयोग रह्‍यो। कक्षा ९ मा अध्ययनरत उनले आफ्नो पढाइबारे चिन्ता व्यक्त गर्दा विद्यालयले उनलाई छुटेका पाठहरू बुझ्न मद्दत गर्ने बतायो।

"दबाब त हुन्छ। अन्तिम परीक्षा हुन २ महिना बाँकी छ। मैले ६ महिनादेखि छुटेका सबै पाठ्यक्रम भ्याउनु पर्छ," उनले भने।

पढाइसँगै सामाजिक घुलमिल, सहपाठीहरूसँग समय बिताउँदा विकास क्रममा पर्ने प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव, पारिवारिक समय, उमेर अनुसार गर्नु पर्ने कामहरू छुट्ने बाल मनोचिकित्सक डाक्टर अरुणराज कुँवर बताउँछन्।चर्चामा रहनुले बालबालिकालाई आत्मविश्वासी र पेसा केन्द्रित हुन सिकाए पनि बाल विकासका क्रममा अत्यावश्यक पर्ने पक्ष छायामा पर्ने उनको तर्क छ।

"चर्चामा रहेका बालबालिकाको अपेक्षा वा लक्ष्य नै ठूलो हुन्छ। किनकि परिवारदेखि आम मानिसले उनीहरूबाट ठूलै अपेक्षा राख्छन्। उचित परामर्श नपाएकाहरूले त्यसलाई सम्हाल्न सक्दैनन्," डा. कुँवर भन्छन्।

"सार्वजनिक रूपमा बोल्दा ती बालबालिकाका कुरा हुर्किसकेका मानिसको जस्तो सुनिन्छ तर त्यो बोली उनीहरूले बुझेर होइन सुनेर सिकेका हुन्छन्।"

डा. कुँवरले चर्चामा आउने बालबालिका सामाजिक परिस्थितिभन्दा पर रहँदा अरूसँग घुलमिल हुन गाह्रो हुने, उमेरसँगै चर्चा र सफलता कम भए नैराश्य बढ्ने, अपेक्षा पूरा नहुँदा चिन्ताको समस्या बढ्नेजस्ता मानसिक असर देखिन सक्ने बताए।

"जुन बच्चा चर्चामा छ उसको दुरुपयोग हुने र शोषणमा पर्ने सम्भावना पनि रहन्छ।"

उस्तै तर्क राख्छिन् मनोविद् पुष्पा अधिकारी पनि। राम्रै गर्नु पर्ने, जिम्मेवारी पूरा गर्नु पर्ने, चर्चामा रहिरहनु पर्ने दबाबका कारण बालबालिकामा अवसाद (डिप्रेसन) वा चिन्ता (एङ्जाइटी) हुनसक्ने उनी बताउँछिन्।

अभिभावकको जिम्मेवारी

भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले छोरीको जन्म लगत्तै सञ्चारकर्मी एवं फोटोग्राफरसँग उनको तस्बिर खिच्न र उनको गोपनीयता भङ्ग हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका थिए।

उनीहरूले छोरी स्वयंले नचाहेसम्म सामाजिक सञ्जालमा उनको मुहार देखिने तस्बिर नराख्ने बताएका थिए।

तर, केही साताअघि भारत र दक्षिण अफ्रिकाबीच भएको एक दिवसीय क्रिकेट प्रतियोगिताका दिन स्टुडियममा उपस्थित अनुष्का र उनीहरूकी छोरीको तस्बिर खिचियो। सञ्चार माध्यमदेखि सामाजिक सञ्जालहरूमा छायो।

लगत्तै यी सेलिब्रेटी जोडीले पुनः एक पटक आफूहरूकी छोरीको गोपनीयताका कायम राखिदिन सबैसँग आग्रह गरे।

तर, नेपालको हकमा बालबालिकाको गोपनीयता सम्बन्धी त्यो तहको संवेदनशीलता कमै देखिने मनोविदहरू बताउँछन्।

नेपालमा यतिबेला एकजना चर्चित अभिनेत्रीकी पाँच महिने छोरीलाई व्यापारिक विज्ञापनमा देखाइएको र उनका अन्य दैनिकी यूट्यूबमा रहेको देखिन्छ।

बोल्न, सही वा गलत छुट्टाउन र सहमति वा असहमति जनाउन नसक्ने बालबालिकाको हकमा उनीहरूको गोपनीयता कायम राख्ने, संरक्षण गर्ने र मानसिक स्वास्थ्यप्रति सबैभन्दा बढी जिम्मेवार अभिभावक हुने बताइन्छ।

त्यसैले बालबालिकाका कस्ता गतिविधि कति र किन सार्वजनिक वृत्तमा प्रस्तुत गर्ने भन्ने विषयको सीमा अभिभावकले नै तय गर्नु पर्ने बताउँछिन् मनोविद् अधिकारी।

द भ्वाइस किड्स।

तस्बिर स्रोत, The Voice Kids

के हुन् सावधानीका अन्य विषय?

"बाल मनोविज्ञानलाई ध्यानमा राखेर कार्यक्रमको खाका तयार पार्नु पर्छ। उनीहरूलाई दबाब पर्ने गतिविधि वा अस्वस्थ प्रतियोगितामा संलग्न गराउनु हुँदैन," उनले भनिन्। त्यस्ता कार्यक्रमहरूमा परामर्शदाताको उपस्थिति अनिवार्य हुनु पर्ने बताउँछिन्।

त्यस्तै उमेर अगावै बालबालिकालाई आम्दानी केन्द्रित बनाउन नहुने धारणा उनी राख्छिन्।

"बच्चा कमाइको स्रोत हुनु हुँदैन। केही समयका लागि उसले कला वा अन्य माध्यमबाट पैसा कमाउला तर त्यसको असर ससाना अभावविरुद्ध जुध्न नसक्दा देखिन्छ," अधिकारी भन्छिन्।

क्षणिक चर्चासँगै दीर्घकालीन असरहरूबारे ध्यान पुर्‍याउनु पर्ने उनको धारणा छ।

आम दर्शकको तुलनात्मक प्रतिक्रियाले पुर्‍याउन सक्ने असरलाई ध्यानमा राख्दै द भ्वाइस किड्सले यूट्यूबमा प्रतिक्रिया जनाउने सुविधा दिएन।

कार्यक्रममा निर्णायक नभइ प्रशिक्षक राख्नुको उद्देश्य बालबालिकाको क्षमता मापन गर्न नभइ त्यसलाई निखार्न मद्दत गर्नु भएको बताउँछन् निर्देशक लक्ष्मण पौडेल।

"वयस्कको कार्यक्रममा हामी नियम बनाउँथ्यौँ। तर बालबालिकाको हकमा ससाना भाइ बहिनीले जे गर्छन् हामीले त्यसैलाई पच्छ्यायौँ," उनले बताए।

त्यस्तै वयस्कको हकमा दुई जनाबीच हुने 'ब्याटल राउन्ड' बालबालिकामाझ तीन जनाबीच गराइयो। कारण- एक्लै बाहिरिने बालबालिकामा आघात नपरोस् भनेर।

बाहिरिएकामध्ये मन परेको एकजनालाई प्रशिक्षकले आफ्नो समूहमा सामेत राख्न पाउने प्रावधान छ। वयस्कको हकमा मञ्चमै हुने 'स्टिल' बालबालिकाको हकमा भने गोप्य कोठामा गरियो। प्रत्यक्ष प्रसारण हुने अङ्कमा पनि एक समूहबाट दुई जना बाहिरिन्थे।

"बाहिरिनु सामान्य हो भन्ने बुझाउन कार्यक्रमलाई त्यसरी डिजाइन गरियो। बालबालिकालाई कुनै पनि किसिमको आघात नपरोस् भन्ने उद्देश्यका कारण उहाँहरूको स्वभावमा हामी ढलिदियौँ। जसको लागि कार्यक्रम बनेको हो उहाँहरू जस्तो भइदिँदा कार्यक्रम निर्माण सहज भयो," पौडेलले भने।