अफगानिस्तान: तालिबानद्वारा छात्राका लागि नयाँ नियमको घोषणा, महिला र पुरुषले सँगै बसेर पढ्न नपाउने

तस्बिर स्रोत, EPA
अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजन गरिने तथा पोसाकसम्बन्धी नयाँ नियम लागु गरिने तालिबानले जनाएको छ।
उच्च शिक्षासम्बन्धी मामिला हेर्ने मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने जनाएका छन्।
उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन्।
सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो।
तालिबानले महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ।
तर गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म जनस्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न भनेको छ।
आफ्नो शासनको सुरुवातको सङ्केत गर्नका लागि तालिबानले राष्ट्रपति भवनमा आफ्नो झण्डा फहराएको भोलिपल्ट तालिबानको उच्च शिक्षासम्बन्धी नीति घोषणा गरिएको हो।
तालिबानले एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएको थियो।
सङ्केत
पछिल्लो नीतिले अफगानिस्तानमा तालिबान शासनसँगै व्याप्त परिवर्तनको सङ्केत गरेको छ।
यसअघि छात्राहरूले पोसाकसम्बन्धी नियम पालना गर्नुपर्ने थिएन र महिला-पुरुष एकै कक्षामा पढ्न पाउँथे।
अहिलेको परिवर्तनसम्बन्धी विषयमा हक्कानीले भने, "मिश्रित शिक्षा प्रणाली अन्त्य गर्न हामीलाई कुनै समस्या छैन। जनता मुस्लिम हुन् र उनीहरूले यसलाई स्वीकार गर्नेछन्।"
विश्वविद्यालयहरूसँग महिला र पुरुषका लागि छुट्टै कक्षा उपलब्ध गराउने स्रोत नरहेकाले केहीले पछिल्लो नियमले महिलाहरूलाई शिक्षाबाट वञ्चित गर्ने सङ्केत गरेका छन्।
तर हक्कानीले भने पर्याप्त महिला शिक्षकहरू रहेको र उपलब्ध नरहेका स्थानमा वैकल्पिक उपाय पहिचान गरिने बताए।
''यो सबै विश्वविद्यालयहरूको क्षमतामा निर्भर रहन्छ,'' उनले भने।
"पुरुष शिक्षकहरूलाई पर्दा पछाडिबाट पढाउनेगरी प्रयोग गर्न सकिन्छ वा प्रविधिको प्रयोग गर्न सकिन्छ।"
छात्रछात्रालाई प्राथमिक र माध्यमिक तहका विद्यालयमा पनि अलग्गै पढाइनेछ।
यस्तो अवस्था विगतमा अफगानिस्तानमा सामान्य थियो।
१ करोड विद्यार्थीसन् २०१८ मा विद्यालय भर्ना भएका थिए। सन् २००१ मा उक्त सङ्ख्या केवल १० लाख थियो

तालिबानको तीव्र आरोह
- एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
- मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
- जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
- २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
- ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
- १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
- १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
- १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा
- ७सेप्टेम्बर: तालिबानद्वारा नयाँ सरकार घोषणा


तस्बिर स्रोत, Reuters
अफगान युद्धको पृष्ठभूमि के हो?
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गर्यो।
तर तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार गर्यो।
त्यसपछि अमेरिकासँग अन्तर्राष्ट्रिय गठबन्धन जोडिन पुग्यो र तालिबान तत्कालै सत्ताबाट हट्यो।


तस्बिर स्रोत, AFP
यद्यपि उक्त समूह विद्रोही फौजमा परिणत भयो र घातक हमलाहरू निरन्तर जारी राख्दै अफगान सरकारलाई अस्थिर बनायो।
अन्तर्राष्ट्रिय गठबन्धनले सन् २०१४ मा आफ्नो सैन्य अभियानअन्त्य गर्यो र अफगान फौजलाई तालिम दिनमा मात्रै आफूलाई सीमित राख्यो।
त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्न खोजेको थियो। आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू फेरि कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरे।
तर अमेरिका भने एक्लैले हवाई हमलालगायत युद्ध कारबाही चलाएर निरन्तर सक्रिय रह्यो। तालिबानले पनि आफ्नो गतिविधि कायमै राख्यो।

के हो तालिबान?
अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।
अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।
साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।
पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।
तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।
तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।
टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।
काबुलमा तालिबान शासन
दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्यो।
सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।
राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।
सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।
सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।
तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।
तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।
तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।
दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।
बिन लादेनसँगको सम्बन्ध
सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो।
न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल-कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो।
सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो।
तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्यो।











