अफगानिस्तान: पूर्वराष्ट्रपति अशरफ गनीद्वारा देश छाड्नुको 'कारण' सार्वजनिक, अफगान जनतासँग क्षमायाचना

अशरफ गनी

तस्बिर स्रोत, Reuters

अफगानिस्तान छोडेर यूनाइटेड अरब एमिरेट्समा शरण लिइरहेका पूर्वराष्ट्रपति अशरफ गनीले अफगान जनतासँग क्षमायाचना गरेका छन्।

जे भयो त्यसप्रति दुःख प्रकट गर्दै उनले भने, "काबुल छोड्नु मेरो जीवनको सबैभन्दा कठिन निर्णय थियो।"

तालिबान लडाकुहरू राजधानी काबुलतर्फ अघि बढिरहेको बेला अगस्ट १५ मा उनले अकस्मात् देश छोडेका थिए।

सामाजिक सञ्जाल ट्विटरमा एउटा विज्ञप्ति प्रकाशन गर्दै उनले जनतालाई छोडेर जान आफूले नचाहेको तर त्यसो गर्नुबाहेक अरू विकल्प नरहेको बताए।

उनले आफूले २० वर्ष अफगानिस्तानलाई "प्रजातान्त्रिक, समृद्ध अनि सार्वभौम देश" बनाउन समर्पण गरेको जनाएका छन्।

दुई पटक राष्ट्रपति बनिसकेका गनीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो उद्देश्य नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

विज्ञप्तिमा गनीले माफी पनि मागेका छन् तर अफगान राज्यकोषबाट लाखौँ अमेरिकी डलर लिएर भागेको आरोपको भने उनले प्रतिवाद गरेका छन्।

उनले तालिबान वा तालिबान सरकारबारे भने टिप्पणी गरेका छैनन्।

बीबीसीका एकजना दक्षिण एशिया संवाददाताका अनुसार उनको प्रतिक्रिया ढिलो आएको भन्दै अफगान नागरिकहरूले गनीलाई माफ गर्न नसक्ने बताएका छन्।

Map
Presentational white space

को हुन् अशरफ गनी?

अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए।

उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन्। उनी देशका चर्चित शिक्षाविद् हुन्।

उनले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताएका थिए।

अशरफ गनी

तस्बिर स्रोत, EPA

अफगानिस्तानमा तालिबान सत्ता गएपछि र केही वर्षको युद्धपश्चात् गनी स्वदेश फर्केका थिए।

राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमान्दार व्यक्तिका रूपमा चित्रित गरिएको थियो।

उनी अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन्।

उनलाई तालिबानले सधैँ अमेरिकाको "कठपुतली" का रूपमा चित्रित गर्ने गरेको थियो।

Presentational white space
भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तानमा चर्कंदो हिंसा
Presentational grey line

२० वर्षे अफगान द्वन्द्वका प्रमुख घटनाक्रम

  • सन् २००१ अक्टोबर ७: अमेरिकी नेतृत्वको गठबन्धनद्वारा तालिबान र अल-कायदाका अफगानिस्तानस्थित अखडाहरूमा बम आक्रमण। काबुल, कान्दहार र जललाबाद निसानामा एक दशक लामो सोभियत शासन र त्यसपछिको गृहयुद्धपश्चात् सत्तामा पुगेका तालिबानहरूले अल-कायदाका नेता ओसामा बिन लादेन अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि हमला
  • सन् २००१ नोभेम्बर १३: गठबन्धनको साथ पाएका तालिबानविरोधी विद्रोहीहरूको समूह द नोर्दन अलायन्सद्वारा काबुल कब्जा
  • सन् २००९ फेब्रुअरी ७: अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा अफगानिस्तानमा खटाइएका फौजको सङ्ख्यामा उल्लेख्य वृद्धि। एक समय फौजको सङ्ख्या १ लाख ४० हजार पुगेको थियो
  • सन् २०१४ डिसेम्बर: नेटोद्वारा अफगानिस्तानको आफ्नो फौजी कारबाही अन्त्य भएको घोषणा। त्यसपछि अमेरिकाद्वारा पनि हजारौँ सैनिक स्वदेश फिर्ता। त्यहाँ बसेका अधिकांश सैनिकहरू अफगान सुरक्षाकर्मीको तालिम र सहयोगमा केन्द्रित
  • सन् २०२० फ्रेबुअरी २९: अमेरिका र तलिबानबीच अफगानिस्तानमा 'शान्ति ल्याउने सम्झौता' मा दोहामा हस्ताक्षर। लडाकुहरूले उक्त सम्झौता पालना गरे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र सबै सैनिक फिर्ता गरिसक्ने वचनबद्धता
  • सन् २०२१ एप्रिल १३: अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता भइसक्ने घोषणा
  • सन् २०२१ अगस्ट १६: एक महिनाभन्दा केही बढी अवधिमा तलिबानद्वारा काबुलसहित अफगानिस्तानका प्रमुख सहर र नगरहरू कब्जा। तालिबानका सामु अफगान सुरक्षा निकाय विफल
  • सन् २०२१ अगस्ट १५: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश
  • सन् २०२१ अगस्ट ३१: अमेरिकाद्वारा अफगानिस्तानबाट फौज फिर्ती पूरा भएको अमेरिकी घोषणा
  • सन् २०२१ सेप्टेम्बर ७: तालिबानद्वारा नयाँ सरकार घोषणा
Presentational grey line

तालिबानको सत्तामा उदय

पाश्तो भाषामा तालिबानको अर्थ "विद्यार्थीहरू" भन्ने हुन्छ।

अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको हो।

मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए।

तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति-सुरक्षा पुनर्स्थापित गर्ने र शरिया कानुन लागु गर्ने वाचा गर्‍यो।

तालिबानले दक्षिण-पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे।

त्यसको ठिक एक वर्षपछि उनीहरूले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे।

उनी सोभियत सङ्घको अतिक्रमणको विरोधमा अफगान मुजाहिदीन अर्थात्‌ "विधर्मीहरूसँग लड्ने योद्धाहरू" तयार पार्ने संस्थापकमध्ये एक थिए।

सन् १९९८ सम्ममा तालिबानहरूले लगभग ९० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरे।

सोभियत सेना धपाइएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलो पटक अगाडि सरेका तालिबानहरूलाई सुरुसुरुमा स्वागत गरे।

तालिबान

तस्बिर स्रोत, Reuters

भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले उनीहरूलाई लोकप्रियता बनायो।

तर तालिबानले आफूहरूले गर्ने शरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिने - उदाहरणका लागि, हत्यारा तथा व्यभिचारीहरूलाई मृत्युदण्ड दिने र चोरका हात काटिदिने - नियम लागु गरे अथवा त्यसलाई समर्थन गरे।

उनीहरूको शासनकालमा पुरुषले दाह्री पाल्नुपर्थ्यो भने महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्थ्यो।

तालिबानहरूले टेलिभिजन, सङ्गीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान नदिनुपर्ने बताए।

सन् २०१३ मा अमेरिकी ड्रोन हमलामा पाकिस्तानी तालिबानका नेता हकिमुल्लाह महसुदसहित कम्तीमा तीन जना मारिए।

न्यूयोर्कस्थि विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलापछि विश्वको ध्यान अफगानिस्तान तालिबानतर्फ तानिएको थियो।

त्यो हमलाका प्रमुख सन्दिग्ध ठानिएका ओसाम बिन लादेन र उनको सङ्गठन अल-कायदालाई संरक्षण गरेको तालिबानमाथि आरोप लाग्यो।

सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गर्‍यो।

अनि डिसेम्बर महिनाको पहिलो सातासम्ममा तालिबानहरू परास्त भए।

तालिबान