अफगानिस्तानः तालिबानले विद्यालय जान रोक लगाएपछि किशोरीहरूलाई अनलाइन पढ्न सहयोग गर्ने शिक्षिका

- Author, फिरोजा अकबरियन
- Role, बीबीसी पर्सियन
अफगानिस्तानका नयाँ शासकहरूले बालिका र किशोरीहरूलाई 'उनीहरूकै सुरक्षाका लागि' भन्दै विगत तीन महिनायता विद्यालय नगई घरमै बस्न भनेका छन्।
उनीहरूले त्यस्तो प्रतिबन्ध अस्थायी भन्दै आएका छन् तर समाधान देखा परेको छैन। यस्तैमा विदेशमा बस्ने एक अफगान शिक्षिकाले प्रवासबाटै केही गर्ने निर्णय गरिन्।
अनलाइन विद्यालय सञ्चालन गर्न थालेको केही साताभित्रै एन्जेला गायुरले झन्डै १,००० विद्यार्थीलाई समेटिन्। त्यसमा ४०० भन्दा बढी स्वयंसेवी शिक्षकहरू आबद्ध छन्।
बालबालिकाकाको सुरक्षाका लागि उनीहरूको नाम परिवर्तन गरिएको छ
अफगानिस्तानमा तालिबानले सात वर्षमाथिका बालिकाहरू विद्यालय जान नपाउने भनेर घोषणा गरेयता नसरिन र उनका अरू चार दिदीबहिनी घरमै बसेर पढ्न सक्दो गरिरहेका छन्।
तर यसरी पढ्नका लागि खासगरी विश्वविद्यालयमा चिकित्साशास्त्र र इन्जिनियरिङ पढिरहेका आफ्ना दुई दिदीलाई कठिन भइरहेको नसरिनले बताइन्।
"हाम्रा सबै सपनाहरू खेर भए। अब विद्यालय खुल्यो नै भने पनि परिस्थिति पहिला जस्तै हुनेछैन," १३ वर्षीया नसरिनले भनिन्।
"म पाइलट बन्न चाहन्थेँ। तर त्यो अब कहिल्यै पूरा हुनेछैन। तालिबानले महिलालाई कहिल्यै पनि पाइलट बन्न दिनेछैन।"
तर हालैका सातामा नसरिन र उनका दिदीबहिनीलाई एउटा आशाको किरणका रूपमा अनलाइन विद्यालय देखा परेको छ।
आफैँ वञ्चित
प्रवासमा बस्ने अफगानिस्तानकी अनुभवी शिक्षिकाले 'अनलाइन हेरात स्कूल' खोलेकी छन्। उक्त विद्यालयले शिक्षाबाट वञ्चित भएका झन्डै १,००० महिला तथा बालिकालाई सहयोग गरिरहेको छ।
पश्चिम अफगानिस्तानको हेरात प्रान्तमा जन्मिएकी एन्जेला देशमा गृहयुद्ध सुरु हुँदा जम्मा आठ वर्षकी थिइन्। उनको परिवार त्यतिबेला भागेर इरान पुगेको थियो।
सन् १९९६ मा तालिबानले सत्ता हातमा नलिँदासम्मको चार वर्ष अफगानिस्तानमा लडाइँ जारी रह्यो।
शरणार्थी बालिकाका रूपमा शिक्षाबाट वञ्चित हुनुको अर्थ के हो भन्ने एन्जेला राम्रोसँग बुझ्छिन्।
"हामीसँग अस्थायी भिसा मात्रै थियो। त्यसैले हामी विद्यालय जान सक्दैनथ्यौँ," एन्जेलाले भनिन्।
"त्यतिबेला इरान गएका अफगान बालबालिकाहरू विद्यालय जान नपाउनु भनेको सामान्यजस्तै थियो किनभने उनीहरूसँग आवश्यक कागजपत्र हुँदैनथ्यो।"
इरानमा पाँच वर्ष बसेपछि एन्जेलाका बुवाले विद्यालय पठाउन आवश्यक कागजपत्र जुटाउन सके। त्यतिबेला १३ वर्षकी एन्जेलालाई आफू शिक्षिका बन्नुपर्छ भन्ने लागेको थियो।
प्रत्येक दिन विद्यालयपछि एन्जेला घर फर्किन्थिन् र आफूले विद्यालयमा पढेका कुराहरू विद्यालय जान नपाएका अरू १४ जनालाई सिकाउँथिन्।
वर्षौँपछि अफगानिस्तान फर्किँदा एन्जेला माध्यमिक तहको विद्यालयका लागि पढाउन योग्य शिक्षिका बनिन्। त्यसपछि उनी नेदरल्यान्ड्स र पछि यूकेमै बसोबास गर्न थालिन्।

विगत केही महिनामा एन्जेलाजस्तै अफगान प्रवासीहरूले देशमा विकसित घटनाहरू हेर्दा केही गर्न नसकेको अनुभव गरेको बताएका छन्।
तर तालिबान आएसँगै बालिकाहरूलाई शिक्षाबाट गरिएको रोकबाट आफूलाई सबैभन्दा दुःख लागेको एन्जिलाले बताइन्।
आफू शिक्षिका भएको तथा बालिका र महिला अधिकारबारे पैरवी गर्दै आएको हुनाले केही गर्नुपर्छ भन्ने लागेको उनले बताइन्।
शिक्षाको सपना
एन्जेलाले शिक्षाबाट वञ्चित बनेका अफगानिस्तानका बालिका र महिलालाई अनलाइन शिक्षा सामग्री उपलब्ध गराउने 'अनलाइन हेरात स्कूल' स्थापना गरिन्।
"मलाई लाग्छ मभित्रको पीडा, आक्रोश र अनुभवको परिणामस्वरूप यो अनलाइन विद्यालय बनेको हो," एन्जेलाले भनिन्। "हाम्रो मन्त्र 'बन्दुकको सट्टा कलम' रहेको छ।"
इन्स्टाग्राममा अनुभवी शिक्षकको आवश्यकता भन्दै उनले मद्दत मागेयता अहिलेसम्म ४०० भन्दा बढी स्वयंसेवकहरू सहयोग गर्न अघि सरेका छन्। टेलिग्राम अथवा स्काइपबाट उनीहरू १७० भन्दा बढी विभिन्न अनलाइन कक्षाहरू सञ्चालन गर्छन्।
"धेरैजसो शिक्षकहरू इरानबाट छन्। उनीहरू दैनिक दुईदेखि आठ घण्टा काम गर्छन् र पाकशास्त्रदेखि चित्रकारितासम्मका विभिन्न विषय पढाउँछन्।"
सबै गरेर उनीहरूले झन्डै १००० विद्यार्थीलाई पढाउँछन्। तिनैमध्ये नसरिन पनि हुन्।
नसरिनका अनुसार 'अनलाइन हेरात स्कूल' मा पढ्न थालेपछि उनलाई केवल त्यसले आशामात्रै जगाएको छैन उनी फेरि सपना पनि देख्न थालेकी छन्।
अहिले एक स्वयंसेवी शिक्षकबाट टर्कीको भाषा पढिरहेकी उनी आफू इस्तान्बुलमा बस्न चाहेको बताउँछिन्।

हालैका साताहरूमा देशको उत्तरी भेगमा बालिका विद्यार्थीका लागि केही सकारात्मक समाचारहरू छन्। अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये पाँचवटामा बालिकाहरू पुन: माध्यामिक विद्यालयमा जान थालेका छन्।
राज्यले सञ्चालन गरेकाबाहेकका निजी विश्वविद्यालयहरूमा पनि युवतीहरू जान थालेका छन्।
यद्यपि काबुलमा आफ्ना दिदीबहिनीसँग बस्ने नसरिनलगायत देशभरिका महिला विद्यार्थीको ठूलो समूहमाथि अझै पनि विद्यालय जान प्रतिबन्ध छ।
नसरिनकी आमाजस्ता शिक्षिकाहरूलाई पनि घरमै बस्न भनिएको छ। उनीहरू कहिलेबाट काममा फर्किन पाउँछन् भन्नेबारे तालिबानले कुनै योजना अघि सारेको छैन।
काबुलमा मात्रै योग्य शिक्षकमध्ये ७० प्रतिशत महिला रहेको संयुक्त राष्ट्रसङ्घले आकलन गरेको छ।
यसले के देखाउँछ भने पुरुष शिक्षकमात्रै विद्यालय फर्किएका भए पनि अहिले विद्यालयहरूमा कर्मचारीको ठूलो अभाव छ।
तालिबानको उदय हुनु धेरै पहिला नै अफगानिस्तान शिक्षाको पहुँचका लागि सङ्घर्षरत थियो। सन् २०१९ मा शिक्षा मन्त्रालयले निकालेको तथ्याङ्कअनुसार १५ वर्षमाथिका एकतिहाइभन्दा बढी मानिसहरू अशिक्षित थिए।
करिब आधा विद्यार्थी सङ्ख्या र त्यसमा पनि धेरैजसो बालिका वा महिलाहरू घरमै बस्न बाध्य हुँदा उक्त सङ्ख्या अझै धेरै बढ्ने ठानिएको छ।
तस्बिरः डेरिक इभान्स

यो पनि हेर्नुहोस्









