कोभिड नेपाल: विद्यालय जान नपाउँदा बालबालिकामा कस्तो शैक्षिक र मनोसामाजिक असर परिरहेको छ?

घरमै पढ्दै एक बालिका
तस्बिरको क्याप्शन, घरमै पढ्दै एक बालिका
    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

रोधा लामाकी चार वर्षीया छोरीलाई 'क'देखि 'च'सम्म लेख्न आउँछ। तर उनलाई नेपाली राम्रोसँग बोल्न भने नआउने आमाको गुनासो छ।

अङ्ग्रेजीमा संवाद गर्ने उनी कसैले नेपालीमा प्रश्न सोधे साङ्केतिक जवाफ दिन्छिन्। यसै वर्ष प्लेग्रुपबाट नर्सरीमा उक्लिएकी छोरीले नेपाली अक्षर नचिन्ने चिन्ताले लामालाई गाँजेको छ।

"घरमा एक्लै अङ्ग्रेजी कार्टुन हेरेर बस्न रमाउँछे। विद्यालय पठाउन पाएको भए साथीहरू भेट हुन्थ्यो र नेपाली भाषामा कुरा गर्थे। बोल्न थालेपछि त बुझ्न र लेख्न पनि केही सहज हुन्थ्यो कि," लामा भन्छिन्।

कोरोनाभाइरस महामारी सुरु भएयता शैक्षिक क्षेत्र ठप्प भएका कारण अधिकांश विद्यालयले भर्चुअल माध्यममार्फत् अध्यापन अघि बढाएका छन्। तर अनलाइन पढेर विद्यार्थीहरू कक्षा चढे पनि अभिभावकहरूले भौतिक उपस्थिति र अन्तर्क्रियाबिना बालबालिकाको पढाइ प्रभावकारी नभएको गुनासो गरेका छन्।

विद्यालय भर्ना गरेदेखि नै अनलाइन कक्षा हुँदा शिक्षक र अन्य बालबालिकासँग प्रत्यक्ष अन्तर्क्रिया नभएका कारण आफ्नी छोरीलाई भाषा र घुलमिल हुनुमा समस्या भएको लामा बताउँछिन्।

त्यस्तै जोरपाटीनिवासी विनोद बुढाथोकी भने आफ्नी चार वर्ष लागेकी छोरीलाई विद्यालय भर्ना गराउन नपाएर चिन्तित छन्।

बुढाथोकी भन्छन्,"नयाँ शैक्षिक सत्रदेखि अवस्था सामान्य होला भन्ने थियो। त्यसैले पर्खियौँ। तर विद्यालय खुलेन। घण्टौँ अनलाइन कक्षामा बस्न त न समय मिल्छ न छोरी नै मान्छे।"

आमाबुवा दुवै कामकाजी भएकाले बुढाथोकीकी छोरीको हेरचाह उनकी हजुरआमाले गर्छिन्। हजुरआमालाई प्रविधि सहज छैन।

घरमै कखरा

भक्तपुरकी उषा पाण्डेले पनि छोरीलाई विद्यालय भर्ना गराउन पाएकी छैनन्। तर उनले प्रविधिको भने भरपूर प्रयोग गरिन्। इन्टरनेटमा 'प्लेग्रुप'मा पढाउने तरिकाबारे अध्ययन गरिन् र आफैँ पढाउन थालिन्।

"सुरुसुरुमा उसलाई एकै ठाउँ बसाउन र पढ्ने अक्षरहरूमा ध्यान केन्द्रित गराउन धेरै नै गाह्रो भयो। समाधानका लागि हरेक दिन नयाँ उपायहरू अपनाएँ," पाण्डे सम्झिन्छिन्।

"ऊसँगै बसेर आफूले पनि लेख्न थालेपछि 'म एक्लो होइन भन्ने महसुस भएछ' मजाले पढ्न थाली।"

छोरी घरमै पढेर आधारभूत अक्षर र अङ्कहरू चिन्ने भइन्।

विद्यालय लागेपछि सामूहिक सिकाइ, अन्तर्क्रियात्मक कार्यक्रम, खेलकुद र अन्य गतिविधिहरूमा छोरीलाई संलग्न गराउने उनले आशा गरेकी छन्।

घरमै पढ्न सिकेकी बालिकाको कापी

घरमै कसरी सिकाउने?

बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासका लागि घरमै पहल गर्न सकिने विज्ञहरू बताउँछन्।

नेपाल मन्टेसोरी एसोसियसनकी अध्यक्ष पवित्रा लिम्बु बौद्धिक एवं शैक्षिक विकासका लागि भने संस्थागत सिकाइको आवश्यकता रहने बताउँछिन्।

लिम्बु भन्छिन्, "बालबालिकालाई घरमै पढाउन पनि सकिन्छ। तर 'तरिका कस्तो अपनाउने? घरमा प्रयोग गरिएको शैलीले बालबालिकाको सिकाइमा प्रभाव परेको छ कि छैन?' भन्ने विषयमा ध्यान दिनु पर्छ।"

"विद्यालयमा तालिमप्राप्त र अनुभवी शिक्षकहरू हुन्छन्। सामूहिक घुलमिलले पनि बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पारिरहेको हुन्छ।"

"तर महामारीका कारण उनीहरू घरमा बस्न बाध्य छन्," उनले भनिन्।

"रोग र आर्थिक सङ्कटले अभिभावकलाई मानसिक रूपमा गालेको छ। उनीहरू बालबच्चालाई समय दिन वा पढाउन भ्याउँदैनन्। त्यसको प्रभाव बालबालिकाको सिकाइमा परेको छ।"

उनी परिस्थितिलाई ध्यानमा राखेर अनलाइन नै भए पनि कक्षामा सहभागिता आवश्यक भएको बताउँछिन्।

यसले बालबालिकाको निर्देशन सुन्ने र मान्ने बानी विकास हुने लिम्बुले बताइन्। अनलाइन सम्भव नभएको खण्डमा घरमै पढाउन आवश्यक भएको उनले बताइन्।

"विद्यालय सञ्चालन भएपछि बच्चा पढ्न जान्छ। त्यसबेला उसले आफूलाई केही आउँदैन भन्ने महसुस गर्नु भएन।"

विद्यालय ढिला जाँदा समस्या हुन्छ?

परिस्थितिका कारण बालबालिकालाई विद्यालय पठाउन ढिला हुनु समस्या नभए पनि उनीहरूको मनोसामाजिक विकासमा प्रभाव पर्ने मनोविद् गङ्गा पाठक बताउँछिन्।

विद्यालयको आधारभूत शिक्षामा बालबालिकालाई घर बाहिरको वातावरणमा घुलमिल हुन, सामूहिक कामहरू गर्न, खेलकुदमार्फत एकता कायम राख्न, एक अर्काबीच सम्झौता कायम गर्न वा एकअर्काको फरकपनलाई सम्मान गर्न सिकाइन्छ।

"बालबालिकाले हेरेर र सुनेर धेरै कुरा सिक्छन्। विद्यालयमा हेर्न र सुन्नकै लागि गतिविधिहरू निर्धारित गरिएको हुन्छ। त्यसैले विद्यालय जान नपाउँदा केही न केही त छुट्छ नै," पाठकले भनिन्।

विद्यालय जान नपाएका बालबालिकाहरू अन्य कस्ता विषयमा प्रभावित हुन्छन् त?

  • बालबालिकाको आत्मविश्वास विकास नहुनु,
  • देखिरहेको बाहेक अपरिचित मानिससँग बोल्न डराउनु,
  • घरमा पढेको कुरा बिर्सनु,
  • एक्लोपनको बानी पर्नु,
  • शैक्षिक हिसाबमा पछाडि पर्नु।

शिक्षाको माध्यम अभिभावक

बालबालिकाले विद्यालय र शिक्षकभन्दा पहिले अभिभावक र पारिवारिक वातावरणबाट सिक्ने तर्क राख्छन् शिक्षाविद् विद्यानाथ कोइराला।

हालसम्म विद्यालयलाई नै शिक्षा आर्जनको एकमात्र माध्यम हो भन्ने बुझाइ स्थापित भएकाले छोराछोरी भर्ना गर्न नपाउँदा अभिभावक आत्तिएको उनको ठम्याइ छ।

"बालबालिकाले सिक्ने हजुरआमा, हजुरबुवा वा आमाबुबााबाट हो। उनीहरूको जिज्ञासा वा प्रश्नलाई झर्को नमानी सम्बोधन गरिदिनु पर्‍यो", कोइरालाले भने।

"अनुभव र बुझाइको आधारमा जबाफ दिने हो। पहुँच छ भने प्रविधिको सहयोग लिने हो।"

बालबालिकाले गर्ने सामान्य प्रश्नहरूलाई नजरअन्दाज नगरी कथा बनाएर जबाफ दिनु वा सम्भव भएको अवस्थामा भिडिओ वा अडिओ जस्ता पटकपटक सुन्न वा हेर्न सक्ने सामग्री बनाइदिनुले सिकाइ सशक्त हुने कोइरालाको भनाइ छ।

कोइरालाले भने, "आजको आवश्यकता पुस्तकमा आधारित पढाइ मात्र होइन। व्यावहारिक ज्ञानको दायरा घरबाट नै फराकिलो बनाउन सकिन्छ। त्यसका लागि थोरै मिहेनत अभिभावकले पनि गर्नु पर्‍यो।"

"विद्यालय भर्ना नगर्नुले पढाउने कुरामा असर गरेको होला तर सिकाउने कुरामा असर गरेको छैन। अब अभिभावक सिकाइको माध्यम बनिदिनु पर्‍यो।"